सन् २०१० को अक्टोबर महिनामा म दक्षिण अमेरिकी मुलुक कोलोम्बियाको राजधानी बोगोटा डिसी उत्रिएँ । समय छिटोछिटो गएकोजस्तो लाग्छ । सात वर्षअघि र आजको यसो समय तुलना गर्दा सबै चिजमा धेरै भिन्नता आयो भूगोल हिसाबले हामी नेपालीका लागि यो यात्रा निकै लामो हो । जहाँ आइपुग्दा भाषाका कारण हरेक पाइलामा ठेस लागेको अनुभूति गरियो लामै समय । बिल्कुल भिन्न परिवेश, भिन्न धर्म र संस्कृति, समय, समुदाय, आदि । स्थानीय समुदायसँग बोलीचाली परिचय हुँदा अधिकांशलाई नेपाल देश हो भन्ने जानकारी थिएन ।
जसले मनमा एक किसिमको चस्का दिइरहन्थ्यो । बुद्ध जन्मेको देश, सगरमाथाको देश भन्नेमा मलाई जति गर्व थियो । त्यो भ्रम बिस्तारै दूर हुँदै गयो । गौतम बुद्ध, सगरमाथा बारे ल्याटिनहरूलाई प्रशस्तै थाहा रहेछ । उनीहरूलाई कुन देशमा पर्छ भूगोल थाहा रहेको पाइनँ । अधिकांशमा भ्रम थियो । नेपाल भनेको चीनमा हो ? या भारतमा ? भनेर प्रति प्रश्न गर्दथे । यसरी नेपालको बारेमा सामान्य जानकारीसमेत नभएको देखेर अब यहीँ केही न केही माध्यमद्वारा नेपालको नामलाई दक्षिण अमेरिकी मुलुकमा चिनाउने सोचका साथ कोलोम्बियामा पहिलो नेपाली टिपिकल खानाको रेस्टुरेन्ट खोलेँ ।
जसको नामकरण गरियो ‘सगरमाथा रेस्टुरेन्ट’ । स्लोगान थियो सगरमाथा भूमिको स्वाद । यसै विषयमा कान्तिपुर दैनिकमा कार्यरत आर्थिक बिटमा लेख्ने पत्रकार लीलानाथ घिमिरेले कोलोम्बियामा नेपाली रेस्टुरेन्ट शीर्षकमा समाचार सम्प्रेषण गरे । त्यतिबेला पर्यटन वर्ष २०११ मनाइँदै थियो । कोलोम्बियामा पहिलो नेपाली व्यवसायी तथा त्यतिबेलामा एक मात्र नेपालीको उपस्थिति थियो । व्यवसायले अपेक्षित सफलता हात पार्न नसके पनि आफ्नो मुलुकसँग सम्बन्धित व्यवसाय भएकाले मलाई गर्व लागेको थियो । विविध कारणवस यो व्यवसायले निरन्तरता पाउन सकेन । केही समयपछि व्यवसाय परिवर्तन गर्नुपर्ने बाध्यतामा परियो ।
समयक्रमसँगै दैनिकी बदल्नै पर्ने भयो । सन् २०११ को अन्तिमतिर ‘मानव तस्करी’सम्बन्धी समाचार सञ्चार माध्यममा आउन थाले । आज फलानो ठाउँमा यति जना पक्राउ परे तिनीहरू एसिया, अफ्रिकन मुलुकका नागरिक थिए आदि । यो समाचार आएदेखि मलाई त्यससम्बन्धी जान्ने उत्सुकता जागेर आउन थाल्यो । स्वभावैले म सामाजिक कार्यमा विशेष रुचि राख्ने भएकोले हुन सक्छ अलि बढी नै चासो राख्न थालेँ ।
क्रमशः यस किसिमका समाचार सञ्चार माध्यममा बाक्लिँदै जान थाल्यो । नेपाली नागरिक पनि समातिएको समाचार आएपछि सम्बन्धित निकायमा सम्पर्क गर्ने निधो गरेँ । यहाँ नेपालीको नाममा एक्लो थिएँ । समय क्रमसँगै सम्बन्धित निकायमा सम्पर्क गरेर अवैध आप्रवासीहरूको आगमनको बारेमा प्रारम्भिक जानकारी प्राप्त गर्न थालेँ । यो क्रम जारी रहँदै गर्दा कोलम्बियाको अध्यागमनले अवैध रूपमा प्रवेश गरेका आप्रवासी समात्ने क्रममा २ जना नेपाली महिला २ जना नेपाली पुरुष अन्य मुलुकका ९ जनासमेत जम्मा १३ जनालाई पक्राउ गरेको खबर आयो । अनौपचारिक कुराकानीको क्रममा यस्ता भेदहरू खुल्दै गए जो सुन्दैमा आश्चर्यमा पर्ने किसिमका थिए । २ जना महिला मध्ये १ जना पूर्वकी थिइन् । अर्कीले आफ्नो असली परिचय नदिएर कहिले टिबेटन, कहिले पूर्वकै भनेर जवाफ दिएर मलाई झुक्काउन थालिन् । जुन कुरा उनीहरू पहिल्यैदेखि प्रशिक्षित थिए ।
उनीहरूलाई राजधानी बोगोटा डिसी ल्याइसकेको थियो । कोलोम्बियासँग नेपालको सिधा कूटनीतिक संयन्त्र स्थापित छैन । नेपालसम्बन्धी ब्राजिलस्थित नेपाली राजदूताबासले हेर्छ । कोलम्बियाको अध्यागमनले ट्राभल डकुमेन्ट उपलब्ध गराइदिन अनुरोध गरेको विषय नेपाली राजदूताबास ब्राजिलमार्फत जानकारी पाएँ । अध्यागमनको आग्रह बमोजिम उपलब्ध गराइदिनुपर्ने ट्राभल डकुमेन्ट केको आधारमा दिने ? दोधारमा रहेको दूतावासले बताएको थियो । नेपाली हुँ भन्ने बित्तिकै प्रमाणित नभएसम्म ट्राभल डकुमेन्ट उपलब्ध गराउन नसकिने आशयको संदेश अध्यागमनलाई पठाएछ । ब्राजिल नेपाली राजदूताबासले सम्पर्कका लागि मेरो नाम सिफारिस गरेर पक्राउ परेका हरूसँग भेटेर पुनः सोधपुछ गर्न भनेछ । कोलम्बियन अध्यागमनले पक्राउ परेकाहरू राखिएको सेफ हाउसमा गएर सोधपुछ गर्ने काममा मेरो मद्दत लियो । औपचारिक सोधपुछको क्रममा सत्य, तथ्य बताउन चाहेनन् नेपालीहरूले । अनौपचारिक कुराकानीको क्रममा यस्ता भेदहरू खुल्दै गए जो सुन्दैमा आश्चर्यमा पर्ने किसिमका थिए । मैले सबै आफ्नो वास्तविकता भनेपछि उनीहरू कसरी त्यहाँसम्म आइपुगे ? भन्ने कुरा आँशु झार्दै बताउन थाले । नेपालदेखिको यात्रा सुन्दा कल्पना गर्न नसकिने थियो । नेपालमा सामान्य व्यवसाय सञ्चालन गरेर जीविकोपार्जन गर्दै आएका उनीहरू धन कमाउने लोभमा एकाएक ल्याटिन अमेरिका आएर समाइए । कुरै कुरामा उनीहरू भक्कानिँदै भन्न थाले, ‘बरु आफ्नै मुलुक फर्कन पाए पनि फर्कने थियौँ । यो नर्कमा बस्न सकिन्नँ ।’
त्यहाँसम्म पुग्दाको लगानीले भने उनीहरू भन्दै थिए जसरी पनि अमेरिका त छिर्नै पर्छ । अन्य २ जना पुरुष पश्चिम नेपालतिरका थिए । कुनै राजनीतिक दलको गोपनीयताका कारण नाम उल्लेख गरेको छैन । उनीहरू यहाँसम्म कसरी आइपुगे भन्ने कथा सुनाउँदा म छाँगाबाटै खसेजस्तो भएँ । एक दलका उपल्लो तहको नेताले सिफारिस दिए । त्यही सिफारिसले यो यात्रा सम्भव भएको । ती नेतासँग पार्टी कार्यालयमै अन्तिम भेटघाट गरी ठूलै रेस्टुरेन्टमा गएर खानपानसहितको फोटोसमेत देखाए ‘बिदाई समारोह’को । हामीले औपचारिक सोधपुछ र आवश्यक फिंगर प्रिन्ट दस्तखत नाम ठेगाना आदि फारममा भरेर अस्थायी कन्ट्री आउट पासको निम्ति मेरै रोहबरमा सिफारिस गरेर अध्यागमन विभागलाई बुझाइदिएका थियौँ । अहिले उनीहरू कहाँ पुगे त्यो थाहा भएन ।
प्रतिक्रिया