जवर्जस्ती गरे मधेस अलग हुन्छ ः ठाकुर

tayari sabha

जनकपुरधाम । तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधनविना जवर्जस्ती चुनाव गराउन खोजियो भने राज्यले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । महोत्तरीको पिपरा बजारमा सोमबार आयोजित तराई–मधेस लोकतान्त्रिक पार्टीको क्षेत्रीय तयारी सभामा ठाकुरले जवर्जस्ती गरिने चुनावलाई मधेसी जनताले अवरोध गर्ने बताउँदै राज्यले निहत्था मधेसी जनतामाथि गोली चलाए राज्यको बर्दी र बन्दुक खोसिने पनि चेतावनी दिए । आफूहरू निर्वाचनविरोधी नरहेको बताउँदै ठाकुरले मधेसी जनताले अधिकार नपाउन्जेलसम्म देशमा निर्वाचन त के संविधान कार्यान्वयनसम्म हुन नसक्ने दाबी गरे ।
राज्यले दमन गरेर सेना भिडाएर चुनाव गराउने कुरा बकम्फुसे मात्र रहेको बताउँदै उनले राज्यसँग दम छ भने चुनाव गरेर देखाउन चुनौती दिए । उनले आफनो अधिकारका लागि आवाज उठाइरहेका मधेसी जनतामाथि उल्टै मुद्दा चलाउने र फसाउने कोसिस गरियो भने मधेसले आफनो वर्तमान राज्यबाट आफ्नो मान्यता हटाउनेसमेत बताए ।
उनले भने, ‘राज्यले अस्पतालमा गोली चलाएको छ । स्वास्थ्यकर्मीलाई पनि पिटेको छ । राज्यलाई छाती र टाउकोमा गोली हान्ने बानी परेको छ । यस्तो प्रवृत्ति अत्याचारको पराकाष्ठा हो यसलाई अब मधेसी जनताले पक्कै पनि स्वीकार गर्दैन ।’ अहिले संविधान संशोधनको प्रस्ताव संसद्मा दर्ता गराउने भनिँदै छ, त्यो पहिले नै प्रस्तावित भइसकेको बताउँदै ठाकुरले एमाले अध्यक्ष केपी ओलीले संविधान संशोधन हुनुलाई राष्ट्रविरोधी भन्नु सरासर गलत रहेको बताए । उनले भने, ‘एमाले अध्यक्ष ओलीले मोर्चाले गरेको संविधान संशोधनको माग भारत परस्त रहेको आरोप लगाउनु कदापि क्षम्य हुन सक्दैन ।’
मधेस आन्दोलनपछि मधेसी मोर्चासँग भएको सम्झौतामा सबै दलको हस्ताक्षर भएको छ तर अहिले त्यसै सम्झौतालाई उल्लघंन गरेर संविधान बनाइएको उनले दाबी गरे । कार्यक्रममा पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लाल, सांसद विजयकुमार सिंहलगायत उपस्थित थिए ।सो पार्टीले मधेसको ग्रामीण क्षेत्रमा सभा र भेलालाई गति प्रदान गरेको छ । पार्टीले बितेको चार दिनमा १७ वटा सभा सम्पन्न गरिसकेको छ ।
देश विखण्डनको सपना नदेख ः देउवा
दाङ । कांग्रेस सभापति शेरबहादुर देउवाले देश विखण्डनको सपना नदेख्न मधेसी मोर्चालाई चेतावनी दिएका छन् । दाङको तुलसीपुरमा आयोजित पाँच नम्बर प्रदेश स्तरीय सभामा देउवाले मधेसलाई टुक्र्याउन खोज्नेहरू मधेसबाट आफैँ बढारिने बताए । उनले भने, ‘मधेसी मोर्चाका नेताहरूले कुनैबेला मधेसलाई छुट्टै देश बनाउँछौँ भन्छन्, त्यो उहाँहरूको दिवा सपना मात्र हो । विखण्डन गर्न खोज्नेहरूलाई जनताले सजाय दिन्छन् ।’ उनले मधेसलाई निषेध गरेर मधेसीलाई उग्र बनाउन एमालेले सहयोगी भूमिका निर्वाह गरेको आक्षेप लगाए ।

मोर्चाद्वारा बैठक अवरुद्ध
रौतहट । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय तहको मतदान केन्द्र पुनरावलोकनसम्बन्धी बैठकमा अवरोध गरेको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाको अध्यक्षतामा सोमबार बसेको राजनीतिक दलसहितको बैठकमा निर्वाचनको वातावरण नरहेकोले कुनै पनि निर्णय गर्न नसकिने बताएपछि जिल्लाको मतदान केन्द्र पुनरावलोकनसम्बन्धी बैठक स्थगित भएको हो ।
गत ६ चैतमा पनि जिल्ला निर्वाचन आयोगको कार्यालयले बोलाएको बैठक मोर्चाका कार्यकर्ताले अवरुद्ध पारेका थिए । जिल्ला निर्वाचन अधिकारी राजन श्रीवास्तवले मोर्चाका कार्यकर्ताले बैठकप्रति असहमति जनाएपछि बैठक निष्कर्षविहीन भएको बताए । जिल्लामा दुई सय ५४ वटा मतदान केन्द्र रहेको र जिल्लामा मतदाता बढेको अनुपातमा पुनरावलोकन गरी केही थप गर्न परामर्श गर्न बोलाइएको बैठक उपलब्धिविहीन भएको उनले बताए । पटकपटक बैठक उपलब्धिहीन भएपछि जिल्लाको वस्तुस्थिति केन्द्रलाई पठाउने र केन्द्रले नै तोकेसरह हुने उनको भनाइ छ ।
मोर्चाआबद्ध एकघटक नेपाल सद्भावना पार्टीका केन्द्रीय सदस्य अनीलकुमार सिंहले राज्य पुनर्संरचना आयोगको प्रतिवेदन सच्याएर मोर्चाको माग पूरा भएपछि मात्र मधेसमा चुनावको वातावरण बन्ने बताए ।

प्रतिक्रिया