प्रधानमन्त्रीलाई सर्वोच्चको पत्रः ७ दिनभित्र ढुंगेललाई पक्रनू

Bal-Krishna-Dhungel
काठमाडौं । सर्वोच्च अदालतले वालकृष्ण ढुंगेललाई पक्राउ गरेर जन्मकैदको फैसला कार्यान्वयन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्र पठाएको छ । द्वन्द्वकालीन मुद्दामा सर्वोच्चले १९ पुस ०६६ मा ढुंगेललाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । बाबुराम भट्टराई नेतृत्वको सरकारले आममाफीका लागि सिफारिस गरे पनि सर्वोच्चले गतवर्ष २३ फागुनमा आममाफी सिफारिस कार्यान्वयन गर्न रोक लगाएको थियो ।
तर, ढुंगेल अझै पक्राउ परेका छैनन् । माओवादीका पूर्वसांसदसमेत रहेका ढुंगेलले अदालतको फैसला खारेज गर्नेदेखि पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी, कल्याण श्रेष्ठको नाममा वारेन्ट जारी गर्छु भन्दै अभिव्यक्ति दिएपछि उनीविरुद्ध सर्वोच्च अदालतको अवहेलना मुद्दा परेको थियो ।
रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले ढुंगेलको अभिव्यक्ति अत्यन्त आपत्तिजनक र अशोभनीय भनेको छ । अदालतको फैसलाको अवज्ञा र अनादर भाषण गरिहिँड्ने कार्य स्वीकार्य नहुने भन्दै सर्वोच्चको आदेशमा भनिएको छ, ‘अदालतबाट सजाय पाएका व्यक्ति फैसला मान्दिनँ, खारेज गर्छु भन्ने र फैसला कार्यान्वयन गर्ने तथा न्यायपालिकाको नेतृत्व गर्ने न्यायाधीश तथा प्रधानन्यायाधीशप्रति अमर्यादित, आपत्तिजनक र भौतिक आक्रमण जस्ता धम्की दिने र कानुन कार्यान्वयन गर्नुपर्ने निकायहरू मुकदर्शक बन्ने स्थिति रहेको मुलुकमा अदालत रहनु वा नरहनुको कुनै अर्थ रहँदैन ।’
ढुंगेल, पीडित तथा समाजका लागि खतरा बनेको तथा स्वतन्त्र न्यायपालिकाको अस्मिता एवं विधिको शासनको रक्षाका लागि उनलाई तत्काल पक्राउ गर्नु आवश्यक देखिएको भन्दै सर्वोच्चले वारेन्ट जारी गरेको छ । साथै प्रहरी परिचालन गरी जहाँ भए पनि सात दिनभित्र पक्राउ गर्न र अदालतमा प्रतिवेदन पेस गर्न आइजिपीका नाममा आदेश जारी गरेको छ ।सर्वोच्चले लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालको नाममा पत्र काटेर ढुंगेललाई तत्काल पक्राउ गर्न आदेश दिएको छ । सर्वोच्चका सहप्रवक्ता विश्वराज पौडेलले प्रधानमन्त्रीको नाममा सर्वोच्चले पत्र पठाएको बताए ।

प्रतिक्रिया