‘राष्ट्रपतिलाई भारतमा उच्च सम्मान’

bidhyadevi bhandari

काठमाडौं । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भारतले राष्ट्रपति विद्यादेवी भण्डारीलाई उच्च सम्मान दिएको बताएका छन् । राष्ट्रपति भण्डारीको राजकीय भ्रमणमा सहभागी भएर बुधबार काठमाडौं फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री डा. महतले राष्ट्रपति भण्डारीलाई भारतले राष्ट्रपति भवनमै ‘गार्ड अफ अनर’ जस्तो उच्च सम्मान दिएको बताए । राष्ट्रपति भण्डारीलाई भारतको विमानस्थलमा राज्यमन्त्रीले स्वागत गरेको विषयलाई काठमाडौंमा उत्पन्न असन्तोषलाई सञ्चारकर्मीहरूले मन्त्री महतको ध्यानाकर्षण गराउँदा उनले भने, ‘स्वागतको विषयलाई अनावश्यक टिप्पणी नगरौं । गार्ड अफ अनर’ जस्तो भारतकै सबैभन्दा उच्च सम्मान दिएको छ ।’
राष्ट्रपति भण्डारीको सम्मानमा दिइएको गार्ड अफ अनरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमेत पूरै समय सहभागी भएर उच्च सम्मान व्यक्त गरेको मन्त्री महतले उल्लेख गरे ।
उनले भारतीय उच्च नेतृत्वले राष्ट्रपतिसँग सद्भावपूर्ण शिष्टाचार भेट गरेको पनि बताए । मन्त्री महतले भारतीय राष्ट्रपति प्रवण मुखर्जी र प्रधानमन्त्री मोदीले नेपालको शान्ति र समृद्धिमा सदा साथ रहने प्रतिबद्धता राष्ट्रपति भण्डारीसँगको भेटमा व्यक्त गरेको जानकारी पनि दिए । राष्ट्रपति भण्डारीले भारतीय नेतृत्वलाई नेपाल संविधान कार्यान्वयनको चरणमा प्रवेश गरेको र तीन वटै तहको निर्वाचन सम्पन्न भएपछि विकास निर्माणको कामले गति लिने विश्वास व्यक्त गरकोे पनि बताए । गत सोमबार भारतको पाँच दिने राजकीय भ्रमणमा गएकी राष्ट्रपति भण्डारीले मंगलबार उच्च स्तरीय राजनीति भेटवार्ता गरेकी थिइन् । उनी भारतको गुजरात र उडिसा राज्यको भ्रमण गरेर शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया