चित्रले चलाएको अशोकको जिन्दगी

prakash
अगाडि एकजना मान्छे मूर्तिभैmँ उभिएका छन्, अशोक उसलाई हेर्दै निहुरेर कुची चलाउँदै उनको चित्र कोर्दैछन् । अगाडि उभिएका मान्छेको चित्र उतार्नु छ उनलाई । झन्डै ३५ मिनेट लगाएर चित्र बनाए र उसको हातमा थमाइदिए । त्यस मान्छेको अनुहार खुसीले गुलाबी भयो ।
पशुपतिनाथ मन्दिरको ठयाक्कै पारिपट्टी गुहेश्वरी जाने बाटो, मन्दिरै मन्दिरको बीचमा खाली ठाउँ । त्यसैको एक छेउमा टाउको नहल्लाई बसेको अधबैँसेको सामने हातमा एउटा बोर्ड लिएर उनको चित्र उतार्दै थिए उनी ।
अशोक थपलिया, जो हरेक दिन यही ठाउँमा यसैगरी कोही न कोही अगाडि राखेर उसको सचित्र उतारिरहेका हुन्छन् । मान्छेको चित्र बनाएर चित्रमा आफ्नो जिन्दगी खोज्न उनले यही ठाँउमा बसेर चित्र उतार्न थालेको १० वर्ष बित्यो । यसबीचमा उनले ट्राफिक प्रहरीले गरेको ड्रोइङ कम्पिटिसन, ओपन वाटर कलर कम्पिटिसनजस्ता धेरै कम्पिटिसन जितेका छन् ।
अर्काको घरमा भाँडा माझ्न आएकी आमाका लुगाको फेर समाएर काठमाडौं आएका थपलिया समाजसेवी भएर देश विकास गर्ने सपना देख्थे । त्यसबेला उनी तीन कक्षामा पढ्थे । आफूले बनाएको चित्रलाई साथीले नराम्रो भन्दै गिज्याएपछि उनलाई राम्रो चित्र बनाएर देखाउने रहरले प्रखर चित्रकार बनायो ।
आमाले नाङ्लोमा चलाएको पसलले उनीहरूको गुजारा चलिरहेको थियो । पशुपति छेवैको शारदा माविमा पढ्थे । भन्छन्, ‘चित्र बनाउन मन भए पनि खाली पन्ना नै नपाइँने । ढुंगा भेटे पनि भित्ता हुँदी चित्र बनाउँदै हिँड्थेँ । राम्रै चित्र बनाउन जान्दा पनि चाहिने कागज किन्ने पैसा हुन्थेन । मैले बाटोमा भेटिएका कागज टिपेर पनि त्यसमा चित्र कोरेको छु ।’
उनी कहिलेकाहीँ आमाको नाङले पलमा सामान बेच्न बस्थे । त्यही मौकामा उनले आमाको आँखा छलेर आठआठआना पैसा लुकाएर जम्मा गर्थें । त्यही पैसाले कागज र कलर पेन्सिल किनेर भगवान्को चित्र बनाउथेँ । उनी भन्छन्, ‘अहिले पनि मलाई याद छ, पैसा तिरेर किनेको सफा पानामा बनाएको त्यो चित्र स्कूलस्तरीय चित्रकलामा प्रथम भयो । त्यो भगवान्को चित्र थियो । त्यसपछि मैले कहिल्यै पछि फर्कनु परेन ।’ पछि उनले ललितकला क्याम्पसमा चित्रकला नै पढे । चित्र बनाएरै नाम पनि र दाम पनि कमाए । नाङ्ले पसलबाट आमालाई घरसम्म सारे ।
पहिलो चित्र भगवान्को बनाएर यो पेसामा आएका उनलाई पशुपतिनाथको वरिपरी छोडेर अन्त जानै मन छैन । भन्छन्, ‘म यति उति दिन्छु घरमा आएर चित्र बनाइदिनोस् भन्छन्, तर म कसैका घरमा जादिनँ । किनकि यही पशुपतिनाथ मन्दिरको छेउमै मेरो सिकाइ सुरु भयो यहाँबाट बाहिर जान मन छैन ।’ नभन्दै उनलाई केहीबेर त्यहाँ हुँदाहुँदै चार जनाले आफ्नो चित्र बनाइदिन भन्दै पैसा बुझाइसकेका थिए ।
उनका अनुसार एउटा चित्र बनाउन आँखाले भन्दा धेरै मनले काम गर्छ । उनी भन्छन्, ‘यसरी मान्छेले मैले बनाएको उनीहरूको आफ्नै चित्र मन पराउनुको पनि कारण छ । चित्रमा मान्छेको स्केच मात्र होइन त्यहाँ त मेरो मन उतार्छु । आँखाले त रिफ्लेक्ट मात्र गर्ने हो । स्केच त मनमा तयार भएको हुन्छ ।’
आफ्नो चित्र जस्ताको तस्तै उतारेको भन्दै खुसीले बढी पैसा दिएर हिँड्नेहरूको पनि उनीसँग लामै सुची रहेछ । एक जना पाकिस्तानी महिला उनले बनाइदिएको आफ्नो चित्र हेर्दै रोएको अनुभव थपलियाले सुनाए । ‘एक जना अधबैँसे पाकिस्तानी महिला पाँच सय रूपैयाँ मात्र दिन्छु भन्दै चित्र कोराउन बसेकी थिइन्’ उनले भने, ‘पछि जस्ताको तस्तै चित्र बनाइदिएको भन्दै चित्र हेर्दै रोइन् र दुई हजार रूपैयाँ दिएर गइन् ।’
यस बाहेक उनी काठमाडौं इटरनेसनल फाइन आर्ट र सेवन सलन स्कुलमा ड्रोइङ पनि पढाउँदा रहेछन् । एक जनाको चित्र बनाएवापत उनले चार सय रूपैयाँ लिने गरेका छन् । एउटा चित्र बनाउन उनलाई आधा घन्टादेखि ४५ मिनेटसम्म लाग्ने रहेछ । एक दिनमा उनले १० वटासम्म चित्र कोरेका छन् रे ! एक सन्तानको बाबु बनेका थपलियाले अहिले चित्र कलाबाट नै घर चलाएका छन् । हरदिन चित्र नै कोरेर दिन बिताएका थपलियाले एउटा चित्रको चार सय र फोटोबाट चित्र बनाएको सात सय रूपैयाँ लिने गरेका छन् ।

प्रतिक्रिया