आन्तरिक पर्यटकले भरिए पोखराका होटल

पोखरा । नयाँवर्ष ०७४ को पूर्वसन्ध्यामा पर्यटकीय नगरी पोखरामा यतिखेर आन्तरिक पर्यटकको निकै चहलपहल देखिएको छ । नेपालमा ०७२ सालमा गएको विनाशकारी भूकम्पपछि भरिन नसकेका पोखराका होटल अंग्रेजी नयाँवर्ष २०१७ का अवसरमा यसअघि खचाखच भरिएकोमा पुनः नेपाली नयाँवर्षका कारण पोखरामा पर्यटकलाई होटल नै पाउन नसक्ने अवस्था सिर्जना भएको छ ।
आन्तरिक पर्यटकले जेनतेन थेग्दै गए पनि शतप्रतिशत पु¥याउन नसकिएका अवस्थामा अंग्रेजी नयाँ वर्षमा होटलमा शतप्रतिशत पर्यटक भरिएपछि उत्साहित बनेका यहाँका पर्यटन व्यवसायीलाई ०७४ सालको आगमन पूर्व केही दिनयता देखिएको पर्यटकको चापले हर्षित बनाएको छ ।
नयाँवर्षका कारण पोखराका प्रत्येक होटेलमा आज र भोलिका लागि शतप्रतिशत पर्यटक भरिएको पश्चिमाञ्चल होटल संघका निवर्तमान अध्यक्ष एवं पोखरा पर्यटन परिषद्का उपाध्यक्ष भरतराज पराजुलीले जानकारी दिए । ‘नयाँ वर्षमा आएका पर्यटकको संख्याले व्यवसायीलाई निकै उत्साहित बनाएको छ,’ उनले भने, ‘आन्तरिक पर्यटकको आगमनको क्रम बढ्दै गए पनि विदेशी पर्यटकको आगमन भूकम्पपछि अझै सन्तोषजनक बन्न सकेको छैन ।’
पोखराको पर्यटकीय विकासलाई लक्षित गरी यहाँ लगभग एक खर्बको लगानी भइसकेको उनले बताए । ‘पोखरामा हाल पर्यटकलाई लक्षित गरी बनाइएका पाँच सयको संख्यामा होटल रहेका छन्,’ उनले भने, ‘यहाँ रहेका होटलमध्ये पाँच वटा पाँच तारे, १४ वटा तीन तारे छन् ।’ पछिल्लो समयमा पोखराको सराङकोटमा चार तारे होटल बन्ने तयारीमा छ ।
पोखराको पर्यटन प्रवद्र्धनका लागि भारतका विभिन्न ठाउँमा पुगी सञ्चालन गरिएका ‘चलिए पोखरा’ जस्ता कार्यक्रमको प्रभावकारिता बिस्तारै बढ्दै गएको पर्यटन व्यवसायी बताउँछन् । पोखरामा भूकम्पपछि भारतीय पर्यटक आउने क्रम बिस्तारै बढे पनि चिनियाँ पर्यटकको आउने क्रम बढ्नसकेको छैन । ‘भूकम्प अघि आउने चिनियाँ पर्यटकको तुलनमा हाल २० प्रतिशतको हाराहारीमा मात्र आउने गरेका छन्,’ पराजुलीले भने ।
तथ्यांकअनुसार पोखरा क्षेत्रमा पर्यटक बस्नसक्ने गरी होटलका लगभग नौ हजारभन्दा बढी कोठामा २० हजारभन्दा बढी बेड संख्या रहेको छ भने यस आसपासका धम्पुस, रुपाकोट, बेगनासलगायत स्थानका होटलसमेत गरी प्रतिदिन यहाँ ३० हजार भन्दा बढी संख्यामा पर्यटकलाई राख्नसक्ने क्षमता छ ।
नयाँवर्षका अवसरमा पोखरामा आएका पर्यटकका कारण पर्यटन क्षेत्रलाई उत्साहित बनाएको बताउने नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका वरिष्ठ अधिकृत सूर्य थपलिया विदेशी पर्यटकको आगमनलाई बढाउनका लागि त्यही किसिमका कार्यक्रम अघि बढाउनु आवश्यक भएको धारणा राख्छन् ।
‘विदेशी पर्यटकको आगमनलाई बढाउनका लागि अन्तर्राष्ट्रियस्तरको प्रवद्र्धन कार्यक्रम आवश्यक छ,’ उनले भने, ‘नेपाल पर्यटन बोर्डले नेपालको अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनका लागि बिबिसी, सिएनन्, रोयटर्सजस्ता समाचार संस्थामार्फत प्रबद्र्धनको काम थालेको छ ।’ बोर्डले वार्षिक रूपमा ४० वटा अन्तर्राष्ट्रिय प्रवद्र्धनका अन्य कार्यक्रम पनि राख्ने गरेको जानकारी दिँदै थपलियाले अन्तर्राष्ट्रिय पर्यटक बढाउन त्यही किसिमको पूर्वाधार विकासलाई पनि राज्यले प्राथमिकता दिनुपर्नेमा जोड भने ।
नेपालमा अन्तर्राष्ट्रिय पर्यटनको विकासका लागि हाल रहेका सीमित हवाई उडानले पनि प्रभावित गरेका कारण विद्यमान सीमिततालाई हटाएर विभिन्न राष्ट्रबाट सिधा हवाई सम्पर्कको व्यवस्था गर्नुपर्ने आवश्यकता टड्कारो देखिएको छ । पोखरामा नयाँवर्षको आगमनपूर्व दुई साता अघिदेखि नै होटलमा विभिन्न ठाउँबाट पर्यटकले अग्रिम बुकिङ गरेको लेकसाइडस्थित होटल एसियाका प्रोपाइटर धर्मराज पन्थी बताउँछन् । अघिल्लो शैक्षिक सत्रको समाप्ती र नयाँ शैक्षिक वर्षको सुरुआत भइनसकेका कारण यतिखेर परिवारका सदस्यसहित आउनेको संख्या पोखरामा ह्वात्तै बढेको व्यवसायीले बताए ।
निश्चित समयका साथै पर्व विशेष भन्दा पनि पोखरामा सदावहार रूपमा पर्यटक आउने अवस्था सिर्जना गर्नु आवश्यक रहेको पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष एवं नेपाल पर्यटन व्यवसायी संघ, पोखराका अध्यक्ष सोम थापाको भनाइ छ ।’ पोखरामा आवश्यक पूर्वाधार विकाससँगै पर्यटकलाई आकर्षित गर्ने कार्यक्रम प्याकेजका रूपमा ल्याउनु आवश्यक छ,’ थापाले भने, ‘यहाँस्थित प्राकृतिक सम्पदाको अलावा पर्यटन लक्षित मानवनिर्मित संरचनाको विकासलाई पनि प्राथमिकतामा राखिनुपर्छ ।’

प्रतिक्रिया