पति विदेशमा हुँदा… : व्यथा आ–आफ्नै

लक्ष्मी :  ऊ त्यसै बसेको होला त ?

मीरा : मलाई माया गरे भैगो

12काठमाडौं, ७ मंसिर ।

‘ए पंक्षी उडी जा चटाक हुन गई संचार यो भन्दियस्
यो संचार भनिदिइस् पनि भने लाख वर्षसम्म जियस्,’

– कवि मोतीराम भट्ट (पिक सन्देश)

आजभन्दा करिब ३ दशकअघि कवि मोतीराम भट्टले लेखेका यी श्लोक उतिबेला भन्दा हिजोआज जीवन्त र यथार्थपरक देखिन्छ । फरक छ त केवल सञ्चारको क्षेत्रमा भएको अभूतपूर्व विकासको । उतिबेला आफ्ना पतिलाई आफ्नो पीडा र व्यथाको समाचार लगिदिन पखेटा भएको पंक्षीलाई अनुरोध गरिएको छ । यतिबेला फेसबुक, भाइवर, स्काइपलगायतमा अनुहार हेरेरै पीडा साट्न पाएका छन् ।

तर, उतिबेला भन्दा अहिलेको नेपालमा वैदेशिक रोजगारीमा जानेको संख्या सयौँ गुणा बढेको छ । उतिबेला यातायातको सुविधा नै नहुँदा त जीवन धान्न, ऋण तिर्न वैदेशिक रोजगारीमा जाने गरिएको महाकवि देवकोटाले प्रसिद्ध खण्डकाव्य ‘मुनामदन’मार्फत देखाएका छन् । कवि मोतीरामले पनि ‘पिक सन्देश’मार्फत वैदेशिक रोजगारीमा जाने पतिका घर बसेका पत्नीका यौनिक पीडालाई प्रस्ट्याएका छन् । जुन यतिबेला झन् छरपस्ट छन् ।

उतिबेला मोतीरामले नेपाली महिलाको यौनिक पीडालाई यसरी व्यक्त गरेका छन् ः–

‘रुई, फूई र दुई यी तीन थोक चाहिन्छ जाडा महाँ
दुःखी छु रुई, फूई छ तर पनि दुई नहुँदा महाँ…’

हो, धेरै नेपाली महिला अहिले यस्तै पीडा भागिरहेका छन् । त्यसैले त काठमाडौं जोरपाटीकी लक्ष्मी भन्छिन् ‘कति सहने, किन सहने, के ऊ त्यसै बसेको होला त ?’ ऊ त्यसै बसेको भए पो मैले पनि उसका निम्ती सहने भन्दै उनी भन्छिन् ‘सम्भोग भनेको सम र भोग मिलेर बनेको शब्द हो । ‘सम’ भनेको बराबर र ‘भोग’ भनेको उपयोग हो । इच्छा र रहर बराबर भए, उसले गर्न हुने मैले नहुने कसरी हुन्छ ?’ आफूले इच्छा नमारेको उनी स्वीकार्छिन ।

तर, सबै महिला लक्ष्मीजस्तै खुल्ला विचार राख्ने बहुर्मुखी स्वभावका हुँदैनन् । स्नातकोत्तर अध्ययनरत मीराको भने अलिक सहनशील हुँदै भन्छिन्, ‘उसले त्यहाँ जे सुकै गरेको होस्, यहाँ मलाई माया गरे भैगो ।’ बाबुआमाको इच्छाविपरीत आफूखुसी विवाह गरेकी मीरालाई उनका पतिले विवाहको ४ महिना नबित्दै थानकोटमा डेरामा राखेर पैसा कमाउन विदेशिएको २ वर्ष बितेको छ । झापा घर भएकी लक्ष्मीको भने पति विदेशिएका ४ वर्ष नाघ्यो रे !

यी २ को स्वभाव र विचार भिन्न भए पनि अनुभूति समान रहेको छ । परिवार र समाजले एक्लै बसेकी महिलालाई हेर्ने दृष्टिकोण शंकास्पद नै हुने गरेको उनीहरू बताउँछन् । छरछिमेकका युवा गिद्धे दृष्टि लगाउने, परिवार शंका गर्ने स्थिति रहेको उनीहरूको अनुभव छ ।

मीरा र लक्ष्मी प्रतिनिधि पात्र मात्र हुन् । यस्तो नियती आज हजारौँ नेपाली महिलाले भोगिरहेका छन् । त्यसैले यिनै पीडालाई बुझेर होला मोतीरामे पिक सन्देशमा भन्छन् ‘…पाकेको फल फाली जानु परदेश कुन शास्त्रको धर्म हो…’ ।

वैदेशिक रोजगार विभागका अनुसार यस आर्थिक वर्षको असोजसम्ममा करिव ९७ हजार नेपाली युवा वैदेशिक रोजगारीमा विभिन्न मुलुक गएका छन् । गतवर्ष ३ लाख नेपाली युवाले रोजगारीका लागि देश छोडेको तथ्यांक छ । यसमा निक्कै कम महिलाको रहेको छ ।

वैदेशिक रोजगारमा जाने अधिकांश युवा पुरुष हुने गरेका छन् । एक गैरसरकारी संस्थाले गरेको अध्ययनलाई मान्ने हो भने वैदेशिक रोजगारीमा गएका पुरुष युवामध्ये २५ प्रतिशत नवविवाहित हुन्छन् । यसले नेपालमा १ लाख बढी नवविवाहित युवती वैदेशिक रोजागारीमा गएका पतिले पठाएको पैसामा दैनिकी चलाउनेमा पर्दछन् ।

यसले विकृति पनि मौलाउँदो छ । पतिले पठाएको पैसा दुरूपयोग भएका प्रशस्त उदाहरण छन् । यसैले देशमा पुरुष वेश्याको संख्या पनि बढेको समाचारहरू आइरहन्छन् । यस्तै स्थिति रहेमा सिंगो नेपाल एक वृद्धाश्रम हुने चिन्ता पनि रहेकाले यसलाई रोक्नुपर्ने आवाज उठ्न थालिसकेको छ ।

प्रतिक्रिया