सशस्त्र द्वन्द्वताका अग्र मोर्चामा लडेका खेमराज भित्रीकोटी ‘अथक’ समयक्रममा सबैभन्दा पछिल्तिर पु¥याइएका छन् । व्यवस्था बदल्ने उनको सपना आज निराशामा बदलिएको छ । साहस र सौर्य पढ्न पाइने उनको मुहारमा अहिले चमक छैन । दुःखी, गरिबको सुख र ऐश्वर्यका लागि हिँडेका उनी त्यसै थकित–थकित छन् । ३१ वर्षीय भित्रीकोटीका उर्वरयुक्त १६ वर्ष विचार, पार्टी र देश भनेर बिते । उनलाई सपना देखाउनेहरू अहिले सत्तामा छन्, उनी भने कतै कुनामा थन्किएका छन् अयोग्यताको प्रमाणपत्र बोकेर । मल्म–६ का भित्रीकोटीले बुबा बितेको १८ दिनमा घर छोडे । घर छोड्दाको उनको अलिखित सर्त थियो, युग फर्ने, समाज सुधार्ने, राम्रो व्यवस्था ल्याउने आदि–इत्यादि । सांस्कृतिक फाँट हुँदै तत्कालीन नेकपा मोआवादीको सैन्य संगठनमा काम गरेका भित्रीकोटीलाई अहिले खिन्नता छ ।
शान्ति प्रक्रियाको चरणमा सेना समायोजन हुँदा अयोग्य ठहराइएका उनी अहिले उदास छन्, युद्ध हारेर फर्केको सिपाहीजस्तै । पार्टी नेतृत्वसँग भित्रीकोटीको ठूलो असन्तुष्टि रहे पनि पार्टी र विचारको माया भने उत्तिकै लाग्दोरहेछ र भन्छन्– ‘पार्टीको माया त औधी लाग्छ, तर मेरो चित्त दुखाइ छ,’ भित्रीकोटीले भने ‘नेतृत्व गलत बाटोतिर लागेको छ, हामीलाई बिर्सिएको छ, कुनै वास्ता छैन ।’
तत्कालीन नेकपा माओवादी अध्यक्ष एवं हाल प्रधानमन्त्री रहेका पुष्पकमल दाहालको विशेष सुरक्षा दस्तामासमेत काम गरेको अनुभव उनीसँग रहेछ । ५ वर्षसम्म सैन्य संगठनमा काम गरेपछि भित्रीकोटी ०६३ सालमा स्वेच्छिक अवकाशमा निस्किए । ०५७ मंसिर १ गतेदेखि माओवादी आन्दोलनमा लागेका भित्रीकोटी ०५८ मा पूर्णकालीन भएर पार्टीमा लागेका थिए ।
पार्टी शान्ति प्रक्रियामा आइसकेपछि तत्कालीन अवस्थामा नवलपरासीमा रहेको माओवादी सेनाको चौथो डिभिजन कार्यालयको सुरक्षा समितिको ‘कमान्डर’समेत भएर उनले काम गरे । ‘डेढ वर्ष शिविरमा बसियो, पछि समायोजनका क्रममा योग्यता पुगेन भनेपछि स्वेच्छिक अवकाश लिएर घर फर्कें’ भित्रीकोटीले भने । घर फर्केपछि वैदेशिक रोजगारका लागि मलेसिया पुगेका उनी १८ महिनामै स्वदेश फर्किए ।
अहिले उनी सामाजिक काम, घरधन्दा र ज्यालादारीका काममा हिँडेर दैनिकी काटिरहेका छन् । उनलाई पार्टीले शान्ति प्रक्रियापछि ल्याएको नीतिप्रति चित्त बुझेको छैन । ‘सेना समायोजनमा पनि मेरो चित्त बुझेको छैन, हामीलाई अयोग्य भनेर घर फिर्ता गरियो,’ भित्रीकोटीले प्रश्न गरे, ‘कसैलाई पाखा, कसैलाई काखा किन गरियो ?’ विगतमा सशस्त्र संघर्षमा लागेकै कारण अहिले पनि आफूलाई समाजले फरक कोणबाट हेर्ने गरेको तीतो यथार्थ पनि उनी सामु छ ।
‘समाजले हामीलाई गलत भनेर हेर्छ, प्रशासनले पनि खोट लगाउन सक्छ,’ भित्रीकोटीले भने, ‘यस्तो हुँदा पनि हामीलाई पार्टीले हेरेन, बेवास्ता गरियो, पार्टी नेतृत्व गलत बाटोमा गयो ।’ स्वेच्छिक अवकाश लिँदा ल्याएको ६ लाख रुपैयाँ विदेश जाँदा र घरखर्चमा सकिएपछि भित्रीकोटी अहिले आर्थिक संकटमा छन् । ३ छोरी र १ श्रीमतीसहितको परिवार धान्न पनि उनलाई धौ–धौ छ । भित्रीकोटीले युद्धमा लडेका साथीहरूलाई पार्टी र सरकारले रोजगारी दिलाउनुपर्ने माग गरे । ‘हिजो लडेका, दुःख पाएका साथीहरूलाई व्यवस्थापन गर्नुपर्छ, रोजगारी दिनुपर्छ,’ उनले भने, ‘पार्टी राजनीतिमा पनि हामीलाई विशेष अवसर दिनुपर्छ ।’ उनले आफूजस्ता हजारौँ साथीहरू अहिले समस्या रहेको सुनाए । मुत्युसँग पनि सम्झौता गरेर हिजो लडाइँमा होमिएका भित्रीकोटीको समस्याग्रस्त जीवनप्रति कसैको चासो छैन ।
हिजो भीषण लडाइँहरूमा आफ्नो नेतृत्वको सुरक्षार्थ खटिने भित्रीकोटी आज आफैँ असुरक्षित छन् । परिवर्तन आउने, सबै समान हुने, दुःखी, गरिबको दिन आउने सपना देखेर आफू पार्टी संगठनमा लागेको उनले सुनाए । सैन्य क्षेत्रमा काम गर्दाताकाका साहसपूर्ण इतिहास र सम्झनाहरू उनीसँग छन् । ‘३२ वटा लडाइँ लडेँ, सबैभन्दा ठूलो म्याग्दी बेनीको थियो,’ भित्रीकोटीले सम्झिए, ‘सबैभन्दा कठिन लडाइँ जुम्लामा भएको थियो ।’
०६० सालतिर दाङ, पाल्पा र प्युठानको सीमामा पर्ने धानखोलामा ३ जना विपक्षी सैनिकसँग एक्लै लडेर बच्न सफल भएको पनि उनले सुनाए जुन घटना उनको जीवनकै सबैभन्दा स्मरणीय बनेर रहेको छ । भित्रीकोटीले अहिले उपराष्ट्रपति रहेका नन्दकिशोर पुन ‘पासाङ’को नेतृत्वमा म्याग्दीको लडाइँमा ‘कम्पनी कमान्डर’ भएर काम गरेको पनि स्मरण गरे । साहसी र निडर भएकै कारण उनलाई तत्कालीन सैन्य नेतृत्वले ‘अथक’ उपनाम राखिदिएको रहेछ । ‘म दृढताका साथ लड्ने र सितिमिति थाक्दैनथाक्ने भएकाले मेरो नाम अथक राखिएको हो’, भित्रीकोटीले भने । उनले आफ्नो राजनीतिक गुरु वर्तमान नेकपा (माओवादी केन्द्र) बागलुङका संयोजक चन्द्रबहादुर बुढा ‘सागर’लाई मान्छन् । यस्तै, राजनीति र पार्टीमा लाग्ने प्रेरणा उनले आफ्नै गाउँका कर्ण परियार र डिलबहादुर परियारबाट पाएका हुन् ।
उनको गाउँ मल्म–६ सिरवारेका २० जना भन्दा बढी युवा तत्कालीन सशस्त्र युद्धमा होमिएका थिए । युद्धकै क्रममा उनले आफ्ना कैंयन सहकर्मीलाई गुमाए । आफूलाई लड्न सिकाउने बागलुङ ताराखोलाका ‘विलक्षण’ नामका सहयोद्धालाई उनले विशेष रूपमा स्मरण गर्छन् जसलाई उनले सँगै युद्ध लड्दा गुमाएका थिए ।
०६३ मा सैन्य शिविरभित्रै उनले आफ्नै सहकर्मी सुनीकला घर्तीलाई विवाह गरेका थिए । २४ वर्षीया श्रीमती सुनिकलासँगै ६ वर्षीया छोरी आयुषा, ४ वर्षीया लाजिम र १८ महिनाकी सुजलसँग उनी बस्दै आएका छन् । आउँदा दिनमा समाजका लागि केही गर्ने धोको उनमा छ । जीविकोपार्जनसँगै परिवारको व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ताले उनलाई पिरोलेको छ ।
‘सानोतिनो रोजगारी मिलेमा यही केही गर्ने सोच छ, सामाजिक काममा लाग्ने सोच छ,’ भित्रीकोटीले भने, ‘जिल्ला पार्टी नेतृत्वले अवसर र ठाउँ दियो भने संगठनमा पनि सक्रिय भएर लाग्ने विचार छ ।’ भलिबल र ‘मार्सल आर्ट’को राम्रो खेलाडीसमेत रहेका भित्रीकोटीले पार्टीको खेलकुद विभागबाट विभिन्न समयमा राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि भाग लिएका रहेछन् ।
प्रतिक्रिया