‘दशवर्षे माओवादी सशस्त्र युद्धका समयमा बेपत्ता पारिएका बेपत्ता परिवारका सदस्यका लागि यो दसँै रुवाबासीमै बितेको छ । तिहार र छठपर्व नजिकिँदै गर्दा पनि खुसीयाली थपिनुको साटो उनीहरूलाई बेपत्ता पारिएका आफन्तको सम्झनाले चोटैचोट मात्र दिएको तीतो अतित बल्झिरहेको छ ।
कलकलाउँदो जवानीमै सिउँदो पुछिएका श्रीमती, बुढेसकालको सहारा गुमाएका आमाबुबाहरू, आफूलाई धर्ती देखाउने र शिक्षादीक्षाको उज्यालो बाटोमा हिँडाउने मातापिता गुमाएका सन्तान वा दाजुभाइ तथा दिदीबहिनी गुमाएका आफन्त सबैमा यो दसँै तिहारले थप पीडा दिने गरेको पीडितका आफन्तहरूले बताएका छन् । दसँै, तिहार र छठजस्ता महान चाडपर्व नजिकिन थालेपछि परदेशिएका प्रवासी घर सम्झेर आउन थालेसँगै बेपत्ता परिवारमा रुवाबासी सुरु हुन थालेको हो । यसरी अन्य परिवारका प्रवासी घर फर्कदा बेपत्ता पारिएका आफन्तको सम्झनाले थप पीडा दिने गरेको बेपत्ता परिवारका एक सदस्यले बताए ।
अझ दसैँको टीका जमरा र तिहारको देउसी भैलोले बेपत्ता परिवारमा उत्साहको साटो पीडा थप्ने उनीहरूको भनाइ छ । ‘हाम्रा आफन्त पनि बेपत्ता नपारिएको भए यसरी नै धन कमाएर चाडपर्वका बेला घर फर्कन्थे होल बडाचौर–८ रोल्पाका भक्तबहादुर सुनारले निराश हुँदै भने ।’ सुनारका जेठा छोरा सशस्त्र युद्धका बेला गाउँबाटै बेपत्ता पारिएको थियो । ‘म त बाहिर काममा निस्कन्छु मन बुझाउँछु तर उसकी आमाको रुँदारुँदा आँखा बसिसके । जीउ कमजोर बन्दै गएको छ । भक्कानो फुटेर निस्केको आँसु रोक्न सकिँदो रहेनछ उनले भने । यो दसँै तिहारले सुनारको परिवारमा अझ थप पीडा निम्त्याएको छ ।
यस्तै उमेरले ७० वसन्त पार गरिसकेकी जेलवाङ–४ रोल्पाकी गौना बुढाले वर्षांै बितिसक्दासम्म पनि छोरो नफर्किएपछि छोरालाई भेट्ने आशा मारिसकेका छन् । अब छोरो मरेको खबर सुन्न पाए मन बुझाउने थिएँ उनले भक्कानिँदै भने । कहिलेकाँही छोरो सपनामा आएको देख्दा निकै खुसी हुन्छु । तर, सपनाबाट ब्युझँदा मन बुझाउन निकै गाह्रो हुन्छ । उनले भक्कानिँदै सुनाइन् ।
०५५ सालकोे सशस्त्र युद्धका समयमा गाईवस्तु चराउन गएको १४ वर्षीय छोरा नलै बुढालाई गोठबाटै माओवादीले अपहरण गरेर लगेपछि आजसम्म पनि उनको अत्तोपत्तो छैन । बुढेसकालमा जन्मिएको एक मात्र छोरो बाँचुञ्जेल पालोस मरे पनि चितासम्म पु¥याओस् भन्ने बुढाको सपना थियो । तर, बीचमै तोडियो । उनका १२ सन्तान जन्मिएकोमा ८ जना मरे, बचेका ३ छोरी विवाह गरेर गएँ । आफ्नो बुढेसकालको साहारा सम्झेको छोरा बेपत्ता पारियो । केही महिनाअघि श्रीमान् शंकरे बुढाको पनि छोराको यादमा तड्पितड्पि मृत्यु भएपछि गौना बुढा असहाय बनेकी छन् ।
‘छोरो भएको भए बुहारी हुन्थी, नाती नातिनी हुन्थे यो तिहारको रमझममा घर कति उज्यालो हुँदो हो उनाले मीठो कल्पना सुनाउँदै भने कति हिउँद बिते कति वर्षा ऋतु मौसम बदलियो, ऋतु बदलियो तर मेरो मन बदलिन सकेन ।’ यस्तै सशस्त्र युद्धका समयमा पढ्न गएको एक मात्र छोरालाई नेपाली सेनाले बाटोबाटै अपहरण गरेपछि भिजेका जंकोट रोल्पाकी ८९ वर्षिया सोमरा पुनका आँखा पनि अझै ओभाएका छैनन् । हाल कान्छी छोरीसँग बस्दै आएकी पुनले भनिन्, ‘सबैका छोराहरू चाडपर्वका बेला धन कमाएर विदेशबाट फर्कंदा मन धर्कन्छ । छोराले पढ्यो भने बुढेसकालमा हेर्ला भन्ने आशाले पढ्नका लागि दाङ पठाएका थियौँ ।’
विनाकारण बाटोबाटै अपहरणमा परी बेपत्ता पारियो अझैसम्म पनि छोराको अत्तोपत्तो छैन । अरूका लागि दसँै आयो तिहार आयो तर हाम्रा लागि दशा उसकै यादमा रुवाबासी छ घरमा । यी त प्रतिनिधि पात्र मात्र हुन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाका अनुसार सशस्त्र युद्धका समयमा रोल्पा जिल्लाका ३० गाविसका ६९ जना बेपत्ता पारिएका छन् । हालसम्म पनि उनीहरूको अवस्था अज्ञात छ । बेपत्ता पर्नेहरूमा सबैभन्दा बढी कोर्चाबाङ गाविसबाट ७ जना र तत्कालीन लिबाङ गाविस हालको लिबाङ नगरपालिकाबाट ६ जना रहेका छन् । आफन्तको जिउँदो मर्दाे खबर नपाउँदा अझै पनि बेपत्ता परिवारका सदस्यहरू तड्पिरहेका छन् । आखिर हाम्रो आफन्तलाई बेपत्ता पारेर के पायो माओवादीले के पायो सरकारले आफन्तहरूको एक मात्र प्रश्न यही नै छ । यसतर्फ सरकारले समयमै चासो दिनुपर्नेमा उनीहरूको जोड छ । यो तिहार र छठपर्व अगाडि कि बेपत्ता पारिएकाहरूको ज्यान देऊ कि चिहान देऊ । सरकारसँग बेपत्ता परिवारका सदस्यहरूले यही माग राखेका छन् ।
प्रतिक्रिया