बदलिँदो विश्व परिवेश र आधुनिक समाजलाई चुनौती दिने गरी आजभोलि ‘पार्ट–टाइम पार्टनर’ बनाउने फेसन चलिरहेको छ । फिल्मी दुनियाँमा यस्ता सम्बन्धहरू हेरिँदै र देखिँदै आएको धेरै दशक भइसक्यो । तर, आज आफ्नै आँखाअगाडि जो कोहीले पार्ट–टाइम पार्टनरहरूका दैनिकी नियाल्न सक्ने अवस्था आएको छ । स्कुल–कलेजमा देखासिकीमा अफेयर्स चल्नु, युवावस्थामा कसैमाथि आशक्ति बढ्नु, आफ्नो जीवनसाथी आफैँले रोज्नु सामान्य कुरा भइसकेको छ । प्रेम बिहे, भागी बिहे वा यस्तै परिबन्धमा परेर दाम्पत्य जीवनमा जोडिनेहरूका कथा पनि पुरानो भइसकेको छ । चियाबारी, तोरीबारी र सिसौघारीका डेटिङ स्पटहरू अब ‘डेट एक्सपायर’ भइसकेका छन् । स्कुल–कलेज–बैंक ड्रेसमै होटल, रेस्टुराँ र रिसोर्टहरूमा निसंकोच डेटिङ गर्नेहरूको भीड देख्दा नयाँ पुस्ताको दबदबा बढेको आभाष हुन्छ । यस्तो स्वतन्त्रताको पछाडि को कति जिम्मेवार छन्, त्यो सरोकारवाला नै जानून् । तर, आधुनिकताले हाम्रो समाजलाई कतातिर डो¥याइरहेको छ, त्यसले हाम्रा कलिला बालबालिकाहरूमा कस्तो प्रभाव पारेको छ भन्नेतर्फ बेलैमा सोच्नुपर्ने भएको छ ।
सूचना प्रविधिको तीव्र विकासले हाम्रा युवा अलि गतिछाडा भएका हुन् कि भन्ने लागेको छ । सामाजिक सञ्जालको गलत प्रयोगले बेथिति र विसंगति बढाइरहेको छ । इन्टरनेट प्रयोग ज्ञान, विज्ञान र सूचनाका लागि प्रयोग भएको छ कि मस्ती र मनोरञ्जनका लागि, देशविदेशमा रहेका आफ्ना आफन्तसँग सञ्चार सम्पर्कका लागि कि पार्ट–टाइम पार्टनरसँग टाइमपासका लागि, यी र यस्ता तमाम प्रश्नहरू अनुत्तरित नै छन् । जमानाअनुसार अपडेट हुन नसके पश्चगामी भइन्छ भन्ने पिरलो युवापुस्तालाई परेको हुनसक्छ । साइबर संसारको युगमा आएर पनि लभ गर्नु, डेटिङ जानु, फिजिकल रिलेसन हुनु सामान्य कुरा हो भन्ने मानसिकता अहिले हाबी भइरहेको छ । त्यसको परिणति र त्यसले निम्याउने सामाजिक तथा पारिवारिक विचलनको ख्याल गर्न सकिए बदलिँदो युगको सम्मान हुन्थ्यो किः तर, उच्छृंखल र अनुशासनहीनताले चाहिँ सही गन्तव्यमा डो¥याउँदैन भन्ने मेरो आँकलन छ । फोर्थ जेनेरेसनअनुरूप अपडेट हुन नसकेर हो वा आधुनिकतालाई आत्मसात गर्न नजानेर हो, आफू अलिक यथास्थितिवादी बन्न पुगेको छु । किनभने मेरै भाइ–साथीहरू मलाई अग्रगामी हुन नसकेको दोष दिन्छन् । प्रगतिशील जमानामा पनि पश्चगामी सोचाइ भएको आरोप ममाथि लगाइने गरिन्छ ।
हरेक व्यक्तिको आआफ्नै ‘पर्सनल लाइफ’ हुन्छ । ‘माइ लाइफः माइ रुल्स’ भन्ने सोचाइअनुसार चल्ने महानुभावको निजी जीवनको मामिला उनीहरूकै हो । तर, निजी जीवनका कारणले समाजलाई प्रतिकूल असर पुग्यो भने त्यसलाई के भन्ने ? यो सामूहिक जिज्ञासा बनेको छ । आजकल ‘पार्टटाइम पार्टनर’ बनाउने होड चलिरहेको देखिन्छ । जसको पार्ट–टाइम पार्टनर छैन, उसको जीवन निरसजस्तै हुने मान्यता बन्न लागेको छ । पार्ट–टाइम पार्टनरका बारेमा अनभिज्ञ कोही पनि छैन । यो कुन समयमा र कस्तो परिस्थितिमा निर्माण हुन्छ भन्ने कुरा पनि कसैलाई सम्झाइरहनु जरुरी छैन । जो पारंगत छन् उनीहरूका लागि त पुरानै कुरा भइगयो । र, जो पार्टटाइम पार्टनर बनाउने सुरमा छन् उनीहरूले पनि राम्रैसँग बुझेका छन् ।
अंग्रेजी नयाँ वर्ष चलिरहेको छ । पर्यटकीय क्षेत्रमा त यसको चहलपहल र रहलपहल अझै बाँकी नै होला । प्रसंग ‘न्यू इअर इभ’कै हो । नेपाली नयाँ वर्ष नुन नहालेको अचारजस्तो भएर बित्ने गरे पनि अंग्रेजी नयाँ वर्ष धूमधामले मनाउने चलन केही दशकअघिदेखि चलिआएको छ । त्यसमा पनि न्यू इअर इभलाई खास बनाउन पार्ट–टाइम पार्टनर खोज्ने संस्कार चलेको केही वर्ष मात्र भएको छ । पहिलेपहिले ‘कसको छोरा कसकी छोरी’ भएर नयाँ वर्ष मनाउन आउने हुन्थे । पछिल्ला वर्षमा ‘कसको बुढा कसकी बूढी’ भएर आउनेक्रम चलेको छ । यो के कारण र किन चलेको छ भन्ने जान्न र बुझ्न पनि त्यति कठिन छैन । वैदेशिक रोजगारीको चर्को मोहका कारण यस्तो परिस्थिति निर्माण भएको हो । अझ त्यसमा फेसबुक र ट्वीटरको बढ्दो प्रयोग र मोबाइल फोनको सहज पहुँचले गर्दा यस्तो सम्बन्ध गाँस्ने अवसर जुरेको हो । नयाँ प्रविधिको प्रयोग र आधुनिक समाज अलि खुकुलो र फराकिलो बन्दै गएपछि यस्तो स्वतन्त्रता मिलेको हो ।
भूकम्पले थला परेको पर्यटन व्यवसायलाई आधुनिक जोडी अर्थात् आन्तरिक पर्यटकहरूले पूर्वअवस्थामा फर्काइदिएका छन् । पर्यटन व्यवसायी मात्र होइन, खुद्रे व्यापारीसम्मलाई पर्यटकहरूले पालेका छन् । यसैपाली पर्यटकीय नगरी सौराहामा ओइरिएका पर्यटकमध्ये वैधानिक बुढाबूढी बिरलै देख्न पाइन्थ्यो । टिनएजरका केटाकेटीदेखि अधवैँसे र बुढ्यौली उमेरका पाका जोडीहरू पार्ट–टाइम पार्टनरसँग रमाउन कुनै छेकवार थिएन । घरवालीसँग पोखरा ट्रेक गएको बहाना गर्ने घरवाले होस् या साथीकोमा बर्थ डे सेलिब्रेसन गर्न गएकी घरवाली होस् सौराहामा बेजोडले जमेका देखिन्थे । सौराहाका नाकाहरूमा धूलो–धूँवा र साउन्ड पोलुसन गराएर रातभर निद्रा भंग गराउने गरी कुँदने सवारीसाधनहरूले यस्ता पात्र अनगिन्ती बोकेका थिए । सौराहाका नाकाबासी सर्वसाधारणले अनेकौँ सास्ती खेप्नुपरे पनि कसैलाई कुनै गुनासो रहेन । तर, होहल्ला र बाइक, कारका प्रतिनिधि पात्रहरूका गतिविधि भने पार्टटाइम प्रवृत्तिकै थियो । यतिसम्म घटना भएछ कि, रुम नं १०२ र १०३ मा बस्ने दुई गेस्ट आमने–सामने हुँदा लाज नै लज्जित भएछ । पोखरा घुम्न गएका श्रीमान् र साथीकोमा बर्थ डे मनाउन गएकी श्रीमतीको जम्काभेट एउटै होटलमा हुनु कति दुर्भाग्य थियो, त्यो सरोकारवाला नै जानून् । तर, एउटा पश्चिम र अर्को पूर्व लागेका फुलटाइम जोडीको भेट फरकफरक पार्ट–टाइम पार्टनरका रूपमा न्यू इअर इभ मनाउँदै गर्दा आमनेसामने हुनु दुर्लभ मात्र होइन, ऐतिहासिक नै मान्नुपर्छ । त्यसमा दोष कसलाई दिनु र आरोप–प्रत्यारोप के लगाउनु, यो सबै आधुनिक समाजको दोष हो । बदलिँदो परिवेश अनि नागरिक स्वतन्त्रताकै दोष हो । यस्ता घटना अन्य ठाउँमा भएका भए पनि त्यसलाई संयोग नै मान्नुपर्ने हुन्छ ।
केही वर्षअघि पार्ट–टाइम पार्टनर भनेर देहव्यापारमा संलग्न हुनेहरूलाई चिनिन्थ्यो । यस्तो पेसा त सहरबजार र गाउँबेसीमा अद्यापि चल्दै पनि आएको छ । तर, आजभोलि पार्ट–टाइम पार्टनरका लागि खर्चको बन्दोबस्त स्वयंले गर्नुपर्दैन । जसका लागि पार्टनर बनिदिनुपर्ने हो उसैले सबै खर्चपर्चको व्यवस्था मिलाउँछ । रेमिटेन्सको प्रवाहअनुसार पार्टटाइम पार्टनरले समय छुट्याउने गर्छन् । एकहदसम्म केहीको रोजगारी पनि यसैमा टिकेको छ । पार्ट–टाइम पार्टनरलाई बेलाबेलामा नयाँ ग्याजेटको अफर पनि मिल्न सक्छ । पुर्पुरो बलियो हुनेहरूले बाइकदेखि स्कुटरसम्म ‘बोनस’मा पाउन सक्छन् । यसले पार्ट–टाइमरहरूलाई त केही राहत देला तर यसबाट उत्पन्न हुने पारिवारिक विद्रोह र विखण्डनचाहिँ अलि महँगो सावित हुनसक्छ । यसै पनि आधुनिकतासँगै वैवाहिक सम्बन्धहरू दिगो नभएका, प्रेम सम्बन्धहरू असमयमै विच्छेद भएका, पारिवारिक बेमेल र असन्तुष्टिहरू झांगिएका, विकृतिले पराकाष्ठा नाघेका, सन्तानको भविष्य नै चौपट भएका, विगतको प्रायश्चित गर्दै सहाराविहीन बन्नुपरेका दर्जनौँ दृष्टान्त हाम्रो समाजमा छन् ।
आधुनिक बन्ने नाममा अन्धधुन्ध दौडिए दुर्घटनामा पर्न सकिन्छ । हाम्रो सामाजिक संस्कार र पारिवारिक मूल्य–मान्यतालाई विचार गरेरमात्रै पार्ट–टाइम पार्टनरबारे सोचौँ । स्कुल–कलेज ड्रेसको सम्मान गर्न नसके अपमान नगरौँ । व्यापार गर्ने नाममा स्कुल–कलेजका युवालाई गेस्ट नमानौँ । समाजप्रति दायित्वबोध गरौँ । मेरा भाइ, बहिनी, छोरा, छोरी होइनन् भनेर अजरअन्दाज गरे आफ्नै आँखाले आफ्ना परिवारको विकृति देख्न प¥यो भने त्यतिबेला समयले धेरै कोल्टे फेरिसकेको हुनेछ । अब टुर्सका नाममा, पिकनिकका नाममा, बर्थ डे र पार्टीका नाममा बढी स्वतन्त्र हुन खोज्दा त्यसले पनि विकृति निम्त्याउन सक्छ । मोबाइल, इन्टरनेट हाम्रो जीवनलाई सहज बनाउन प्रयोग गरिने प्रविधि र साधन हुन्, पार्ट–टाइम पार्टनर खोज्नका लागि होइन । न्यू इअर इभ र विभिन्न चाडपर्वहरू पर्मानेन्ट पार्टनरसँग मनाउन सके कुनै पनि प्रकारका झमेला र तनाव बेहोर्नुपर्दैन । कि कसो ?
प्रतिक्रिया