दिना त्वाती लामा र जीवन लामाको जोडी भक्तपुरबाट मकवानपुरको दामन आए । सोमबार दामनमा हिउँ परेको छ भन्ने हल्ला चलेपछि साथीभाइसँग अकस्मात सल्लाह गरेर साँझ ७ः३० बजे भक्तपुरबाट उनीहरू हिँडेका हुन् ।
राती आइपुगेको त्यो जोडीसँग ३ मोटरसाइकलमा ६ जना थिए । आज बिहान सूर्योदयका बेला सिमभञ्याङमा उनीहरू हिउँमा रमाउँदै गरेका भेटिए । दिना र जीवनसँगै साथीहरू नेपालगञ्जका अमृत मल्ल र काभ्रेका दिनेश लामा पनि रमाउँदै थिए । उनलाई सहयोग गर्दै थिए स्थानीयवासी दिवस बस्नेतले ।
‘साह्रै रमाइलो भो’ सेल्फी खिच्दै गरेका युगल जोडी दिना र जीवनले भने, ‘हिउँसँग खेल्दाको आनन्दै बेग्लै ।’ उनीहरूले दामनको भ्यूटावरबाट दृश्यावलोकन गरे । हिमालका आकर्षक चुचुराले मन लोभ्यायो ।
सुन्दर डाँडाकाँडा र प्राकृतिक मनोरम दृश्यले मनमोहक दामन र सिमभञ्याङ क्षेत्रले जो कोही पर्यटकलाई लालायित पार्छ । ०६४ सालपछि राम्ररी हिउँ नपरेको र गतवर्ष पनि अन्तिम फागुनतिर सामान्य हिउँ परेकाले यो वर्ष सुरुआतमै हिउँ पर्दा संकेत राम्रैमिलेको छ ।
मकवानपुरको थाहा नगरपालिका–९ मा पर्ने दामन सिमभञ्याङ समुद्र सतहबाट २ हजार ४ सय ८८ मिटरको उचाइमा पर्छ । गएको यही आइतबार यहाँ यो वर्ष पहिलोपटक हिउँ प¥यो । हल्ला देशभरि फैलिएपछि सोमबारदेखि दामनमा आन्तरिक पर्यटक भरिन थालेका छन् ।
हिउँ परेको थाहा पाएर सोमबार साँझ आकस्मिक निर्णय गर्दै फिल्म निर्माता सुशान्त श्रेष्ठ पनि दामन पुगे । मंगलबार बिहान हिउँमा रमाउदै सेल्फी लिए । उनलाई साथ दिएका थिए, अर्का फिल्म निर्माता तथा फिल्मी पत्रकार रवि अधिकारीले ।
चितवनबाट दामनमा हिउँ खेल्न पुगेका अधिकारीले भने, ‘मेरो तीन चार वर्षपछिको अवसर हो । पर्यटकलाई मोहक पार्ने ठाउँमा एकपटक पुग्नै पर्छ ।’
‘सिमभञ्याङमा सिमलका भुवाझैँ झरेका हिउँका कण र सेताम्मे पाखापखेरा, घरहरूले मनमोहक नै पार्छ,’ फिल्मकर्मी सुशान्त श्रेष्ठले भने, ‘फिल्मका दृष्य कैद गर्न पनि दामनले लोभ्याउने गरेको छ ।’
यसपालि त्यति बाक्लो हिउँ परिसकेको छैन तर डाँडाभरि नै हिउँले ढाकेको छ । न्यू दामन थकाली भान्छाघरकी सञ्चालिका दुर्गा भण्डारी यहाँ भएका १०–१२ वटा होटल भरिभराउ भएको बताइन । हरेक चिसो मौसममा यहाँ हिउँ पर्ने भएकाले आन्तरिक पर्यटक दामन जान समय नै छुट्याएर बस्छन् । मकवानपुरको जिल्ला सदरमुकाम हेटाँैडाबाट करिब ५२ किलोमिटर उत्तरमा यो क्षेत्र पर्छ । काठमाडौंबाट दक्षिणतर्फ झन्डै ७० किमी छ दामन ।
काठमाडौं उपत्यकाबाट धेरै पर्यटक दामनमा हिउँ खेल्न आउँछन् । मकवानपुर, चितवनलगायत जिल्लाका आन्तरिक पर्यटकको ध्यानसमेत यसले खिचेको छ । हिउँ पर्ने मौसममा हिउँ खेल्न र गर्मी मौसममा शीतलता लिन पर्यटक आउने गरेको थाहा नगरपालिका–८ किटनीका स्थानीयवासी वृद्ध शालिग्राम केसीको भनाइ छ ।
दामन र सिमभञ्याङमा मंगलबार बिहानको दृश्य मनमोहक थियो । अघिल्लो रातीदेखि नै यहाँका होटल भरिएका थिए । डाँडा, पाखा, पखेरा हिउँले ढकमक्क थिए । तरकारीको नर्सरीमा प्लास्टिकले ढाकेर सेताम्मे पारेका जस्ता बारीका पाटा हिउँले भरिँदाको दृश्य बयान गर्नै नसकिने किसिमको थियो । रुखका बुट्यान, झारपात, पतिंगर, हिउँले ढाकेर सेताम्मे फूल खिले झैँ देखिन्थे ।
पोखरीमा जमेको पानी । पानी माथिपट्टि फुटेर सिसाका तिखा टुक्रा झरे जस्तै पानी जमेको दृश्य, अनि पखेराभरि हिउँले भरिएको दृश्यावलोकनमा पर्यटक लोभिएका थिए । घर, करेसाबारीदेखि सवारी साधनका सिसामा हिउँ भरिँदा साँच्चै नै मन्त्रमुग्ध पार्छ दामनले ।
समूह समूहमा मात्रै होइन प्रेमीहरूको जोडीको मंगलबार बिहान यहाँ ठूलै भीड थियो । दिवस बस्नेत यहाँ युवाको आकर्षण भने बढ्दो रहेको बताउँछन् । मंसिरदेखि फागुनसम्म हिउँको मौसम हुन्छ । कुनबेला हिउँ पर्छ थाहै हुँदैन । सेता र राता रङका लालीगुराँस फुल्ने मौसममासमेत पर्यटकले मनोरञ्जन लिन्छन् । भ्यूटावरमा बसेर दृश्यावलोकन गर्नुको मज्जा नै बेग्ले हुने अनुभव छ पर्यटकको ।
सोही क्षेत्रमा रहेको करुणाभूमि सामुदायिक वनका अध्यक्ष विनोद लामा जैविक विविधतालेसमेत भरिपूर्ण भएकाले यस ठाउँले पर्यटकलाई तान्ने बताए । दामनबाट जति हिमशृंखला देखिन्छ त्यति नेपालको कुनै ठाउँबाट पनि नदेखिने उनको भनाइ छ । सगरमाथालगायत ८ हजार मिटरमाथिका ८ वटा हिमाल देखिने उनको दाबी छ ।
हिमशिखर होटलका सञ्चालक पाल्साङ भोम्जनको होटल बिहानै आगन्तुकले भरिएको थियो । दामनदेखि हेटौँडा आउने १०–१५ किमी तलसम्म सडक छेउछाउ हिउँले ढाकेको थियो ।
यो वर्ष अलि छिटो हिउँ परेको उनको अनुभव छ । अघिल्लो वर्ष अलि पछाडि फागुनमा मात्रै त्यही पनि सामान्य हिउँ झरेको थियो । अहिले चाँडै नै परेको स्थानीयवासीले बताए । ‘चाँडै हिउँ परेको छ, दामनका लागि शुभसंकेत हो, पर्यटक आउने आशा पलायो’, पाल्साङले भने ।
०६४ सालमा झन्डै ३ फिटसम्म हिउँ परेको थियो । त्यसपछि दामन सिमभञ्याङमा राम्ररी हिउँ परेको छैन । यो साल शुभसंकेत देखिएकाले आशा पलाएको छ स्थानीय व्यवसायीमा । ‘पहिलेपहिले सडक विभागले बाटोमा हिउँ पगाल्न नुन छथ्र्यो, डोजर लगाएर हिउँ बढार्नुपथ्र्यो, अहिले हिउँ धेरै कम छ’, स्थानीयवासी शालिग्राम केसीले भने ।
मुख्य गरी क्रिसमस, अंग्रेजी र नेपाली नयाँ वर्ष, विभिन्न मेला तथा बिदाका दिनमा आन्तरिक पर्यटक दामन आउँछन् । यहाँ दुर्लभ प्रजातिको सुनगाभासमेत पाइन्छ ।
प्रतिक्रिया