बाल–उद्यानविनाको चितवन महोत्सव

नारायणगढलगायत देशभरका हलमा अहिले हिन्दी फिल्म दंगलको खास चर्चा छ । यसो फुर्सद पाइयो र विद्युत्ले साथ दियो भने

धेरैको रिमोट हिन्दी च्यानलमा पर्छन् । हामीले चढ्ने मोटरसाइकल र गाडी पनि सबैजसो भारतमा निर्माण गरिएका हुन् । जे होस्

मनोरञ्जनका साधनहरू भारतबाटै आयात हुन्छ् । फिल्म हेर्दा होस्, गाडी चढ्दा होस् वार्षिक खर्बौं रूपैयाँ भारत पुगेको हुन्छ ।

तर, अहिले हाम्रो दरिद्र मानसिकता कहीँकतै यसरी अल्मलियो कि हामी अब स्वाभिमान भइसकेका छौँ । कुनै पनि वस्तुका लागि भारतसँग परनिर्भर हुने समय गयो । नुनदेखि सुनसम्मका लागि भारतको बाटो हेर्ने हामी नेपाली (अहिलेको सन्दर्भमा चितवनबासी) यतिखेर पक्का राष्ट्रवादी भएका छौँ । भलै हामी आत्मनिर्भर छैनौँ, तर आवश्यकताको महसुस गरिकन पनि हामीले त्यागको भावना देखाएका छौँ ।

११औँ संस्करणको चितवन महोत्सव पुस २५ गतेबाट सुरु हुँदै छ । यसअघिका महोत्सवभन्दा यसपटकको फरक हुने निश्चित छ । किनकि यसपटक महोत्सवमा बालउद्यान रहने छैन । बाल उद्यानविनाको चितवन महोत्सव केहीका लागि मनदेखि नराम्रो र मुखले मात्र राम्रो भो भन्ने भए पनि अधिकांशले मुख र मन दुवै भावले बाल उद्यान नहुनु ठीक नभएको टिप्पणी

गरेका छन् ।

बाल उद्यान नहुने भन्ने सवालमा प्रायःको एउटै र तयारी जवाफ छ, ‘पैसा जति सबै भारतीयले लगे ।’ बहस गर्न योग्य विषय के छ भने बालउद्यान राख्नका लागि हामी नेपाली सक्षम छैनौँ । जुन वस्तु हामीसँग छैन र अपरिहार्य छ भने त्यतिखेर किन फुस्रो राष्ट्रवाद देखाउने ?

तर, हामीहरूलाई थाहा छैन कि महोत्सवभित्र रहेका गाडी, मेसिनरी सामान, खाद्यवस्तु, कपडालगायत वस्तु किनबेच हुँदा पैसा कुनै न कुनै बाटो भएर भारत जान्छ । चितवन महोत्सव कति सफल हुने नहुने भन्ने सवालमा बालउद्यानको पनि मुख्य हिस्सा रहन्छ । अपेक्षित कारोबार र दर्शकको संख्यालाई सफलताको आधार मान्ने गरिएको छ । यसपटक दर्शक र कारोबार अपेक्षा गरिएअनुसार होल नहोला त्यसका लागि भने माघ ५ गतेसम्म कुर्नुपर्ने हुन्छ ।

बाल उद्यानविनाको चितवन महोत्सवको धेरैले परिकल्पना गरेका छन् । खल्लो हुन्छ भन्ने आयोजकको पनि बुझाइ छ, तर भन्न मिलेको छैन । किन उद्योग वाणिज्य संघ चितवनको कार्यसमितिभित्रकै विवाद र स्वार्थ नमिल्दा बालउद्यान हटेको हो । न कि बालउद्यान हटाइनुपर्छ भने यसअघि नारायणगढमा जुलुस निस्केको थिएन, सिडिओलाई ज्ञापनपत्र दिइएको थिएन अर्थात कुनै पनि तबरबाट राज्य र गैरराज्य निकायको ध्यानाकर्षण भएको थिएन ।

भारतीय नागरिकले यसअघि पनि चितवन महोत्सवमा बालउद्यान सञ्चालनमा ल्याएका हुन् । छातीमा हात राखेर भन्नुपर्छ, महोत्सव छिर्ने अधिकांश बालबालिका खेल्नमा रमाउँछन् । रमाउने क्षेत्र सांस्कृतिक, स्टल अवलोकन, डुंगा सयरआदि भए पनि बालबालिकाको लागि आकर्षण र मनोरञ्जनको मूल विषय भनेको बालउद्यान नै हो । उनीहरूलाई रमाउन, खेल्न पाए पुग्यो । महोत्सव डुलेपछि साँझपख बालबालिकाले दिनभरको रमाइलो सुनाउलान्भन्दा बरु खेल खेल्न नपाएको रिसले खाना पनि नखाई बेलैमा सुतेर बालउद्यान नराख्नुको असुविधाको सांकेतिक विरोध गर्नेछन् ।

महोत्सवमा बालउद्यान नहुने भएपछि धेरै बालबालिकाले महोत्सव नजाने भनी घोषणा गरिसकेका छन् । खेल्न नपाइने भए पनि महोत्सव जानुको मज्जा नहुने बालबालिकाहरूको तर्क छ ।

महोत्सव घुम्न डुल्नका लागि सञ्चारमाध्यम र अन्य माध्यमबाट पनि प्रचारप्रसार भइरहेको छ । प्रचारप्रसारको अर्को पाटो पनि छ । त्यो हो महोत्सव घुम्नेले गाउँघरमा गएर महोत्सवको बयान गर्नु । आयोजकको अनुसार अघिल्लो वर्षको भन्दा फरक बयान गर्नलायक यसपटक केही पनि हुनेछैन । फरक हेर्न लायक केही पनि नहुने, बालउद्यान पनि नहुने भएपछि घुम्नका लागि हो भने चितवन महोत्सवभन्दा भाटभटेनीतिर मान्छेहरू नजालान् भन्न सकिन्न ।

तर, यसपटक धेरै अभिभावकलाई बालबालिका लिएर महोत्सव जानु पर्दा केही गाह्रो हुनेछ । महोत्सव छिर्नेबित्तिकै पिङ, हर्स रेस खेल्ने उनीहरूको तीव्र इच्छालाई अभिभावकले रोक्न सक्दैनन् । त्यसको सट्टामा उनीहरूले बालबालिकालाई अनेक चिज किनेर वा खुवाएर भुलाउनुपर्ने हुन्छ । त्यो पनि भारतीय उत्पादन नहोला भन्न सकिँदैन ।

बालउद्यान भनिए पनि खेलेर मनोरञ्जन लिने युवा र वयस्क पुस्ता पनि उत्तिकै हुन्छन् । उनीहरूको पनि मन भाँचिनेवाला छ । मनोरञ्जनका रूपमा सांस्कृतिक कार्यक्रम रहे पनि सांस्कृतिक विधा (दोहोरी, आधुनिक, पप) अनुसार मन पर्ने विधा हेर्न, सुन्न मात्र एक तहका मानिसहरू जम्मा हुन्छन् । मनपर्ने गीत र कलाकार भए मात्र बस्ने हुन्, नत्र महोत्सव छिरेको केही समयमै उनीहरू बाहिरिने पक्का छ ।
बालउद्यान सञ्चालन गर्दै आएका अर्जुन चौधरीले केही महिनाअघि नै सम्झौता गरिसकेका थिए । तर, संघका पदाधिकारीले नै धेरै आम्दानी हुने बालउद्यानलाई थोरै रकममा जिम्मा दिनु हुँदैन भनी भित्रभित्रै आफू खुलेर नलागे पनि अरुको सहारा लिए । मुख्य गरी मिडियाको सहारा लिएर बालउद्यानको टेन्डर गरी सञ्चालनमा आउनुपर्छ भन्ने भयो ।

यस विषयमा संघका पदाधिकारीको घैंटोमा पछि मात्र घाम लागेको देखिन्छ । केही महिनाअघि नै बालउद्यान सञ्चालनसम्बन्धीमा सम्झौता भएको जान्दाजान्दै आफूलाई रोल मोडलका रूपमा उभ्याउन खोज्नु जत्तिको घातक केही भएन ।

सञ्चारमाध्यमले पनि बालउद्यानका सम्बन्धमा धेरै नकारात्मक टीकाटिप्पणी ग¥यो । पत्रकारहरूले कुनै व्यक्तिले सम्झौता गरिसकेको विषय पुनः टेन्डरमार्फत् जाँदा पीडितले न्यायको बाटो अपनायो भने के होला भन्नेसम्म सोचेनन् । उनीहरू पनि एकोहोरो बालउद्यानको टेन्डर हुनुपर्नेमा लागे । यसरी लागे कि उनीहरू पनि टेन्डरका लागि सक्षम छन् । जुन परिणाम आउला भन्ने सोचेर संघभित्रकै व्यक्तिले सञ्चारमाध्यमलाई हंगामा बनाउने अस्त्रका रूपमा प्रयोग गरे आखिर आज अदालतको आदेशले सबैलाई पंगु बनाएको छ ।

अन्ततः अदालतले सम्झौता भइसकेको व्यक्तिलाई दिनु भन्ने आदेश गरेपछि उद्योग वाणिज्य संघ थुचुक्कै बस्यो । आफ्नो पराजयपछि पनि उसले अदालतमा अपिल गरेन् । बरु अर्जुन चौधरी र उद्योग वाणिज्य संघका केही व्यक्तिको जीत हुने अर्थात् मेलमिलापको भाषामा भन्दा ‘वीन–वीन’ को अवस्था आउने गरी बालउद्यान नै नराख्ने गरी सम्झौता भयो ।

अदालतको आदेश कार्यान्वयन नगरी अर्जुन चौधरी पनि चुप लागे । अदालतले आफ्नो पक्षमा आदेश दिँदा पनि उनी चुप लाग्नुले ठूलो अर्थ राख्छ । चुप लाग्ने नै भए उनले किन टेण्डरमा जाने निर्णयलाई कानुनी उपचार खोज्नुअघि नै स्वागत गरेनन् ?

प्रतिक्रिया