गुरुङ भाषाका आदिकवि हर्कबहादुर

Lala Gurung copy

तमू (गुरुङ) जातिका पहिचान भाषा पनि हो । भाषा बोलेर बाँच्ने हो । तर बोल्नेहरुमध्ये ती भाषालाई दैनिक जीवनमा हरेक किसिमले प्रयोग गरेका हुन्छन्, जसरी तमू क्योइ (गुरुङ भाषा) बाँचिरहेको छ । ऊ बेला पोखराको ढुंगेसाँघुमा माघे संक्रान्तिमा धुमधाम मेला लाग्थ्यो । मेला भर्न कास्की, तनहुँ, स्याङ्जातिरका गाउँहरूबाट पनि मानिसको धुइरो लाग्थ्यो । मानिसको भीडका बीचमा तिलका गेडा राख्ने ठाउँ पनि हुँदैनथ्यो । साथीहरू एकआपसमा छुट्ने र हराउने डर हुन्थ्यो । त्यसैले गाउँबाट झरेको गुरुङ युवायुवतीहरू चप्पल हातैमा बोकेर एकअर्काको हात समातेर हिँड्थे । त्यस्तो दृश्य देख्दा सहरमा हुर्केका खासगरी व्यापारी समुदायले निकै खिसी गर्थे ।

तमू क्योइ (गुरुङ भाषा)लाई गाएर जनजनका मनमनमा पु¥याउने व्यक्ति हुन्, गुरुङ आदिकवि हर्कबहादुर गुरुङ । जसलाई ‘साल्मे माइला’ भनेर समाजमा चिनिन्छन् । वर्तमान तमुवानका एक झर्रा स्रष्टा जसले तमू भाषालाई जगाएनन् मात्र उनी अजर अमर बनेका छन्, समुदायमा । हामी उनलाई सम्झिरहन्छौँ । स्याङ्जा फेदीखोला साल्मेमा जन्मे, हुर्के हर्कबहादुर गुरुङ । वि.सं १९९३ साल माघ ११ गते देवबहादुर गुरुङ र बुद्धिश्री गुरुङको माहिलो छोराका रूपमा जन्मिएका हुन् । उनी सानैदेखि पढाइमा रुचि राख्थे ।

हर्कबहादुर छिमेकी गाउँ दामगाडेमा ३ कक्षासम्म पढेपछि उनी थप अध्ययनका लागि पोखरा झरे, २०११ सालमा । पोखरामा उनी नेशनल मल्टिपर्पोज कलेजमा भर्ना भए र ८ कक्षासम्म त्यहीं पढे । पोखरामा पढ्दाताका नै हो उनले गुरुङ जागरण गीतको रचना गरेको । ‘योर क्हासी आप्रोदो..’ (हात समाएर नहिँड्नू..) त्यतिबेलै रचिएका गीत हुन् । मेलामा हात समातेर नहिँड । केही सिक । सभ्य बन्ने प्रयास गर भनेर ।

गुरुङ आदिकवि हर्कबहादुरको पुस्तक कृति हिसाबले एउटै संग्रह छ– ‘गुरुङ लोकगीत ।’ यो पुस्तक पहिलोपटक २०१६ सालमा प्रकाशनमा आएको थियो । करिब तीन दर्जन गुरुङ भाषाका गीत समावेश थिए भने एउटा चाहिं नेपालीमा । त्यसमा दोस्रो संस्करण २०२२ सालमा छापियो । पहिलो संस्करण अप्राप्य छ । ‘यो मेरो द्वितीय प्रयास हो । योभन्दा पहिले तपाईहरुको समक्ष एउटा सानो गुरुङ लोकगीत पेश गरेको थिएँ । फेरि त्यसैमा केही नयाँ रचनाहरु थपेर तपाईहरु समक्ष पेश गरेको छु । यो सानो लोकगीत संकलबाट समाज सुधार होस् भन्ने हेतुले जानी नजानी कलम चलाएको हुँ । कारण जुन देश अथवा समाजमा कुएको परम्परा र पुरानो मनोवृत्तिले स्थान पाएको छ । त्यो देश अथवा समाजले प्रगति र उन्नति गर्न सक्तैन जुन कुराको मानव इतिहास साक्षी छ ।’ दोस्रो संस्करणमा हर्कबहादुर गुरुङले भूमिकामा लेखेका छन्, ‘कुनै देशको मूल साहित्य सर्वांगिण विकासको लागि प्रत्येक जाति र समाजको संस्कृति र साहित्यको विकास हुनुपर्दछ । तसर्थ म यो आशा गर्दछु कि यो मेरो सानो ‘गुरुङ लोकगीत’ संकलन नेपाली साहित्य रुपी मन्दिर सिंगारिन केही न केही काम गर्नेछ ।…..’

Aadikavi Harka Bdr Gurung copyउनले चर्चित गीत ‘क्युदे थुलेन दुःख म्हन’ २०१२ सालताका रचना गरेका हुन् । गुरुङ समुदायमा मामाचेली–फुपूचेला विवाह एक किसिमले बाध्यात्मक थियो । एकआपसमा मन नमिले पनि बाबुआमाको करबलमा विवाह बन्धनमा बाँधिनुपर्ने बाध्यता थियो । खासगरी लाहुरबाट भान्जा आउनेबित्तिकै छोरी दिने चलन थियो । छोरीहरू पीडित थिए । बिना चिनजान, आनीबानी थाहा नपाई र छोरीको स्वीकृति बेगर जबर्जस्ती विवाह नगराइदेऊ भन्ने आशयमा उनले यो गीत रचेका हुन् । २०१६ सालमा उनी राजधानी काठमाडौं हानिए र जुद्धोदय पब्लिक हाइस्कुलमा भर्ना भए । त्यसैबेला उनले तत्कालीन समयका स्वास्थ्य उपमन्त्री नरबहादुर गुरुङको सहयोगमा गुरुङ गीति संग्रह ‘क्युदे थुलेन’ प्रकाशित गरे । संग्रहमा साढे तीन दर्जन गीत थिए । अनि २०१७ सालमा रेडियो नेपालमा गीत पनि रेकर्ड गराए, सुनिमाया, ठाडोभाका, यानीमाया आदि ।

२०१८ सालमा एसएलसी गरेर उनी गाउँ फर्किए । दामगाडेमै २ वर्ष प्राथमिक विद्यालयको प्रधानाध्यापक भई अध्यापन गरे । पछि २०२२ सालमा उनी भूमिसुधार कार्यालयका जागिरे भए । त्यसपछि उनको गीत लेखन र गायन थप अघि बढ्यो । नापीका लागि गाउँघर घुम्दा उनी भाका हालेर गाउँथे । स्वर पनि मीठो भएकाले उनले गीत गाउँदा मानिसहरू ध्यानमग्न भएर सुन्थे । उनका कतिपय जागरण गीत सुनेर मानिस धुरुधुरु रून्थे पनि । उनीको गीतिसंग्रह ‘क्युदे थुलेन’ दोस्रोपटक ईश्वरबहादुर गुरुङले २०२२ सालमा प्रकाशित गरिदिए । ‘क्युदे थुलेन’ तेस्रोपटक चाहिँ २०५७ सालमा पोखराको ‘तमू युवा सांस्कृतिक परिवार’ले प्रकाशित गरिदियो ।

२०४३ सालमा जागिरबाट अवकाश पाएपछि उनी गाउँमै फर्किए । हुन त त्यसबेला उनको पोखरामा बस्नसक्ने हैसियत भइसकेको थियो तैपनि गाउँमै केही गर्नुपर्छ भनेर उनी गाउँ फर्किएका थिए । जागिरबाट अवकाश लिएपछि उनी फेदीखोला बौद्ध सदनको सचिव बने । विशुद्ध सामाजिक सेवाभावले उनले सदनमा रहेर १३ वर्ष सचिवको रूपमा  सेवा  गरे ।

साढे पाँच दशकअघि नै गुरुङ भाषामा जागरण गीत गाउँदै गाउँघर चहारेका हर्कबहादुर गुरुङलाई गुरुङ आदिकविको सम्मान र पदवी चाहिँ २०५८ सालमा तमू सांस्कृतिक प्रतिष्ठानले भिराइदिएको हो । त्यसपछि उनी तमू बौद्ध सेवा समितिलगायत धेरैवटा संघ–संस्थाबाट गुरुङ आदिकविका रूपमा सम्मानित भए । पुरस्कृत भए । तमू युवा संघ काठमाडौंको व्यानरमा लाला गुरुङले उनको जीवनकथामा आधारित रहेर ‘ङ्योए ओंसो क्वे प्रिब म्हि’ वृत्तचित्र नै निर्माण गरे । वृत्तचित्र निर्माणसँगै संघले २०६१ सालमा उहाँको जन्मदिनका अवसर पारेर जन्मदिन पनि मनाएको थियो । त्यसैगरी आदिकवि हर्क जीवित छँदै तमू ‘गुरुङ’ सञ्चारकर्मी संघले २०६६ देखि जन्मदिनको अवसरमा साहित्यिक कार्यक्रमको थालनी गरेको थियो । आदिकवि गुरुङको २०६७ सालमा निधनपछि उक्त कार्यक्रम जन्मजयन्तीका मिलिजुली तमु समाजको आयोजनामा मनाइदै आएको छ । २०७३ माघ ११ गतेबाट ‘आदिकवि हर्कबहादुर गुरुङ प्रतिष्ठान’समेत घोषणा हुने तयारीमा छ ।

आदिकवि हर्कबहादुर गुरुङको २०६७, १ साउन काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भयो । अहिले उहाँको भौतिक शरीर हामीमाझ छैन । तर विश्वभरिका तमु समुदायले उनको योगदानलाई सम्झिरहेका छन् । उनका कृति र देनले उनी अमर छन् । एक आदिकवि र समाज सुधारकका रुपमा सम्झिरहन्छन् । आदिकवि हर्कबहादुर गुरुङको जन्मजयन्ती मनाइरहँदा उनका बारेमा बृहत् अध्ययन, अनुसन्धान र कृतिहरु प्रकाशन हुनुपर्ने देखिन्छ । यसका निम्ति देश–विदेशमा रहेका तमूजन्य संघसंस्थाहरुको पहल जरुरी छ । त्यत्तिकै मात्रामा राज्यले गुरुङ आदिकविको सम्मान जगाउनु सक्नु आजको आवश्यकता हो ।

प्रतिक्रिया