मलेसियन कम्पनीबाट ठगिँदै नेपाली कामदार

वैदेशिक रोजगारीमा मलेसिया जाने नेपाली कामदारबाट स्वास्थ्य परीक्षणको नाममा एक संस्थाले अवैध रूपमा रकम उठाइरहेको भेटिएको छ । गत वैशाख १९ गतेदेखि माईग्राम नामक मलेसियन कम्पनीले प्रति कामदार ३० डलर अर्थात करिब ३ हजार २ सय रुपैयाँ उठाउँदै आएको छ ।

सो कम्पनीले नेपाल सरकारबाट स्वीकृति नलिएको तथा मलेसियन सरकारबाट समेत सो कार्यका लागि स्वीकृति नलिएको तथ्य भेटिएपछि उसको गैरकानुनी कार्य बाहिर आएको हो । मलेसिया जाने कामदारको बायोमेट्रिक प्रणालीमार्फत् स्वास्थ्य परीक्षण गर्दै आएको मलेसियाको बेस्टिनेट एसडिएन बिएचडी प्रालि नामक कम्पनीले नै माईग्रामको नाममा ठगी गर्दै आएको छ ।

नेपाल सरकारले वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षणका लागि बढीमा ४ हजार ५ सय रुपैयाँ मात्रै लिन पाउने व्यवस्था गरेपछि सो बराबरको रकम बायोमेट्रिकको नाममा नेपालबाटै लिने र त्यो बाहेकको थप ३० डलर छुट्टै मलेसियामा पठाउन लगाई सो कम्पनीले ठगी गर्दै आएको हो ।

नेपालबाट बर्सेनी करिब १ लाख युवा मलेसिया जाने गरेकामा सो संस्थाले ती युवाबाट वार्षिक करिब ३२ करोड रुपैयाँ ठगी गरिरहेको छ । परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले मलेसिया जाने नेपाली कामदारमाथि माईग्राम आइएससी, ओएससीलगायतका कम्पनीको नाममा ठगी भइरहेको सम्बन्धमा परराष्ट्र मन्त्रालयले गृह र श्रम तथा रोजगार मन्त्रालयसँग समन्वय गरेर अनुसन्धान अगाडि बढाएको जानकारी दिए ।

मन्त्री महतले भने­, ‘नेपालस्थित मलेसियाका कार्यवाहक राजदूतसँग मलेसिया जाने नेपाली कामदारबाट विभिन्न नाममा बढी रकम उठाइआएको विषयमा सोध्दा उनले माईग्रामबारे आफूहरूलाई जानकारी नभएको जवाफ दिए ।’

मन्त्री महतका अनुसार प्रारम्भिक अनुसन्धानमा माईग्रामको नाममा उठाइएको रकम गैरकानुनी भएको भेटिएपछि उसलाई कारवाही गर्न गृह र श्रम मन्त्रालयलाई पत्राचार गरिसकिएको छ । उनले भने, ‘माईग्राम बाहेक अन्य विभिन्न नाममा पनि प्रति कामदार १७ हजार ७ सय रुपैयाँ बढी रकम उठाइरहेको भेटिएको छ । यसलाई रोक्न मन्त्रालयले मलेसिया सरकारसँग कूटनीतिक पहल सुरु गरिसकेको छ ।’ उनले यसै विषयमा कुरा गर्न आफूले मलेसिया जाने तयारी गरिरहेको समेत जानकारी दिए ।

बेस्टिनेट कम्पनीले माईग्रामका नाममा निर्माण गरेको छु्ट्टै सफ्टवेयरमा प्रति कामदार ३० डलर सो कम्पनीको मलेसियास्थित बैंकमा जम्मा गरेको विवरण भरेपछि मात्रै उसले बायोमेट्रिक स्वास्थ्य परीक्षणका लागि अनुमति दिने गरेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष कुमुद खनालले जानकारी दिए । सोही अनुमतिपत्रका आधारमा मात्रै नेपालस्थित मेडिकलले कामदारको स्वास्थ्य परीक्षण गर्ने गरेका छन् । नेपालबाट विदेशमा रकम पठाउँदा कारण खुलाउनुपर्ने तथा नेपाल राष्ट्रबैंकको अनुमति लिनुपर्ने प्रावधान छ । तर माईग्रामले नेपालमा अनुमति नलिएका कारण व्यवसायीहरूले हुण्डीबाट रकम पठाउन बाध्य भएका हुन् । तीन चौथाई रकम हुण्डीमार्फत् मलेसिया पठाइने गरेको व्यवसायीहरू बताउँछन् ।

गत वर्ष असार २५ गते बायोमेट्रिक प्रणाली भित्र्याउँदा भएको ठूलो आर्थिक चलखेलकै कारण बायोमेट्रिक प्रणालीसँगै माईग्राम भित्रिएको संघका उपाध्यक्ष खनालले जिकिर गरे । निःशुल्क टिकट र प्रवेशाज्ञाको लोकप्रिय निर्णय गर्नुभएका तत्कालीन श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङकै कार्यकालमा बायोमेट्रिकजस्तो विवादास्पद प्रणाली भित्रिएको हो । स्वास्थ्य परीक्षणका लागि २ हजार ६ सय रुपैयाँ तिर्दै आएका कामदारलाई बायोमेट्रिक प्रणाली सुरु गर्दा स्वास्थ्य परीक्षणको शुल्कमा कमिसन मिलाउन २ हजार ६ सयबाट बढाएर एकैपटक ४ हजार ५ सय रुपैयाँ पु¥याइएको थियो ।

नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्का र स्वास्थ्य व्यवसायी चन्द्रकला थापाबीच बायोमेट्रिक प्रणालीका विषयमा भएको टेलिफोन संवाद गत वर्ष सार्वजनिक भएको थियो जसमा यो प्रणाली लागू गर्न ८ लाख लागे पनि ४२ लाख रुपैयाँ कमिसनका रूपमा नेपाल र मलेसियामा बाँड्नुपर्ने हुँदा प्रतिमेडिकल ५० लाख रुपैयाँ उठाउने प्रसंग थियो । त्यसरी कमिसन बुझाएका भनिएका ३९ संस्थाले मात्रै हाल बायोमेट्रिकमार्फत स्वास्थ्य परीक्षण गर्न पाउँछन् ।

मलेसियामा रोजगारीका लागि जाने नेपाली कामदारसँग विभिन्न नाममा बढी रकम उठाउने कार्यमा संलग्न वान स्टप सेन्टर (ओएससी), आइएससीलगायतका संस्था गैरकानुनी भएको भन्दै तिनको काम कारबाही तत्काल रोक्न संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकले गत मंसिर ९ गते गृह मन्त्रालयलाई निर्देशन दिए पनि मन्त्रालयले अहिलेसम्म त्यसको कार्यान्वयन गरेको छैन । मलेसियाका लागि प्रवेशाज्ञा शुल्क ७ सयमात्रै भए पनि ओएससीले प्रवेशाज्ञाका लागि कामदारबाट राहदानी संकलन गरेको र केही शब्द लेखेकै भरमा ६ हजार ७ सय उठाइरहेको छ ।

त्यस्तै, आइएससी नामको अर्को संस्थाले पनि गत भदौ ३० गतेदेखि नै महाराजगञ्जमा कार्यालय स्थापना गरी कामदारको औँठाछाप लिएको नाममा प्रतिकामदार ३ हजार २ सय थप असुलिरहेको छ । वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहन गुरुङ बायोमेट्रिक, माईग्राम, भिएलएन, ओएससीलगायतका नाममा बिचौलियाले मलेसिया जाने कामदारमाथि वार्षिक करिब १ अर्ब ३९ करोड रुपैयाँ थप आर्थिक व्ययभार पारिरहेको बताउँछन् ।

३ वर्षअघि एक नेपाली कामदारले मलेसिया जान प्रवेशाज्ञाका लागि ७ सय रुपैयाँ र स्वास्थ्य परीक्षणका लागि २ हजार ६ सय रुपैयाँ मात्रै तिर्नुपथ्र्यो । बिचौलियाको चलखेल र सरकारी उदासीनताका कारण सो रकममा उल्लेख्य रूपमा वृद्धि हुँदै अहिले १७ हजार ७ सय रुपैयाँ पुगेको छ । मलेसियाको सरकारले नभई निश्चित स्वार्थ समूहले विभिन्न नामका एजेन्सी खडा गरी रकम वृद्धि गरेका हुन् ।

प्रतिक्रिया