‘मुम्बईमा बसेका बेला साथीभाइको लहलहैमा लाग्दा एचआइभी संक्रमित भइएछ, थाहै भएन ।’ झन्डै १४ वर्ष मुम्बईमा काम गरेर फर्किएका कैलालीको गोदावरी गाविसका दिलबहादुर ओडले निसंकोच यस्तो जवाफ दिए । बिरामीले थला परेको खबर पाएपछि गएकी श्रीमती बिन्द्राले घर फिर्ता ल्याएर रगत जाँच गराउँदा उनमा एचआइभी संक्रमित भएको पत्ता लाग्यो ।
लगत्तै श्रीमती बिन्द्रालाई समेत संक्रमित भएको पत्ता लाग्यो । सन्तान नभएका ओड दम्पत्ती हाल नियमित रूपमा रोगको प्रतिरोधी क्षमता बढाउने एआरटी औषधि खाइरहेका छन् । एकपछि अर्को गर्दै गोदावरी क्षेत्रमा एचआइभी संक्रमित बढ्न थालेपछि उनीहरूको हकहितका साथै रोगको रोकथामका लागि केही काम गर्ने उत्प्रेरणा सो क्षेत्रका संक्रमितमा जाग्यो र फलस्वरूप गोदावरी प्लस नामको संक्रमितको संस्था स्थापना भयो ।
‘संक्रमित बढ्न थालेपछि संस्थामार्फत पहिले आफू खुल्ने, त्यसपछि अरू संक्रमितलाई पनि खुलाउने अभियानमा लागेका छौँ,’ संस्थाका अध्यक्षसमेत रहेका ओडले भने, ‘यसले गर्दा संक्रमण भएपछि लुकाएर राख्ने प्रवृत्ति हट्न थालेको छ ।’
संक्रमितहरूको स्वास्थ्य अवस्था बुझेर गाउँमा रोग रोकथाम र संक्रमितको उपचारको बारेमा समूह बनाएर नै छलफल गर्ने, लुकेर बसेकाहरूको खोजी गरी उनीहरूलाई औषधि नियमित रूपमा खान सल्लाह दिनेलगायत क्रियाकलाप संस्थाले गर्दै आएको छ । जिल्लामा गठन गरिएको यो संस्थासहित छिमेकी अर्को गाविस मालाखेतीमासमेत गठन गरिएको ‘मालाखेती प्लस’ संक्रमितहरूको स्वास्थ्य उपचारमा सक्रिय रहँदै आएको छ । गोदावरी प्लसमा १ सय ५२ जना र मालाखेती प्लसमा झन्डै ४० जना संक्रमितहरू सदस्य छन् ।
चुरे पहाडको फेदमा जिल्लाको पश्चिमी सीमाको गाविस गोदावरीमा एचआइभी एड्सको समस्या बढ्दै गएको देखिएपछि रोकथामका लागि अभियान थाल्नुपर्ने चेतना जागेको संक्रमितहरूको भनाइ छ । गोदावरीमा मात्रै करिव ५ सय संख्यामा एचआइभी संक्रमित रहेको अनुमान गरिएको छ । तर, यसको आधिकारिक तथ्यांक भने कसैसँग छैन ।
रोगका बारेमा गोदावरी प्लसलगायत संस्थाले सञ्चालन गरेको चेतनामूलक अभियानसँगै रोग लुकाएर राख्नेहरू पहिलेभन्दा खुल्न थालेको स्थानीय युवक सुरेश कुँवरले आफ्नो अनुभव सुनाए ।
‘अधिकांश संक्रमित युवा कामको खोजीमा तीन÷चार महिनाका लागि औषधिको जोहो गरेर भारत जान्छन्,’ कुँवरले भने, ‘यसले गर्दा गाउँमा युवा उमेरका मानिस भेटाउन गाह्रो भएको छ ।’ यसरी भारत जानेहरूले औषधि सकिएपछि पुनः औषधि लिन घर फर्किने गरेको बताइएको छ ।
गाउँमा ‘नयाँ रोग’ र ‘बम्बैको रोग’ को नामले एचआइभीलाई चिन्ने गरिन्छ । एचआइभी एड्सकै कारण कसैको मृत्यु भएमा नयाँ रोग वा बम्बैको रोगले मृत्यु भएको भनेर छरछिमेकीहरूलाई खबर गरेर मृतकको अन्तिम संस्कार गर्ने गरिन्छ ।
एड्सकै कारण गोदावरीमा मात्रै अहिलेसम्म १४÷१५ जना बालबालिकाका बुबाको मृत्यु भएपछि ती बालबालिकाको हेरचाह संक्रमित विधवा आमाले गरिरहेका छन् । यी कतिपय बालबालिकाको शिक्षाका लागि उद्धार नेपाल नामको गैरसरकारी संस्थाले सहयोग गरिरहेको छ । तर, यस्ता बालबालिकाको उचित शिक्षा र स्वास्थ्य उपचारको सन्दर्भमा नियमित रूपमा रेखदेख गर्नेतर्फ कसैको ध्यान नपुगेको बताइएको छ ।
सेती अञ्चल अस्पताल धनगढीको परिसरमा सञ्चालनमा रहेको एआरटी सेन्टरमा मात्रै जिल्लाका ६ सय २५ जना एचआइभी संक्रमितले हाल एआरटी (एन्टी रेक्टोभाइरल थेरापी) औषधि नियमित सेवन गरिरहेका छन् ।
यो औषधि सेवन गर्नेहरूमा २० देखि ४५ उमेर समूहका व्यक्ति बढी रहेको एआरटी फाँटका प्रमुख लोकराज पनेरुले बताए । असुरक्षित यौन सम्पर्क, लागुपदार्थको दुव्र्यसन, रगत वा अंग प्रत्यारोपण गर्दा यो रोगको संक्रमण हुने गरेको बताइन्छ । यसबाहेक संक्रमित आमाबाट जन्मिने बच्चामासमेत यो रोगको संक्रमण हुने गरेको स्वास्थ्यकर्मीको भनाइ छ ।
एड्सबाट पीडित पुरुषको एआरटी औषधि खान नपाउँदै मृत्यु हुने गरेपछि बढी संख्यामा तिनका श्रीमती एकल महिलाहरू नै एआरटी औषधि खान आउने गरेको बताइएको छ । शरीरको रोग प्रतिरोधात्मक अवस्था पत्ता लगाउन ‘सिडी फोर’ मेसिन र एचआइभी भाइरसको संख्या पत्ता लगाउने र ‘भाइरल लोड’ मेसिनको व्यवस्था एआरटी सेन्टरमा रहेको छ । रोगबारे भएको जनचेतना अभिवृद्धिसँगै संक्रमितहरूको संख्या पछिल्लोपटक घट्दो रूपमा रहेको पनेरुले बताए । यो रोग रोकथाम र उपचारमा कैलालीमा १० भन्दा बढी संस्था कार्यरत रहेका छन् । तर, अधिकांश संस्था निस्क्रिय अवस्थामा रहेको बताइएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी मोहनदेव भट्टले कैलालीमा रोग रोकथाम तथा उपचार कार्यक्रम सुरु भएदेखि हालसम्म १ हजार १ सय जना संक्रमितहरूले टीकापुर र धनगढीमा रहेको एआरटी सेन्टरमार्फत औषधि खाइरहेको जानकारी दिए । संक्रमितमध्ये हालसम्म २ सय ४८ जनाको मृत्यु भएको छ ।
यो रोग रोकथामका लागि नेपालमा सन् २०१६ देखि २०२१ सम्मका लागि ‘फास्ट ट्रयाक टार्गेट’ (द्रुतमार्ग लक्ष्य) सहितको योजना बन्न लागेको कार्यालयका एचाइभी फाँटका प्रमुख महेश चन्दले बताए । यो योजनाअन्तर्गत ‘९०–९०–९०’ को रणनीति बनाउन लागिएको छ । रणनीतिमा पहिलो ९० अंकले अबको शंकास्पद जनसंख्याको ९० प्रतिशत जनसंख्यालाई एचआइभीको परीक्षण गराउने भन्ने बुझिन्छ । यस्तै दोस्रो ९० अंकले एचआइभी संक्रमितमध्ये ९० प्रतिशतलाई एआरटी सेवा उपलब्ध गराउने र तेस्रो ९० अंकले एआरटी सेवा लिनेहरूमा भाइरल लोड (जीवाणु दर घटाउने) भन्ने बुझिन्छ ।
प्रतिक्रिया