इँटाभट्टामा अडिएको जीवन

मोरङको भौडाहा–९ मा मात्र विराट, अंकित, उत्सव, अम्बे, हिमाल, एसिसी, जनता तथा आकाश नामका इँटाहरू उत्पादन हुन्छन् । यी भट्टामा झन्डै ३ हजारको हाराहारीमा बहुसंख्यक भारतीय कामदार छन् । काम गर्नेमा ससाना बालबालिका र महिला बहुसंख्यक छन् भने इँटाभट्टाभित्रको अवस्था भयावह र कहालिलाग्दो छ ।

माघको कठ्यांगिँ्रदो जाडो । एकाबिहानैदेखि माटोमा काम गर्नुपर्ने उनीहरूको बाध्यता हो । त्यही भट्टाभित्र रुमल्लिएको एउटा बस्तीको कथा निक्कै दर्दनाक छ । दैनिकरूपमा माटोसँग खेलिरहेका इँटाभट्टामा धेरै आमा र बालबालिका छन् । कोही आफ्नो बच्चासहित भट्टामा काम गर्न आएका त कोही सेतै कपाल, दाह्री पाकिसकेका वृद्वसँग । करिब १०–११ वर्षका बालबालीकासमेत सो भट्टामै काम गरिरहेका छन् । धेरैको पीडा एउटै छ थोरै भए पनि रकम जम्मा गर्नु अनि परिवार पाल्नुपर्ने । इँटाभट्टामा गुजारा चलाउने बहुसंख्यक नेपालीभन्दा भारतीय मूलका नागरिक रहेका छन् । उनीहरू हरेक वर्षको ६ महिना नेपालका इँटाभट्टामा आएर काम गर्छन् । त्यहीँबाट आफ्नो जीविका चलाउँछन् । यसरी आउनेमा हजुरआमादेखि नातिपनातिसम्मका पूरै पुस्ताको दैनिकी इँटाभट्टामा बित्छ । सो भट्टामा धेरै आमा आफ्ना बच्चाको अवस्थाका बारेमा

छट्पटाइरहेका थिए । कोही आज त काम गरियो भोलि के खाने भनेर दुःखसुख गरी जीवन गुजारा गर्नु उनहरूको जीवनचर्या नै हो । यही भट्टाभित्र धेरै इँटाका घर छन् जहाँ उनीहरू काम गर्दाको अवधिभर सजाउँछन् । सो भट्टा भित्रको बस्तीमा धेरै काम गर्ने कामदार बुबाआमाभन्दा पनि उनीहरूका बच्चाहरू छन् । धेरैका पीडा आफ्नै छन् । २४ वर्षीया हस्दा विवी आफ्नो ३ वर्षीय बिरामी छोरो लिएर काम गर्दै छन् । उनी भन्छिन्, ‘छोरा बिरामी भएको ३ दिन बित्यो उपचार गराउन सकिएको छैन ।’

माघको कठ्यांग्रिँदो जाडोको बीचमा बाबुनानीसहित माटोको काम गर्दा ती बाबुनानीलाई त्यही चिसो भुइँमा सुताएर काम गर्नुपर्ने बाध्यता उनले सुनाए । यी भट्टाभित्र काम गर्ने धेरै भारतीय कामदारलाई औषधि उपचार गर्न लैजानका लागि कुनै ठाउँ थाहा छैन । गाडीले ल्याएर सिधै इँटाभट्टामा छाडिदिएपछि फर्किनका लागि गाडी आउँछ, अनि त्यही गाडीमा फर्कन्छन् । एक त नयाँ ठाउँ, अनि अर्को समस्या गाउँ नजिकै छ्रैनन्, औषधि उपचार गर्नका लागि सहज ठाउँ छ्रैन ।

मानवीयता खोज्दै गरेका यी भट्टाका बालबालिका र महिलाका बारेमा बोलिदिन कोही पनि पुग्दैनन् । अनि अधिकारका कुरा उठाउने पनि भारतीय बालबालिका भनेर तर्कन्छन् । यसरी काम गर्ने कामदारको नेपाल आएर इँटा बनाउने काम गरेको वर्षौं बितिसकेको छ । एउटा इँटाभट्टामा काम गर्ने भारतीय कामदार ५ सयभन्दा बढी छन् । त्यसरी काम गर्नेहरू आएर ६ महिना नेपालमा काम गर्ने अनि ६ महिनापछि फर्कने गर्छन् । उनीहरू ६ महिनाको अवधिमा प्रतिव्यक्ति झन्डै १ लाख ६० हजार रुपैयाँ कमाउँछन् अनि फर्कन्छन् । कुच विहार भारतका अहिद अली मियाँले सबै परिवारलाई भट्टामा ल्याएर काम लगाएका छन् । ‘फर्किने बेलासम्म १ लाख भारतीय अर्थात् नेरु १ लाख ६० हजार रुपैयाँ कमिन्छ ।’ उनले भने ।

यसरी उद्योगमा काम गर्ने बालबालिकादेखि वृद्धसम्मका रहेका छन् । उनीहरूभन्दा भारतीय भनिए पनि स्पष्ट हिन्दीसमेत बोल्न जन्दैनन् । उनहरू बंगाली भाषा बोल्ने गर्छन् । भट्टाभित्रका नेपाली कामदारसँग पनि तालमेल पनि मिल्दैन । बाहिरबाट देखिने इँटाभट्टाभित्रको अवस्था दर्दनाक र कहालीलाग्दो छ । यहाँ ठूलो बस्ती छ । यही बस्तीमा उनीहरू आफ्नो जिन्दगी र भविष्य खोजिरहेका छन् । माटो, हिलो अनि धुलोका बीचमा आफ्ना स–साना लालाबालालाई आफ्नो जीवन जिउने आधार सिकाउँदै छन् ।

मोरङका इँटा उद्योग भारतीय कामदारको भरमा चलेका छन् । उनहरूको कमाइ भने त्यति निराश भइहाल्नुपर्ने अवस्थाको छैन । १ हजार इँटा बनाएवापत उनीहरूले भारु ४ सय ५० रुपैयाँ परिश्रमिक पाउँछन् । एउटा परिवारले दैनिक २ हजार ५ सयदेखि ३ हजारसम्म इँटा बनाउँछन् । जति इँटा बनाउन सक्यो उति नै आम्दानी गर्न सकिने कामदार बताउँछन् । भारत कुच विहारबाटै आएका राहुल मियाँ भन्छन्, ‘गरिबीको कारण परिवारै नेपाल आउनु परेको हो ।’

प्रतिक्रिया