सानो छँदा गाउँमा स्कुले केटाकेटीपन थियो । जे पनि हेरिहाल्नुपर्ने । कतैबाट पत्रपत्रिका, किताब आयो भने पढिहाल्नु पर्ने । सायद त्यही जिज्ञासाले डो¥याएर आज पत्रकारिताको विद्यार्थी बन्न पाइएको छ । गाउँमा पढ्दैखेरी एकचोटि किराती भाषाको पत्रिका आयो । त्यो पत्रिकामा किरात सम्वत् नयाँ वर्षको चर्चा थियो । राजधानी छिरेपछि थाहा भयो– माघ महिनाको पहिलो दिन यो संवत्को नयाँवर्ष मनाइँदो रहेछ । गाउँघरमा नदीको दोभानमा गएर जात्रा भर्ने चलन छ । घरतरुल, वनतरुल, सिम्बलतरुल, सुठुनीजस्ता कन्दमुल खाएर माघेसंक्रान्ति मान्ने गरिन्छ । वास्तवमा यो किरातकालका प्रवर्तक हाङ यलम्बरको सम्झनामा मनाउने गरिएको रहेछ ।
समाजमा यो संवतको महत्व फरक किसिमले उजागर गरेको पाएँ । किरात राई यायोक्खाले ०७० माघ १ गते भाषाशास्त्री प्राध्यापक डा. नोवलकिशोर राईलाई १ लाख ११ हजार १ सय ११ रूपैया“ नगदसहितको ‘किराया यलम्बरहाङ स्मृति पुरस्कार’ प्रदान गरेको समारोहमा सहभागी भएपछि यो संवत्ले मेरो ध्यानाकर्षण गरेको हो । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति बैरागी काइँलाले पुरस्कार प्रदान गर्नुभएको थियो । काइँलाले किरात येले संवत्को चर्चा गर्नुभएपछि थप जान्ने अवसर मिल्यो । अनि सामाजिक संजाल फेसबुकको वालमा किरात येले संवत्को शुभकामना आदानप्रदान भएको पाउँदा किराती युवामाझमा विस्तारै लोकप्रियता बढेको अनुभूति भइरहेको छ । सामाजिक संजालले आपसी सद्भाव साटासाट गर्न सहज बनाएको छ । त्यसमा हामी किरातीहरूको पहिचानसित जोडिएको किरात येले संवत् प्रचलनलाई अझ व्यापक हुँदै गएको महसुस भइरहेको छ । देश–विदेशलाई जोड्ने सेतुको काम पनि गरेको छ ।
समाजमा किरात येले संवत् दुई किसिमको मिति उल्लेख भएको पाएकी छु । किराती वाम्बुले भाषामा प्रकाशित पत्रिका ‘लिब्जु–भुम्जु’ त्रैमासिक पत्रिकामा (०७३ कात्तिक–पुस) अंकमा किरात येले संवत् ३७९५ उल्लेख छ । अर्को, किराती बान्तावा भाषामा प्रकाशित ‘बुङ्वाखा’ मासिक पत्रिका (०७३ मंसिर) अंकमा किरात येले संवत् ५०७६ उल्लेख छ । यी दुई पत्रिकाका सम्पादक दुवैजना किरात राई पत्रकार संघका संस्थापक अध्यक्ष गणेश राई र उपाध्यक्ष पदम राई हुन् । दुवै मातृभाषाका अभियन्ता हुन् । तर, किरात येले संवत्को प्रयोगचाहिँ फरक मिति उल्लेख भएको पाइएको छ ।
यसमा यथार्थ यस्तो रहेछ– ०३० सालतिर देखि किरात संवत् भनेर यो संवत् प्रचलनमा लाइएको रहेछ । दार्जिलिङ र सिक्किमबाट किरात संवत्को प्रचलन सुरु भएको हो । बैरागी काइँलाका अनुसार संवत् प्रयोगमा दार्जिलिङभन्दा ४० कम्ति अर्थात् येले तङ्बे ५०४९ भनेर उल्लेख थियो । त्यही संवत्लाई नेपालका सामाजिक संस्थाले आफ्नो प्रकाशन उल्लेख गर्दै आएका हुन् । नेपालमा किरात याक्थुङ चुम्लुङले भित्तेपात्रामा उल्लेख गरेपछि क्रमशः किरात राई यायोक्खा, सुनुवार सेवा समाज, किरात याक्खा छुम्मालगायत संस्थाले आफ्नो प्रकाशनमा उल्लेख गर्दै आएका छन् । तर, यो संवत्लाई इतिहासका आधारमा प्रमाणित भइसकेको छैन ।
त्यसैले बैरागी काइँलाको संयोजनमा ०६६ कात्तिक २८–२९ गते राजधानी काठमाडौंमा ‘किरात यÞेलÞे संवत् अन्तर्राष्ट्रिय विशेष विचार गोष्ठी’ भएछ । गोष्ठीमा इतिहासविद्हरूले यो किरात येले संवत्लाई पहिलो किरात राजा यलम्बरको ‘स्मारक संवत्’ का रूपमा प्रचलन गर्न सकिने निष्कर्ष दिए । जसअनुसार काल गणना गर्दा प्रयोग हुँदै आएको ५०७६ मा २ हजार वर्ष घटेर ३७९५ भएको हो भन्ने छ । त्यसैले गर्दा किराती समाजमा किरात येले संवत्का मिति फरक परेको हो । यलम्बर फाउन्डेसन (किरातोलोजी रिसर्च सेन्टर) संस्था र नेपाल प्रज्ञा प्रतिष्ठानले ०६९ जेठ २८ गते संयुक्त आयोजनामा ‘सामाजिक संस्कारको सांस्कृतिक महत्व तथा नेपालमा प्रयोग र प्रचलनमा रहेका संवत्हरूको पात्रो लेखन पद्धति’ विषयक संगोष्ठी सम्पन्न भएको थियो । संगोष्ठीपछि फाउन्डेसनले सिद्धान्तसारणीय नेपाल पञ्चांगपत्र ‘किरात येले संवत् ३७९२’ (कलिगत आधारित ५०७३) पात्रो प्रकाशन गरेको पाइन्छ । त्यसको अर्को वर्ष ‘किरात येले संवत् ३७९३’ (कलिगत आधारित ५०७४) समेत प्रकाशनमा आएको छ । तर समाजमा एकरूपमा ल्याउने काम अहिलेसम्म भएको छैन । संविधानअनुसार प्रदेश नं. १ मा यो किरात येले संवत् लागू हुनुपर्छ । त्यसैले यसबारे बृहत् वहससहित एकरूपता ल्याउन जरुरी छ ।
वास्तवमै, मानव विज्ञानको सुरुआत २६ लाख वर्षअघि भएको हो । अस्तित्वको इतिहास त्यहीँबाट अघि बढेको हो । सत्य र तथ्य थाहा पाउन समय लाग्दोरहेछ । मानव विकासको उत्पत्ति कथा आ–आफ्नै छन् । सामाजिक मूल्यमान्यता, धार्मिक आस्थाले निर्देशित गरेको मानव उत्पत्तिका कथाहरू छन् । मिथकहरू पाइन्छन् । तर, सन् १९२४ मा रेमन्ड डार्टले अफ्रिकाको टाउङमा खप्पर फेलापारेपछि मानवको पुर्खा ढेडु बाँदर हो भन्ने सत्य आजसम्म कायम छ । आज इतिहासविद्हरूको खोपडीमा यलम्बरको खप्पर कहिले कुन कालको थियो भने पत्तालगाउनु पर्ने चुनौती थपिएको छ । समाजलाई भ्रमबाट मुक्ति दिलाउनका निम्ति प्रामाणिक इतिहासलाई सबै सामू छर्लंग पार्न अहिलेको आवश्यकता हो ।
(लेखिका किरात राई लेखक संघको कार्यकारी सदस्य हुन् ।)
प्रतिक्रिया