किराती मिथ्थकमा घर निर्माणको कुरा

kirati-mithhakघर मानिसका लागि आवश्यक मात्र होइन अपरिहार्य चिज नै हो । यसलाई निर्माणका अनेक प्रयासहरू भएका छन् । मानव सभ्यताको सुरुआतीमा ठुल्ठुला पहराको बीच बनेका गुफा, ओडारहरूलाई प्रयोग गर्दै आएका कयौँ कथाहरू छन् ।

कुन मितिबाट मानिसले घर बनाउन सुरु गरे भन्ने विषयमा ठ्याक्कै तिथिमिति पाउन सकिन्न तर किराती मिथ्थकमा भने सभ्यताको सुरुआत आफ्ना पुर्खाहरू हेत्छाकुपा (रैछाकुले÷खोक्चिलिपा) र श्रीमती नालुङमा (साकुरिमा) नाम गरेका किराती पुर्खाहरूले गरेको भनाइ रहेको छ । त्यसबेला उनीहरूसमेत यस्तै गुफाहरूमा बस्थे । किराती मिथ्थकले पूर्वको हलेसीमा रहेको गुफामा बसोवास गर्दै आएको भनाइ पनि सुनिँदै आएको छ ।

त्यसबेला झ्यास, झोर र झिक्राझिक्रीले बनेको अस्थायी तथा कमजोर प्रकारको बासस्थान थियो । जंगली जनावरहरूको बिगबिगी भएकोले यस्तो बासस्थान सुरक्षित थिएन । बेलाबखतको हावा हुन्डरी र असिनापानीले पनि दुःख दिइरहन्थ्यो । उनीहरूको भर्खरै जन्मिएको बच्चालाई यस्तो विषम अवस्थामा हुर्काउन कठिन थियो । यस समस्याबाट पार पाउन नालुङमाले कुनै राम्रो छाना तथा भित्ता भएको स्थायी घर बनाएर बस्ने जुक्ति निकालिन् । नालुङमाको यो कुरा हेत्छाकुपालाई पनि मन प¥यो । त्यसैले उनीहरू स्थायी घर बनाई शान्त तथा सुरक्षित ढंगले जीवनयापन गर्ने निर्णयमा पुगे ।

घर बनाउनको लागि एक बलियो मुलखाँबोको आवश्यकता पर्ने जुक्ति नालुङमाले निकालिन् । नालुङमाको सल्लाह बमोजिम उनीहरूको छिमेकमा बस्ने सोक्पा (यति पनि भनिएको) लाई साथी लिएर हेत्छाकुपा खाँबो खोज्न जंगलतिर लागे । कुन आकारको, कुन प्रकारको, कस्तो खाँबो ल्याउनुपर्ने हो, सिकार गरी हिँड्ने हेत्छाकुपासँग कुनै ज्ञान तथा सीप थिएन । तैपनि एक बलियो रुख ढालेर दुबै पट्टि तिखारी खाँबो तयार गरी घर लिएर आए । घर निर्माण गर्ने क्रममा खाँबोको दुवै पट्टि तिखारेको हुनाले निदाल अड्याउने ठाउँ थिएन । कसरी निदाल अडिने खालको खाँबो बनाउन सकिएला भनेर सोचिरहेको बखत एउटा चिबे चरा आएर त्यही खाँबोको टुप्पोमा ट्याक्क बस्यो ।

चिबे चराको पुच्छर देखेर नालुङमालाई नयाँ जुक्ति फु¥यो । उनले चिबेको पुच्छार जस्तै खाँबोको टुप्पामा कापे आकारको बनाए निदाल अड्याउन सकिने सल्लाह दिइन् । नालुङमाको सल्लाह अनुसार नै हेत्छाकुपाले खाँबोको एक तिर कापे बनायो । अहिले पनि पुरानो घरहरूको खाँबाहरू निदाल अड्याउन चिबे चराको पुच्छर जस्तो बनाएको गाउँघर तिर देख्न सकिन्छ । यसरी चिबे चराले घर बनाउने खाँबोको कापे बनाउन ज्ञान दिएको हुनाले किरातीहरूले सम्मान गर्दै चिबे चराको मासु खाँदैनन् ।

यसरी खाँबो तयार भएपछि हेत्छाकुपाले खाँबो गाढ्ने खाल्डो खनी कापे परेको पट्टिबाट गाढ्न थाल्यो । यहाँ के बिचारनीय छ भने सोझा सिकारी हैत्छाकुपाले कहिल्यै घर बनाएको थिएन र स्थायी घरमा पनि कहिल्यै बसेको थिएन । तर, नालुङमा भने नाग राजा डिल्लीहँकी छोरी भएको हुनाले उनीसँग धेरै ज्ञान र सीपहरू थिए भलै उनले पनि जीवनमा कहिल्यै घर बनाउने काम गरेकी थिइनन् । यसरी उल्टो खाँबो गाढेको देखेर तिखारेको पट्टि खाँबो गाढ्न सिकाउन नालुङमाले खाँबोलाई सुल्टो फर्काई दुबै मिली गाढ्दा उनले च्यापेको बच्चा खाल्डोमा खस्यो र खाँबोले किचिन पुग्यो । बच्चा झिक्नलाई खाँबो निकाल्न सबैले बल लगाउँदा पनि निकाल्न सकेनन् । बच्चा मरिसकेको थियो अतः घरको मुल खाँबोले बच्चाको भोग खाएको ठहर गर्दै उनीहरूले बच्चासँगै खाँबोको खाल्डो पुरे । यहाँनेर खाँबो हटाएर बच्चा निकाल्नै नसकेको नहुन सक्दछ तर बच्चा पनि मरिसकेको र खाँबोले बच्चाको भोग खाइसकेको भन्ने विश्वासमा त्यहि खाल्डोमा बच्चालाई पनि पुरेको हुनुपर्दछ । यसरी पहिलो घर निर्माणको क्रममा बच्चा नै गुमाउनु नालुङमा र हेत्छाकुपाको निम्ति अति नै पीडादायी घट्ना थियो त्यो ।

यस घट्नापछि घरको मुल खाँबोले भोग खान्छ भन्ने विश्वासको साथ मानिसको भोग नखाओस् भनेर अन्य जनावारको भोग दिने चलन उनीहरूको सन्तान दरसन्तानहरूले चलाए जुन अझै पनि किरातीहरूमा कायम छ । विशेषतः घरको मुलखाँबो जुन सबैभन्दा बीचमा हुन्छ मुनी तामा वा चाँदीको पैसा राखी सुंगुर वा कुखुराको भोग दिई खडा गरिन्छ । यस परिघटनाबाट नै किराती समुदायमा बलि दिने प्रथाको पनि सुरुआत भएको मान्यता छ ।

आजको सन्दर्भमा घरको मुलखाँबोले भोग खान्छ कि खान्न भन्ने विवादास्पद हुन सक्दछ किनकि विज्ञानले यस्ता कुराहरू विश्वास गर्दैन । तर, आदि किराती पुर्खाहरूको प्राचीन समयमा यसप्रकारको विश्वास हुनु स्वभाविक थियो । त्यसैले किराती पुर्खाहरूले घर बनाउन कसरी सिके र घर बनाउँदा केके परिघट्नाहरू घटे भन्ने कुराले ठूलो ऐतिहासिक तथा सांस्कृतिक महत्व राख्दछ । अतः त्यो महत्वपूर्ण घट्नालाई स्मरण गर्दै तथा यसको वैज्ञानिक अनुसन्धान गर्दै सांस्कृतिक अर्थमा घरको मुलखाँबोमा बली दिने प्रथालाई कायम राखिनु पर्दछ । लिखित रिसिया निर्माण गरी प्रत्येक त्यस्तो सेवामा वाचन गर्नुपर्दछ र सबैले बुझ्ने हिसाबले ब्याख्या गरिनुपर्दछ ।

किरात राईका घरहरू प्रायः पूर्व अथवा दक्षिण फकिर्एको हुन्छ । डाँडो पूर्व–पश्चिम फैलिएको भए घर पूर्व फर्काई बनाइएको हुन्छ । यदि डाँडो उत्तर–दक्षिण फैलिएको भए घर दक्षिण फर्काई बनाइएको हुन्छ । मूलढोका पनि त्यही अनुसार पूर्व अथवा दक्षिण तिर हुन्छ । तर, जस्केलो अथवा सहायक ढोकाचाहिं जतापट्टि खोला हुन्छ त्यतै हुन्छ । यदि पश्चिम–पूर्व फैलिएको डाँडोको दक्षिण ढालपट्टि घर निर्माण गरिएको छ भने जस्केलो दक्षिण पट्टि नै हुन्छ । तर उत्तरपट्टिको ढालमा घर बनाइएको छ भने जस्केलो उत्तरपट्टि नै हुन्छ । यदि उत्तर–दक्षिण फैलिएको डाँडोको पूर्वी ढालमा घर निर्माण गरिएको छ भने जस्केलो पूर्वतिर नै हुन्छ । तर, पश्चिमी ढालमा घर निर्माण गरिएको छ भने जस्केलो पश्चिमतिर नै हुन्छ । कसैले भने जस्केलो पछिलतिर पनि बनाउने गर्दछन् । यसो गर्नुको कारण किरातीहरू हावा, घामको किरण तथा उज्यालोलाई पवित्र मान्दछन् । यस ढाँचामा घरहरूलाई बनाउँदा ज्यादा से ज्यादा हावा, घामको किरण तथा उज्यालो घरभित्रै पर्ने हुनाले यसो गरिएको हो ।

जहाँसम्म चुल्होको कुरा छ, भित्रको संरचनातिर ध्यान दिनु आवश्यक छ । घर भित्रको क्षेत्रलाई दुई मूल अंशमा बाँड्न सकिन्छ । डाँडा पट्टिको माथिल्लो आधा भाग र खोला पट्टिको तल्लो आधा भाग । माथिल्लो आधा भागको पनि अघिल्लो (घर फकिर्एको तिर) भाग घरमूली पुरुषको स्थान पाखा हो । चुला बनाउँदा त्यतातिर नै पापालुङ÷पाखालुङ अथवा पित्रीढुंगा हुन्छ । माथिल्लो आधा भागको पछिल्लो भागमा गृह स्वामिनी रहन्छिन् । यो माखा हो । त्यतै पट्टिको चुल्हा ढुंगालाई मामालुङ÷माखालुङ अथवा मातृढुंगा भनिन्छ । चुल्हाको तीन ढुंगा मध्य खोला अथवा नदी पट्टिको ढुंगालाई छेकुलुङ (छोरीचेली ढुंगा) अथवा रमीलुङ÷रुमीलुङ (नरनाता–कुटुम्ब ढुंगा) भन्ने गरिन्छ । किरातहरूले सबैभन्दा पवित्र मानी आएको अगेना सुप्तुलुङ पाखाको बीचमा हुन्छ । मूल खाँबो भने माखा, पाखा र रमीखाको मिलनबिन्दु घरको बीच भागमा हुन्छ ।

तल्लो आधा भागको पछिल्लो भाग गृह स्वामिनीकै क्षेत्रमा पर्दछ । तल्लो आधा भागको अघिल्लो भागमा नरनाता कुटुम्ब आउँदा राखिन्छ । नाता कुटुम्ब आएको बेला वंशका पुरुष वातुङहरू घर मूली पुरुषसँगै माथिल्लो आधा भागको अघिल्लो भागमा बस्दछन् । यसाधारमा किरात राईको घरको भुइँतलाको भित्री भाग ४ अंशमा बाँडिएको हुन्छ । पछिल्लो आधा भाग घरको महिला प्रमुखको क्षेत्रको रूपमा रहेको हुन्छ । त्यतातिर घरको पुरुष प्रमुखसमेत कमै प्रवेश गर्ने गर्दछन् । महिला प्रमुखको क्षेत्रको माथिल्लो डाँडापट्टिको भागमा रहेर भोजन पकाउने कार्य हुन्छ । यसै माखा क्षेत्रको पछिल्लो स्थानमा कतिपय किरतीहरूको माता पुर्खा माछाकोमाको प्रतिकको रूपमा माटोको घ्याम्पो राखिएको हुन्छ ।

प्रतिक्रिया