पालिका निर्माणमा महिलाको विशेषाधिकार रहेकाले अवसर उपयोग गर्दै समृद्ध पालिका निर्माणमा जुट्नुपर्ने बेला आएको छ । भर्खरै स्थानीयतह संरचनाले रूप धारण गरेको छ । यसअन्तर्गत खोटाङ १० वटा पालिकामा विभाजित भएको छ । यी पालिकाहरू प्राकृतिक स्रोत साधनको हिसाबले अब्बल देखिएको छ ।
केपिलासगढी गाउँपालिका
यो पालिका प्राकृतिक स्रोतका हिसाबले निक्कै धनी छ । फराकिलो लेकाली क्षेत्र, घना जंगल, जडीबुटीको खानी, रेडपान्डा, सालक, भिरमाहुरीलगायत विविध पर्यावरणीय हिसाबले निक्कै धनी छ यो पालिका । यसैलाई मात्र आधार मानेर हेर्ने हो भने अन्य पालिकाको तुलनामा समृद्धिको संकेत देखिन्छ । यो पालिकाको सुङ्देल, फेदीलगायत लेकाली जंगलमा पाइने रेडपान्डा लक्षित गरी पर्यटन प्रवद्र्धन गर्न सकिन्छ । त्यति मात्र होइन यस क्षेत्रमा पाइने बहुउपयोगी तथा बहुमूल्य जडीबुटीको समेत प्रवद्र्धन गर्न सकिन्छ । सुङ्देल र फेदीमा पाइने भिरमाहुरी लक्षित गरी पर्यटकको केन्द्रविन्दु बनाउन सकिन्छ । अलँैची, किवी, चियालगायतको राम्रो सम्भावना छ । यो पालिकामा पर्ने मैयुलगायत लेकाली क्षेत्रको उपयोग गर्दै भेडापालन, चौँरीपालन, घोडा रेसिङलगायत पर्यटन विकासको राम्रो सम्भावना छ । यति मात्र होइन साम्पाङ, कोयी, दुमीलगायत उद्गमथलोसमेत भएकाले सांस्कृतिक पर्यटनकोसमेत राम्रो सम्भावना छ । लौरे, चिलिमढुंगा, केपिलासगढी, प्याप्सिङगढीलगायत ऐतिहासिक स्थलहरूको प्रवद्र्धनले आर्थिक समृद्धिमा टेवा पुग्ने देखिन्छ । यो पालिकामा १५ हजार दुई सय ८८ जनसंख्या छ । एक उच्च मावि र क्याम्पस, सात स्वास्थ्य संस्था र एक कृषि सेवा केन्द्र छ ।
ऐँसेलुखर्क गाउँपालिका
यो पालिका पनि प्राकृतिक स्रोत साधन भएको मानिन्छ । यसबाहेक जिल्लाको उत्तरी नाका भएकाले जिल्लामा उत्पादित सामग्रीको बजार व्यवस्थापन गरी यो पालिकाको आर्थिकस्तर उकास्न सकिन्छ । पुरानो सदरमुकाम भएकाले पनि बजारीकरणको सभवना प्रशस्त देखिन्छ । अलैँची, आलु, अदुवालगायत कृषिजन्य उत्पादनको उर्वर क्षेत्र भएकाले पनि यसको भविष्य राम्रो छ । प्राकृतिक श्रोत तथा जडीबुटी पनि भएकाले यो पालिकाको सम्भावना राम्रो छ । विविध जाति तथा धर्मको संगमस्थल भएकाले पनि यो पालिका समृद्ध छ । सम्भावनाहरूको खोजी गरी समृद्धिको बाटो समात्न सक्ने देखिन्छ । यो पालिकाको जनसंख्या १६ हजार १७ छ । यहाँ दुई उच्च मावि र क्याम्पस, सात स्वास्थ्य संस्था र एक कृषि सेवा केन्द्र छ ।
लामीडाँडा गाउँपालिका
यो पालिका प्राकृतिक श्रोत साधनले भरिपूर्ण मानिन्छ । रावाखोला, धलमुढा, जलविद्युत्लगायतका केन्द्र मानिन्छ । उत्पादनयोग्य जमिन भएकाले आर्थिक उन्नतिको सम्भावना राम्रो छ । यस पालिकामा उत्पादन हुन लागेको जलविद्युत्ले पनि समृद्धि दिने निश्चित छ । तर, जलविद्युत्को आयआर्जनमा सर्वसाधारणको पहुँच कम भएकाले उनीहरूको पहुँच विस्तारका लागि ध्यान दिनुपर्ने देखिन्छ । नत्र लगानीकर्ताको मात्र आर्थिक उन्नति हुने र सर्वसाधारण भने रमिता मात्र हेर्नुपर्ने अवस्था आउन सक्छ । यसका लागि स्थानीयले बुझ्नुपर्ने हुन्छ । यसबाहेक अन्य स्रोतहरूको पनि सम्भावना छ । यो पालिकामा १३ हजार तीन सय ६९ जनसंख्या छ । उमावि र क्याम्पस चार र ६ स्वास्थ्य संस्था छ ।
हलेसीतुवाचुङ नगरपालिका
यो नगरपालिकाका निक्कै समृद्ध नगरपालिका मानिन्छ । यहाँ रहेको विश्व प्रशिद्ध त्रि–धार्मिकस्थल हलेसी, किरात ऐतिहासिक तुवाचुङ जायजुम, जन्तेढुंगा, भुम्जुलगायत पर्यटकीय स्थलहरू नै समृद्धिको मुख्य आधार हो । यस क्षेत्रमा भएको विभिन्न झन्डै एक दर्जन गुफाहरूको प्रवद्र्धन पनि समृद्धिको राम्रो सम्भावना देखिन्छ । यसबाहेक सुनकोसी दूधकोसीजस्ता जलस्रोत र मध्यपहाडी लोकमार्ग पनि समृद्धिको मुख्य मेरुदण्ड हो । यहा २९ हजार पाँच सय २९ जनसंख्या छ । यो नगरपालिकामा नौ उच्च मावि र क्याम्पस, ११ स्वास्थ्य केन्द्र, तीन कृषि केन्द्र र चार पशुसेवा केन्द्र छ ।
रूपाकोटमझुवागढी नगरपालिका
यो पालिका अर्काे राम्रो सम्भावना बोकेको नगरपालिका हो । पर्यापर्यटनको हिसाबले रूपाकोट, पर्यटकीय मझुवागढी, सहदेवगढी(बुइपा), भुलभुलेलगायतले समृद्धिको बाटो सुनिश्चित देखिन्छ । यसबाहेक पाथेकास्थित लेकाली जंगलमा पाइने रेडपान्डा, कालो भालु, मध्यक्षेत्रमा पाइने लोपोन्मुख सालक, विभिन्न जडीबुटीलगायतले पनि समृद्धिमा टेवा पुग्ने निश्चित छ । मध्यपहाडी लोकमार्गले पनि समृद्धिमा सहयोग पुग्ने देखिन्छ । भाषा संस्कृतिको प्रवद्र्धनले समृद्धिमा थप होस्टेमा हैसे पुग्नेछ । तर, यसको व्यवस्थापनमा ध्यान दिन आवश्यक छ । यो नगरपालिकामा ४६ हजार नौ सय जनसंख्या छ । यसमा ६ उच्च मावि र क्याम्पस, १३ स्वास्थ्य संस्था, एक कृषि सेवा केन्द्र, एक पशुसेवा केन्द्र र एक वन रेन्जपोस्ट छ ।
साकेला गाउँपालिका
यसपालिका अर्काे सम्भावना बोकेको मानिन्छ । यहा विभिन्न जडीबुटी, धर्म, भाषा, कृषियोग्य जमिन छ । विभिन्न टेम्केलगायत पर्यटकीय क्षेत्र, मध्यपहाडी लोकमार्गले समृद्धिको सम्भावना देखिन्छ । जनशक्ति र आधुनिक कृषि व्यवसाय यो पालिकाको अर्काे सम्भावना हो । यहाँ ११ हजार पाँच सय ९४ जनसंख्या, पाँच उच्च मावि र क्याम्पस, पाँच स्वास्थ्य संस्था, एक पशुसेवा, एक कृषि सेवा र एक वन रेन्जपोस्ट छ
दिप्रुङ गाउँपालिका
यसपालिका पनि समृद्धिको सम्भावना बोकेको पालिका हो । खेतीयोग्य जमिन, शेषथुम्की, छितापोखरीलगायत पर्यापर्यटनको राम्रो सम्भावना बोकेको पालिका हो । सुनकोसी, साप्सु, टुवा, टुकुरेलगायत जलस्रोत यो गाउँपालिकाको स्रोत हो । सगरमाथा लोकमार्ग पनि समृद्धिको अर्काे आधार हो । यहाँ २० हजार एक सय ७५ जनसंख्या, चार उच्च मावि र क्याम्पस र ६ स्वास्थ्य संस्था छ ।
खोटेहाङ गाउँपालिका
यो गाउँपालिका पनि समृद्धिको राम्रो सम्भावना बोकेको मानिन्छ । पूर्व भोजपुरदेखि पश्चिम उदयपुरसम्म फैलिएको गाउपालिका भएकाले विकासको सम्भावनाहरू प्रसस्तै छन् । सडक सञ्जाल, जडीबुटी, वन पैदावर, वन्यजन्तु, अलैँचीलगायत कृषिजन्य वस्तुलगायतको राम्रो सम्भावना बोकेको गाउँपालिका हो यो । जलस्रोतको उपयोगले धनी बन्न सक्ने गाउँपालिका भएकाले आत्मनिर्भर हुने देखिन्छ । यहाँ २२ हजार चार सय ७४ जनसंख्या, चार उच्च मावि र क्याम्पस, १० स्वास्थ्य संस्था, एक कृषि सेवा केन्द्र, एक पशुसेवा केन्द्र र एक वन रेन्जपोस्ट छ ।
वराहपोखरी गाउँपालिका
यो गाउँपालिका निक्कै समृद्ध गाउँपालिका मानिन्छ । वराहताल, सुन्तलेलगायत पर्यटकीय क्षेत्र, विभिन्न जडीबुटीयोग्य जंगल, सालकलगायत वन्यजन्तु, वनपैदावरलगायतले समृद्ध मानिन्छ । यस क्षेत्रमा बसोबास गर्ने विविध धर्म संस्कृतिका समुदाय पनि अर्को समृद्धिको पक्ष हो । यहाँ १४ हजार तीन सय ४९ जनसंख्या, एक उच्च मावि एक क्याम्पस र सात स्वास्थ्य संस्था छ ।
जन्तेढुंगा गाउँपालिका
यो गाउँपालिका अर्को समृद्ध गाउँपालिका हो । हुम्मापोखरी, जन्तेढुंगा, कुहिभिर थुम्का, भानुमतिलगायत धार्मिक पर्यटन, विभिन्न जडीबुटी, वनपैदावरले यो पालिकाको समृद्धिको मुख्य आधार हो । यसको समुचित व्यवस्थापन गर्न सके समृद्धिको चोमोलुंमा पुग्न सक्ने निश्चित छ । यहाँ १५ हजार चार सय ४४ जनसंख्या, दुई उच्च मावि र क्याम्पस, ६ स्वास्थ्य संस्था, एक कृषि सेवा केन्द्र र एक पशुसेवा केन्द्र छ ।
स्थानीयतहको पूर्वाधारका लागि सरकारले एक करोड विनियोजन गरेको छ । यसलाई सही सदुपयोग गरी समृद्ध पालिकाको विकासमा खर्च गर्नुपर्ने भएको छ । पालिका निर्माणमा महिलाको विशेषाधिकार रहेकाले अवसर उपयोग गर्दै समृद्ध पालिका निर्माणमा जुट्नु पर्ने बेला आएको छ ।
प्रतिक्रिया