नेपाली मिडियाको संख्यात्मक वृद्धि भए पनि गुणस्तर खस्कँदो छ

dorna bahadur karki copy
वोर्णबहादुर कार्की
– प्रेस काउन्सिलका पूर्वअध्यक्ष

नेपाली सञ्चार माध्यमको अनुगमन तथा मूल्यांकनकर्ताकारूपमा स्थापित छ प्रेस काउन्सिल नेपाल । यही काउन्सिलको चार वर्ष सफलताका साथ नेतृत्व गरेका थिए अधिवक्ता बोर्णबहादुर कार्कीले । सुरुका दिनमा उनीप्रति प्रेस जगत केही सशंकित पनि थियो । सशंकित हुनुको कारण थियो काउन्सिलको नेतृत्वमा पत्रकारितामा प्रत्यक्ष नलागेका कानुनी पृष्ठभूमिका व्यक्तिको नियुक्ति । तर, काम गर्ने दौरानमा कार्कीले त्यो शंका बिस्तारै मेटाउँदै गए । उनको पालामा काउन्सिलले आचारसंहिता परिमार्जनदेखि पत्रपत्रिका मूल्यांकन, अनलाइनलाई व्यवस्थित गर्नेसम्मका केही राम्रा कामको सुरुआत गरेको छ । उनै कार्कीसँग काउन्सिलमा रहँदा भोगेका समस्या, हासिल गरेका अनुभव, अबका दिनमा काउन्सिलले गर्नुपर्ने कामका विषयमा सौर्य दैनिकले गरेको संवाद ः – 

प्रेस काउन्सिल नेपालमा तपाईंको कार्यकाल सकिएको हो ? अहिले के मा व्यस्त हुनुहुन्छ ?
नेपाल सरकारले चार वर्षका लागि मलाई प्रेस काउन्सिलको अध्यक्ष पदमा नियुक्ति गरेको थियो । उक्त चार वर्षे कार्यकाल गत ०७३ फागुन १७ मा सकिएको हो । मेरो मुख्य पेसा कानुन व्यवसाय हो । प्रेस काउन्सिलको अध्यक्ष हुनुभन्दा अगाडि म सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ताको हैसियतमा वकालत पेसा गर्दै थिएँ । म आपैmँले ०४५ सालमा स्थापना गरेको इस्ट–वेस्ट ल फर्म स्थापना गरेको थिएँ । म प्रेस काउन्सिलमा गए पनि उक्त ल फर्म सञ्चालन भइरहेको थियो । अहिले पुनः उक्त ल फर्मबाट वकालत गर्न सुरुआत गरेको छु ।

तपाईं कानुन क्षेत्रको मान्छे पत्रकारिता क्षेत्रको प्रेस काउन्सिल जान किन तयार हुनुभयो ?
म काउन्सिलमा इच्छा राखेर गएको होइन । नेपाल सरकारले त्यो पदमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश अवधेशकुमार यादवलाई नियुक्ति गरेको थियो । अन्तरिम संविधानमा सर्वोच्च अदालतका न्यायाधीशले मानवअधिकार आयोगवाहेक अन्यत्र काम गर्न नपाउने व्यवस्था भएको भनी नियुक्ति बदरको लागि सर्वोच्च अदालतमा मुद्दा प¥यो । नियुक्ति बदर हुने स्थिति भएपछि उहाँले नियुक्तिपत्र नै लिनु भएन । त्यो विशेष परिस्थितिमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले त्यो पदमा रही काम गर्न मलाई भन्नुभयो । मैले अस्वीकार गरेँ, उहाँले अर्को व्यवस्था नभए सम्मका लागि जान अनुरोध गर्दा उहाँको अनुरोधलाई टार्न सकिनँ । अनिच्छापूर्वक प्रेस काउन्सिलको अध्यक्ष भई कार्य गर्न वाध्य भएँ ।
तपार्इं कानुन क्षेत्रको व्यक्तिलाई पत्रकारिता क्षेत्रको प्रेस काउन्सिलमा काम गर्न अप्ठ्यारो भएन ?
पत्रकारिता क्षेत्र मेरो लागि पूर्णतः अनभिज्ञ क्षेत्र थिएन । मैले यो क्षेत्रमा रिपोर्टरदेखि पत्रिकाको सम्पादकसम्मको हैसियतमा काम गरेको अनुभव थियो । नेपाली पत्रकारिता क्षेत्रका प्रायःजसो व्यक्तित्वहरूलाई म चिन्दथेँ । त्यसैले मलाई काउन्सिलमा काम गर्न त्यति अप्ठ्यारो भएन । त्यसमा पनि प्रेस काउन्सिलको अध्यक्ष कानुनी क्षेत्रको व्यक्ति हुने अन्तर्राष्ट्रिय अभ्यास छ । प्रेस काउन्सिल नेपालका अधिकांश पूर्वअध्यक्षहरू सर्वोच्च अदालतका वहालवाला र पूर्वन्यायाधीशहरू भएको इतिहास छ । पत्रकारिता क्षेत्रबाट काउन्सिलमा अध्यक्ष हुने अभ्यास ०४८ सालपछि मात्र भएको पाइन्छ । प्रेस काउन्सिल ऐनमा पनि सर्वोच्च अदालतका पूर्वन्यायाधीश वा वरिष्ठअधिवक्ता वा पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान दिएको व्यक्ति काउन्सिलको अध्यक्ष हुने व्यवस्था छ । कानुन क्षेत्रको व्यक्तिका लागि काउन्सिलको अध्यक्ष पद अनुकूलकै पद हो ।
काउन्सिलको अध्यक्ष कानुनी क्षेत्रभन्दा पत्रकारिता क्षेत्रको नै हुनु उपयुक्त हु“दैन र ?
प्रेस काउन्सिल पत्रकार र सञ्चार माध्यमका लागि आचार संहिता बनाउने र त्यसको पालना गराउने सर्वोच्च संस्था हो । आचार संहिताको उल्लंघन गरी व्यक्ति, समाज र राष्ट्रलाई पत्रकार र सञ्चार माध्यमले आघात पु¥याएको विवादमा काउन्सिलले विवादको न्यायिक निरूपण गर्नुपर्दछ । यस्ता विवादको निरूपण न्यायका मूल्य, मान्यता र सिद्धान्त अनुसार गर्नुपर्दछ । यसैले यो पदको लागि कानुनी ज्ञान भएको व्यक्ति अनिवार्य रूपमा हुनु आवश्यक पर्दछ । कानुनी ज्ञान नभएको पत्रकारिताको मात्र अनुभव भएको व्यक्तिले यो भूमिका निभाउन गाह्रो हुन्छ । पत्रकारले पत्रकारलाई नै कारवाही गर्नु त्यति सहज पनि हुँदैन । त्यसैले यो पदको लागि उपयुक्त व्यक्ति पत्रकारिता क्षेत्रको भन्दा कानुनी क्षेत्रको नै हुन्छ ।

तपार्इं काउन्सिलको अध्यक्ष हुन इच्छुक नहु“दानहु“दै गएको भन्नुहुन्छ, पूर्ण कार्यकालसम्म काम गर्नु भयो नी ?
नियुक्ति पाउँदा त्यो पदमा पूर्णकालसम्म रहने मनस्थितिमा म थिइनँ । जब म यो पदमा नियुक्ति पाएर काम गर्न थालँे काउन्सिल र पत्रकारिता क्षेत्रमा भएका अस्तव्यस्ततालाई व्यवस्थित गर्न विशेष योगदान दिने सोच ममा आयो । काम गर्दै जादा सुधार्न सकिने विश्वास पनि ममा जन्मियो । पत्रकारिता क्षेत्रलाई सही दिशा र गति दिई व्यवस्थित गर्नतर्पm आफ्नो ध्यान केन्द्रित गरेँ । यो क्षेत्रलाई विशेष योगदान दिनुपर्दछ भन्ने अठोटका साथ काम गर्दागर्दै चार वर्षे कार्यकाल समाप्त भएको पत्तो नै भएन ।
प्रेस काउन्सिलको अध्यक्षको हैसियतले तपार्इंले उल्लेखनीय कार्य केके गर्नुभयो ?
पत्रकार र सञ्चार माध्यमले आचार संहिता पालना गर्नुपर्दछ नगरेमा कारवाही हुन्छ भन्ने मान्यतालाई स्थापित, पत्रकार आचार संहिता २०७३ निर्माणगरी जारी, बालबालिका र अपांग भएका व्यक्तिहरू संबन्धित निर्देशिकाको निर्माण, सम्पूर्ण प्रकृतिका नेपाली मिडियाको २४सै घन्टा रेकर्डिङ र अनुगमन गर्ने डिभाइस र सफ्टवेयरको जडान र निरन्तर अनुगमन, असल पत्रकारितालाई प्रोत्साहन गर्न सुरेन्द्रबहादुर–पत्रकारिता पुरस्कार र सानिमा बैंक–प्रेस काउन्सिल पुरस्कारको स्थापना, भारत, बंगलादेश, श्रीलंकालगायतका प्रेस काउन्सिलसँग सम्बन्ध स्थापना र सार्क स्तरीय प्रेस काउन्सिलको क्षेत्रीय संगठन बनाउने पहल कदमी आदि हुन् ।

त्रकार आचार संहिता पालना गर्नुपर्दछ भन्ने सचेतता र प्रतिवद्धताको स्थिति नेपाली पत्रकारिता क्षेत्रमा कस्तो पाउनुभयो ?
म अध्यक्ष भएर प्रेस काउन्सिलमा जाँदा यो क्षेत्रमा पत्रकार आचार संहिता पालना गर्नु बाध्यात्मक छैन भन्ने धारणा प्रवल थियो । आचार संहिता पालनाको स्थिति सन्तोषजनक थिएन । अन्य व्यवसायीलेभैmँ पत्रकारिता व्यवसायले पनि आचार संहिताको पालना गर्नुपर्दछ भन्ने मान्यता स्थापित गर्न निकै मिहिनेत गर्नुप¥यो । आपूmलाई पत्रकारिता क्षेत्रका हस्ती भन्नेहरूसम्मले पत्रकार आचार संहिताको सामान्य जानकारी नभएको दयनीय अवस्था थियो । पत्रकार आचार संहिता पालनाको स्थितिलाई अभिवृद्धि गर्नका लागि काउन्सिलले सञ्चालन गरेको देशव्यापी जागरण अभियानले आचार संहिता पालनाको स्थितिमा धेरै सुधार भएको छ ।

सार्कस्तरीय प्रेस काउन्सिल गठनको प्रयास अहिले कुन चरणमा छ ?
सार्कअन्तर्गतका देशहरूको पत्रकारिताको स्थिति निकै मिल्दोजुल्दो छ । सार्क देशहरूका काउन्सिलहरूले आआप्mना अनुभवहरू एकअर्कामा आदानप्रदान गर्दा यस क्षेत्रको पत्रकारिताको स्थितिमा सुधार ल्याउन निकै सहयोगी हुन्छ । साथै यो क्षेत्रका पत्रकार–मिडियाबीचको सम्बन्धलाई प्रगाढ बनाउनमा पनि सार्कस्तरीय काउन्सिलले महत्वपूर्ण भूमिका निभाउन सक्छ । सार्कअन्तर्गतका देशहरूका जनताबीचको सम्बन्ध पनि प्रभावकारी हुन्छ । जनसम्बन्ध अभिवृद्धिका लागि पनि सार्कअन्तर्गतका प्रेस काउन्सिलको भूमिका निकै सहयोगी हुन्छ । यिनै कुरालाई दृष्टिगत गरी प्रेस काउन्सिल नेपालले सार्कस्तरीय प्रेस काउन्सिलको गठनका लागि विशेष पहलकदमी लिएको हो । यो क्षेत्रीय स्तरको संस्थाको विधानको मसौदा तयार भइसकेको छ । अब चाँडै यो संस्था स्थापित हुने चरणमा छ ।

काउन्सिलले पत्रकारहरूलाई दिइने पुरस्कारलाई बढी प्राथमिकता दिएको कारण के होला ?
असल पत्रकारितालाई प्रोत्साहित गर्नका लागि नै पुरस्कारलाई बढी महत्व दिएको हो । यस्तो पुरस्कारबाट पत्रकारिता क्षेत्रमा असल काम गर्दा सम्मानित भइन्छ भन्ने सन्देश प्रवाह हुन्छ । साथै मिडिया र पत्रकारहरूलाई आपूm अनुकूल बनाउन र आफ्ना गल्तीहरूलाई ढाकछोक गर्ने गलत नियतले पनि पुरस्कारहरू दिने गरेको विडम्बनापूर्ण स्थिति छ । यो स्थितिको अन्त्य गर्न काउन्सिलद्वारा दिइने पुरस्कारले महत्वपूर्ण भूमिका निभाउँछ ।
नेपाली मिडियाको गुणस्तर खस्कि“दै गएको जुन गुनासो सुनिन्छ, यसमा तपाईंको धारणा के छ ?
नेपाली मिडियाहरूको संख्यात्मक अभिवृद्धि छोटो समयमा निकै भएको छ । गुणस्तर दिनप्रतिदिन खस्किँदै छ । यसको पहिलो कारण मिडियालाई गुणस्तरीय र प्रभावकारी बनाउनेतर्पm मिडिया सञ्चालकहरूले कम ध्यान दिनु हो । दोस्रो कारण पत्रकारहरूमा गुणस्तर सीप र ज्ञानको अभाव हुनु हो । मिडियाले निश्चित गुणस्तर कायम अनिवार्य रूपमा राख्नुपर्छ । र, मापदण्ड पूरा गरेकोे छ छैन भन्ने जाँच गर्ने व्यवस्था गर्न सकियो भने मिडियाको गिर्दो गुणस्तरमा सुधार गर्न सकिन्छ । त्यस्तै गरी मिडियाहरूले पत्रकारितासम्बन्धी सीप र ज्ञान भएका पत्रकारहरूद्वारा मिडिया सञ्चालन गर्नुपर्ने व्यवस्था गर्न जरुरी छ र यसको अनुगमन पनि गर्ने व्यवस्था गर्नुपर्दछ ।

मिडियाको गुणस्तर मापदण्ड तोक्ने, ज्ञान र सीप भएका पत्रकारहरूद्वारा मात्र मिडिया सञ्चालन गर्नुपर्ने व्यवस्था गर्दा प्रेस स्वतन्त्रता नियन्त्रित हुन जा“दैन ?
अन्य व्यवसायले उत्पादन गरेका वस्तु र सेवाका उपभोक्ता आमजनता हुन्छन् । त्यसैगरी मिडियाले सम्प्रेषण गरेका सामग्रीहरूको उपभोक्ता पनि आमजनता नै हुन्छन् । गुणस्तरीय समाचार–सामग्री पाउने अधिकार जनता (श्रोता, पाठक, दर्शक) को हो । यसका लागि मापदण्डको व्यवस्था गर्नुबाट प्रेस स्वतन्त्रता नियन्त्रित हुँदैन बरु यसको प्रयोगमा जिम्मेवारीको वोध हुन्छ ।
आफ्नो कार्यकालमा गर्न चाहेको तर पूरा गर्न नसकिएका केही त्यस्ता योजनाहरू छन् ?
प्रेस काउन्सिलमा कार्य गर्न थालेको केही महिनापछि नै नेपाली पत्रकारिता क्षेत्रलाई व्यवस्थित र गुणस्तरीय बनाउन पत्रकार प्रणाली लागू गर्नुपर्ने निष्कर्षमा पुगेको थिएँ । त्यसका लागि वातावरण बनाउन र व्यवस्था गर्न आफ्नो कार्यकालमा निकै मिहिनेत गरेँ । पत्रकार–परीक्षा विनियमावली तयार भई काउन्सिलको बोर्डमा पेस भएको छ । आफ्नो कार्यकालमा यसलाई लागू गराउने पक्षमा म थिएँ । तर, काम गर्दागर्दै भ्याइएन । त्यसैगरी मोफसलका र साना लगानीका सञ्चार माध्यमलाई आर्थिक रूपमा दिगो, टिकाउको साथै गुणस्तरीय बनाउने र मोफसलका मिडियामा कार्यरत पत्रकारहरूको सीप र ज्ञान अभिवृद्धि गर्ने योजनालाई मूर्तरूप दिन भ्याइएन । आवश्यकताभन्दा बढी संख्या रहेको मिडियाको कारणले पनि नेपाली पत्रकारिताको गुणस्तर घटेको छ । अनावश्यक मिडियाको संख्या घटाउनको लागि बैंकिङ क्षेत्रमा अभ्यास गरिएको मर्जर प्लानलाई मिडिया क्षेत्रमा लागू गर्ने योजनालाई पनि लागू गर्न सकिएन ।
भावी दिनहरूमा प्रेस काउन्सिलको कस्तो भूमिका हुन आवश्यक छ ?
पत्रकार र मिडियाको एक मात्र संरक्षक र नियमनकारी संस्था प्रेस काउन्सिल हो । नेपाली पत्रकारिता क्षेत्रले छोटो समयमा गरेको अभूतपूर्व विकासलाई दिगो, टिकाउ र प्रभावकारी बनाउनमा काउन्सिलको भूमिका निकै महत्वपूर्ण हुन्छ । पत्रकारिता क्षेत्रमा अहिलेको आवश्यकता भनेको यो क्षेत्रलाई बढीभन्दा बढी व्यक्ति, समाज र राष्ट्रप्रति जिम्मेवार र उत्तरदायी बनाउन हो । यो विषयमा प्रेस काउन्सिलको भूमिका प्रभावकारी हुन आवश्यक छ ।

प्रेस काउन्सिलको भावी अध्यक्ष को ह“ुदै छ ?
प्रेस काउन्सिलको अध्यक्ष पद खाली भएको करिब दुई महिना हुन लागेको छ । सरकारले अध्यक्ष नियुक्तिको लागि खास महत्व दिएको देखिँदैन । पत्रकार–मिडिया जिम्मेवार र उत्तरदायी हुन् भन्ने कामना गर्ने तर काउन्सिलको अध्यक्ष पद समय मै परिपूर्ति नगर्ने सरकारी रवैया जिम्मेवार र संवेदनशील देखिँदैन । काउन्सिलको अध्यक्ष बन्ने हैसियत नै नपुगेको व्यक्तिहरू पनि चाकडी र दौडधूप गरिरहेको सुनिन्छ । त्यसैगरी जातीय, क्षेत्रीय, द्वन्द्व चर्काउन र विखण्डनकारी अभियान चलाउनका लागि पत्रकार र मिडियालाई प्रयोग गर्दै आएका बाह्य शक्तिहरू पनि आपूm अनुकूलको व्यक्तिलाई अध्यक्ष बनाउने कसरत गरिरहेको सुनिन्छ । यो अवस्थामा को अध्यक्ष बन्दछ, अहिले भन्न सकिने स्थिति छैन ।

प्रतिक्रिया