ईश्वरको दर्शन

आँखा हुनेहरूले मात्र देख्तैनन्, आँखा नहुनेहरूले पनि देख्छन् । त्यसैले, आँखा नहुनेहरूलाई अन्धो भन्नु हाम्रै अज्ञानता हो । चर्मचक्षु हुँदैमा सबै चीज देख्न पनि सकिँदैन । संसारका हरेक प्राणीहरूमा आँखाले समान दृष्टि राख्न नसक्ने भएकाले चर्मचक्षुले पक्षपात गर्दछ । चर्मचक्षुले पक्षपात नगर्दो हो त आँखामा पट्टी बाँधेर तराजु लिएको चिह्न न्यायालयको प्रतीक बन्न सक्तैनथ्यो । तसर्थ, पक्षपातपूर्ण व्यवहार नगर्ने ज्ञानचक्षु नै चर्मचक्षुभन्दा महान् हुन पुगेको हो । हामीहरू ताते ताते गर्न नपाउँदै र राम्ररी बोली फुट्न नपाउँदै ज्ञानको मार्गमा अग्रसर त हुन्छौँ, तर ‘झन् झन् बुभ्mयो झन् कठिन’ भनेर ज्ञानी बन्न हिँडेको मार्गलाई हामीले छाडिदिन्छौँ । हामीले चर्मचक्षुले देखेको कुरामा विश्वास गर्छौँ र चर्मचक्षुले देख्न नसकेका विषयलाई हामीले भ्रम वा आडम्बर ठान्न पुग्छौँ । साकारबाट निराकारको यात्रामा लम्किनुपर्नेमा हाम्रो हिँडाइ साकारमा मात्र सीमित रहिदिनाले हामीले निराकार ईश्वरको दर्शन गर्न नसकेका हौँ । हामीभित्र अनन्त शक्ति छ, तर त्यसलाई जगाउने क्षमता हामीमा छैन । त्यसका लागि हामीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा ईश्वरीय दर्शन र प्रेरणा आवश्यक हुन्छ ।

युद्धमैदानमा होमिएका अर्जुन एकाएक युद्धबाट विमुख भएपछि उनलाई श्रीकृष्णले क्रमशः शक्ति प्रदान गर्दै आएका छन् । यसै सन्दर्भमा अर्जुनले ईश्वरको महिमावर्णन सुने पनि उनका दिव्य र अविनाशी रूपलाई प्रत्यक्ष रूपमा दर्शन गर्न नपाएका कारण उनले श्रीकृष्णसँग त्यस्तो रूप देखाइदिन अनुरोध गरेका हुन् । तदनुसार श्रीकृष्णले आफ्ना सयौँ हजारौँ वर्ण र आकृतिका रूपहरूमात्र होइन, आपैmँमा विद्यमान द्वादशादित्यका पुत्रहरू, अष्टवसुहरू, एकादश रूद्रहरू, दुवै अश्विनीकुमार र उनन्पचास मरूद्गणका कहिल्यै नदेखिएका आश्चर्यमय रूपलाई हेर्न निर्देशन दिन्छन् । अर्जुनले प्राकृतिक आँखाले ईश्वरीय दर्शन गर्न नसक्ने भएकाले भगवानले उनलाई दिव्य अर्थात् अलौकिक आँखा प्रदान गरेका हुन् ।

अर्जुनलाई दिव्यचक्षु दिएपछि भगवानले आफ्नो दिव्यरूप प्रदर्शन गर्दछन्, जुन दिव्यरूपमा धेरै मुख, हात, गहना र अनेकौँ शस्त्रहरू विद्यमान थिए । हजारौँ सूर्य एकसाथ उदय हुँदा प्राप्त हुनेजस्तो दिव्य प्रकाश पनि विराट् स्वरूपमा रहेको थियो । सम्पूर्ण संसार नै श्रीकृष्णको त्यो दिव्यरूपमा समाहित भएको पो हो कि भन्ने आभास पनि अर्जुनलाई भयो । दिव्यचक्षुद्वारा अर्जुनले श्रीकृष्णको शरीरमा सम्पूर्ण देवतालाई, भूतलाई, ब्रह्मा, विष्णु, महेश्वर, सबै ऋषिहरू र सर्पहरूलाई देखे । श्रीकृष्ण अनेक हातहरू, पेट, मुख र आँखाले युक्त एवम् सबै पक्षबाट अनन्त रूपले युक्त भएको देखिए । त्यसैले, उनको न आदि न मध्य र न अन्त नै देख्न सकियो ।

श्रीकृष्ण मुकुट, गदा र चक्रले युक्त, सबैतिरबाट प्रकाशमान तेजको पुञ्ज, प्रज्वलित अग्नि र सूर्यको जस्तै प्रकाशले युक्त, कठिनपूर्वक देख्नलायक र सबैतिरबाट अप्रमेय स्वरूप देखिए । यस्तो अवस्थामा अर्जुनलाई श्रीकृष्ण नै परब्रह्म परमात्मा हुन्, जगतका आदि कारण हुन्, सनातन धर्मका रक्षक र सनातनी पुरूष हुन् भन्ने आभास भयो । श्रीकृष्ण आदि, मध्य र अन्त्यले रहित, अनन्त पराक्रमले युक्त, अनेकौँ दाँतवाला, चन्द्र र सूर्यरूपी आँखा भएका, प्रज्वलित अग्निरूप मुख भएका र आफ्नो तेजद्वारा सम्पूर्ण संसारलाई तताइरहेका जस्ता देखिए । स्वर्ग र पृथ्वीका बीचको सम्पूर्ण आकाश तथा सबै दिशाहरू श्रीकृष्णद्वारा नै परिपूर्ण छन् अनि श्रीकृष्णको अलौकिक र उग्ररूपलाई देखेर तीनवटै लोक अत्यन्त दुःखी भएका छन् । सबै देवताहरू श्रीकृष्णमै प्रवेश गर्छन् र भयभीत भएर हात जोड्दै श्रीकृष्णकै नाम र गुण गाउँछन् भने महर्षि र सिद्ध तपस्वीहरू ‘कल्याण होस्’ भन्दै अत्यन्त उत्तम स्तोत्रहरूद्वारा श्रीकृष्णको प्रार्थना गर्दछन् ।

एकादश रूद्र, द्वादशादित्य, अष्टवसु, साध्यगण, विश्वेदेव, अश्विनीकुमार, मरूद्गण, पितृगण, गन्धर्व, यक्ष, राक्षस र सिद्ध तपस्वीहरू सबै विस्मित भएर श्रीकृष्णलाई नै हेर्दछन् । श्रीकृष्णका धेरै मुख, हात, जाँघ, गोडा, ठूलो पेट र धेरै दाह्राहरू देखेर अर्जुनसहित सबै व्याकुल हुन्छन् । आकाशलाई स्पर्श गर्ने, प्रकाशमान अनेक वर्णले युक्त, पैmलिएको मुख र देदीप्यमान ठूला ठूला आँखा भएका श्रीकृष्णलाई देखेर भित्रभित्रै डराएका अर्जुन धैर्य र शान्त हुन सकेनन् । दाह्राले गर्दा डरलाग्दो र प्रलयकालको अग्निसमान प्रज्वलित श्रीकृष्णको मुखलाई देखेर अर्जुनले दिशाहरू नै पत्ता लगाउन सकेनन् र उनी भगवान् प्रसन्न भइदिऊन् भन्ने कामना गर्न पुग्छन् ।

धृतराष्ट्रका पुत्र राजवर्गसहित श्रीकृष्णमै प्रवेश गरिरहेका छन् भने भीष्मपितामह, द्रोणाचार्य, कर्ण र पाण्डवपक्षीय प्रमुख योद्धाहरू पनि श्रीकृष्णका दाह्राका कारण वेगले दौडिएर मुखमा प्रवेश गरिराखेका र कतिपय त टुक्रिएका शिरसहित श्रीकृष्णकै दाँतका बीचमा संलग्न भएका देखिन्छन् । जसरी नदीहरूको अनन्त जलप्रवाह स्वाभाविक रूपमा समुद्रतिरै गएर समुद्रमै मिल्छ, त्यसरी नै नरलोकका वीरहरू पनि श्रीकृष्णको प्रज्वलित मुखमा प्रवेश गरिराखेका छन् । जसरी पुतलीहरू मोहवश नष्ट हुनका लागि अत्यन्त वेगले प्रज्वलित बत्ती वा अग्निमा प्रवेश गर्छन्, त्यसरी नै युद्धमैदानमा होमिएका सबै योद्धाहरू अत्यन्त छिटै श्रीकृष्णकै मुखमा प्रवेश गर्दछन् । भगवान् श्रीकृष्णको दिव्यरूपको दर्शन गर्दा सम्पूर्ण लोकलाई प्रज्वलित मुखले खाइरहेको, सबैतिरबाट बारम्बार चाटिरहेको र सम्पूर्ण जगत्लाई तताइरहेको जस्तो लाग्छ ।

श्रीकृष्णको बानीव्यहोरालाई राम्रोसँग थाहा नपाएका कारण उनलाई आपूmले विशेष रूपमा जान्न चाहेको हुँदा उनको उग्ररूपबारे अर्जुनले जिज्ञासा राख्छन् । तदनुसार श्रीकृष्णले आफ्नो दिव्यरूपको आपैmँले वर्णन गर्छन् । श्रीकृष्ण नै संसारलाई नाश गर्ने महाकाल हुन् । यतिबेला श्रीकृष्ण लोकलाई नष्ट गर्न प्रवृत्त भएका छन् । तसर्थ, प्रतिपक्षी योद्धाहरू अर्जुनविना पनि रहँदैनन्, अर्जुनले युद्ध नगरे पनि ती सबैको नाश अवश्यम्भावी छ । त्यसैले, अर्जुन उठेर युद्ध गरी यश प्राप्त गर्न र शत्रुहरूलाई परास्त गरेर राज्यभोग गर्नु श्रेयस्कर छ । किनकि युद्धमा होमिएका द्रोणाचार्य, भीष्मपितामह, जयद्रथ, कर्ण आदि सबै योद्धाहरूलाई त श्रीकष्णले पहिल्यै मारिसकेका थिए । यतिबेला त अर्जुनलाई उनले भय छाडेर निःसन्देह रूपमा जितिने युद्धमा निमित्तमात्र बन्न अनुरोध गरेका हुन् ।

श्रीकृष्णबाट प्रेरणात्मक ऊर्जा पाएपछि अर्जुनले श्रीकृष्णलाई बारम्बार नमस्कार गर्दै उनको प्रार्थना गर्दछन् । श्रीकृष्णलाई आदिदेव, सनातन पुरूष, जगत्का परमाश्रय, जान्नेवाला, जान्नयोग्य र परमधाम मान्दै उनलाई नै वायु, यमराज, अग्नि, वरूण, चन्द्रमा, ब्रह्मा र ब्रह्माका पिता पनि ठानिएको छ । उनी सर्वव्यापीमात्र होइन, सर्वरूप पनि छन् । भगवान्का विराट् र व्यापक प्रभावलाई नजानी आपूmले प्रेम र प्रमादवश साथीजस्तो ठानेर गरिएका यावत् अपराधहरूलाई क्षमा गरिदिन अर्जुनले आग्रह गरेका छन् । भगवानको दिव्य स्वरूपका द्रष्टा अर्जुनले श्रीकृष्णलाई यस चराचर जगत्का पिता, सर्वश्रेष्ठ गुरू र पूजनीय ठानेका छन् । जसरी पिताले पुत्रको, साथीले साथीको र पतिले पत्नीको अपराध सहन गर्छन्, त्यसरी नै भगवान्ले भक्तका अपराधहरूलाई सहन सक्छन् भनी अर्जुनले आपूmलाई क्षमा प्रदान गर्न अनुरोध गरेका

श्रीकृष्णको कहिल्यै नदेखेको आश्चर्यमय विराट् रूपलाई देखेर अर्जुन एकातिर खुसी छन् भने अर्कातिर अत्यन्त दुःखी पनि भएका छन् । त्यसैले, श्रीकृष्णलाई आफ्नो सामान्य रूप देखाइदिन अर्जुनले आग्रह गरेका हुन् । वास्तवमा अर्जुनको आग्रहका कारण भगवान्ले आफ्नो योगशक्तिका प्रभावले गर्दा आफ्नो ज्योतिर्मय विराट् स्वरूप देखाएका हुन् । अर्जुनबाहेक अन्य कसैले पनि यसअघि यस्तो दिव्यरूपको दर्शन पाउन सकेका थिएनन् । मनुष्यलोकमा अर्जुनबाहेक यस्तो विश्वरूपको दर्शन वेद, यज्ञ, दान, कर्तव्यकर्म र उग्र तपस्याद्वारा पनि प्राप्त गर्न असम्भव छ । यस्तो विराट् रूपको दर्शन गर्दा अर्जुनजस्ता व्यक्तिमा व्याकुलता वा मूढभाव उत्पन्न हुनु सुहाउने कुरा होइन । त्यसैले, अर्जुनले श्रीकृष्णको सामान्य रूपको दर्शन गरेर धैर्य धारण गर्नु आवश्यक ठान्छन् र अन्ततः श्रीकृष्णको शान्त मनुष्य रूप देखेर शान्त हुन पुग्छन् ।

अर्जुनले श्रीकृष्णको जुन चतुर्भुज स्वरूपलाई देखे, वास्तवमा यस्तो दर्शन अत्यन्त दुर्लभ छ । किनभने, यस्तो रूपको दर्शनको आकांक्षा देवताहरूले मात्र राख्तछन् । अर्जुनद्वारा देखिएको यस किसिमको चतुर्भुज स्वरूपको दर्शन वेद, तप, दान र यज्ञद्वारा पनि प्राप्त गर्न कठिन छ । परन्तु, एकीभाव वा अनन्य भक्तिभावद्वारा भने चतुर्भुजस्वरूप देख्न, तत्वद्वारा जान्न र प्रवेश गर्न सकिन्छ । जुन व्यक्ति भगवान्कै सम्पूर्ण कर्तव्य कर्म गर्छ, भगवानकै परायण भक्त, आसक्तिरहित र सम्पूर्ण प्राणीहरूमा वैरभाव नराखी समदर्शी छ, अनन्य भक्तिले युक्त भएका त्यस्ता व्यक्तिहरू नै ईश्वरको वास्तविक दर्शन गर्न सक्षम हुन्छन् । ईश्वरको दर्शन वा प्राप्तिमात्र होइन, हरेक पक्षमा सफलता प्राप्त गर्नका लागि पनि अनन्य भक्तिभाव वा एकाग्रतापूर्वकको निष्ठाभाव अपरिहार्य हुन्छ ।

प्रतिक्रिया