सरकारले माध्यमिक तहसम्मको पढाइलाई निःशुल्क घोषणा गरेको भए पनि विद्यालयमा आवश्यक पर्ने दरबन्दी उपलब्ध गराउन नसक्दा अधिकांश सामुदायिक विद्यालय विभिन्न नाममा शुल्क उठाउन बाध्य छन् । शिक्षा नियमावलीमा भर्ना र मासिक शुल्क लिन नमिल्ने उल्लेख भए पनि त्यही नियमावलीमा विद्यालय सञ्चालनका लागि सहयोग स्वरुप चन्दा जुटाउन
सकिने उल्लेख छ ।
त्यसैलाई टेकेर विद्यालयले शैक्षिक सुधार चन्दाको नामबाट विद्यार्थीसँग शुल्क लिँदै आएका छन् । कतिपयले सामुदायिक वन, स्थानीय दातासँग चन्दा उठाएर पनि विद्यालय सञ्चालन गर्न बाध्य भएका छन् । जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालका अनुसार हाल जिल्लामा सञ्चालित २१ वटा माध्यमिक विद्यालयमा माध्यमिक तहको दरबन्दी नै छैन । त्यसैगरी ४२ वटा निम्न माध्यमिक विद्यालयमा सो तहको दरबन्दी छैन ।
ती विद्यालयका अतिरिक्त अन्य विद्यालयमा दरबन्दी भएर पनि अपुग रहेको जिशिअ अर्याल बताउँछन् । शिक्षा विभागले तोकेको मापदण्डअनुसार जिल्लामा निम्न माध्यमिक तहमा २ सय ९१ जना शिक्षक अपुग छ भने माध्यमिक तहमा २ सय ६६ जना शिक्षक अपुग रहेको उनले बताए ।
जिल्लामा ७६ हजार ८१ विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययनरत छन् । २ हजार ८ सय ११ शिक्षक दरबन्दी छ । माध्यमिक तहमा ३ सय ९ दरबन्दी र ७४ जना अनुदानका शिक्षक रहेका छन् । निम्न माध्यमिक तहमा ४ सय ५ दरबन्दी र १ सय ३३ अनुदानका शिक्षक छन् भने प्रावि तहमा १ हजार ६ सय ७५ दरबन्दी, २ सय अनुदान र १५ जना महिला शिक्षक रहेका छन् ।
विद्यार्थीको संख्या सामुदायिक विद्यालयमा धेरै भए पनि दरबन्दी नहुँदा विद्यालय कठिन रूपमा सहयोग चन्दा जुटाएर सञ्चालन भइरहेका जिशिअ अर्यालले बताए । न्यून तलबमा निजी स्रोतमा शिक्षक राखेर कक्षा सञ्चालन गर्न विद्यालय बाध्य भएका उनको भनाइ छ । पछिल्लो समय दरबन्दीको सुनिश्चितता नभएसम्म तह बढाउन रोकिएको पनि उनले बताए । जिल्लामा २ सय १३ प्रावि, १ सय ६४ निमावि र ९५ वटा मावि सामुदायिक विद्यालय सञ्चालनमा छन् ।
भरतपुरको नारायणी उच्च माविका प्राचार्य पूर्ण दवाडी माध्यमिक तहमा मात्र ६ सय ३३ विद्यार्थी रहे पनि १० मात्र शिक्षक दरबन्दी पाएको बताउँछन् । विद्यालयमा कुल शिक्षक कर्मचारी ५७ जना रहेकामा २० जना निजी स्रोतका छन् । विद्यार्थीबाट शैक्षिक सुधार चन्दा लिएर विद्यालय सञ्चालन गरिरहेको उनले बताए । सो विद्यालयले माध्यमिक तहमा अंग्रेजी माध्यमबाट अध्ययन गर्ने विद्यार्थीसँग मासिक ५ सय रुपैयाँ र नेपाली माध्यमबाट अध्ययन गर्ने विद्यार्थीसँग २ सय रुपैयाँ चन्दाको नाम दिएर शुल्क उठाउँदै आएको छ ।
नेपाल शिक्षक महासंघका केन्द्रीय उपमहासचिवसमेत रहेका सो विद्यालयका प्राचार्य दवाडीले दरबन्दी र भौतिक पूर्वाधारका लागि सरकारले बजेट दिन नसक्दा विद्यालय सञ्चालन निकै कठिनपूर्ण भएको र विद्यार्थीबाट रकम उठाउन बाध्य भएको बताए । दवाडी प्राचार्य रहेको सो विद्यालयमा कक्षा १० मा ६ वटा र कक्षा ९ मा ७ वटा सेक्सन सञ्चालनमा छन् । पूर्वी चितवनको माध्यमिक विद्यालय चित्रसारीमा मावि तहको दरबन्दी छैन । विद्यालयका प्राचार्य सूर्य लामिछाने विद्यालयको मावि तहमा कक्षा ९ मा ५७ जना र १० मा ५४ विद्यार्थी रहेका भए पनि सरकारले दरबन्दी नदिँदा स्थानीय सामुदायिक वन र दाताको भर पर्नुपरेको बताउँछन् । सो विद्यालयमा निजी स्रोतका ३ शिक्षक र १ परिचर छन् ।
स्थानीय चित्रसेन मध्यवर्ती सामुदायिक वनले वार्षिक रूपमा उपलब्ध गराउने १० लाख रुपैयाँ हाराहारीको सहयोगबाट विद्यालय सञ्चालन हुँदै आएको छ । तल्लो तहका शिक्षकलाई न्यूनतम पारिश्रमिक दिएर माथिल्लो तहसम्म अध्यापन गर्न लगाएको उनले बताए ।
यस्तै भरतपुरको चमेलीदेवी पिया निम्न माध्यमिक विद्यालयमा पनि माथिल्लो तहको सरकारी दरबन्दी छैन । विद्यालयका प्राचार्य निर्मला श्रेष्ठ निमावि तहमा ८६ विद्यार्थी भए पनि दरबन्दी नहुँदा स्थानीय ट्रस्टबाट सञ्चालित लिटिल फ्लावर स्कुल र दाता खोजेर विद्यालय धान्दै आएको बताउँछन् । अन्य विद्यालयमा झैँ तल्लो तहका शिक्षकले माथिल्लो तहमा पढाउँदै आएका छन् । सो विद्यालयमा १ जना निजी स्रोतका शिक्षक राखिएको उनले बताए ।
प्रतिक्रिया