ऋणको ब्याज दर बढाउँदै वाणिज्य बैंक

काठमाडौं, ६ कात्तिक । वाणिज्य बैंकहरुले ऋणको ब्याज दर बढाउने भएका छन् । बैंकहरुले ०.५ प्रतिशत बिन्दुदेखि डेढ प्रतिशत बिन्दुसम्म ब्याज दर बढाउने भएका हुन् । लगानी योग्य पुँजी (तरलता) कम हुँदै गएको भन्दै बैंकहरुले ऋणको ब्याज दर बढाउने निर्णय गरेका हुन् ।

बैंकहरुले तरलता अभाव हुन थालेपछि निक्षेपको ब्याज दर बढाइएको भन्दै अब ऋणको पनि बढाउन लागेको जानकारी दिएका छन् । बढाउने बेला एक महिना अगाडि नै भइसकेको थियो । तर दसैँको मुखमा किन बढाउनु भनेर वृद्धि गरिएन’ बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौडेलले भने, ‘अब क्वाटर इन्ड (असोज मसान्त) सकिएको छ । बैंकहरुले व्यापारिक प्रकृतिका ऋणको ब्याज दर बढाउन लागेका हुन् । ब्याज दर बढाउनेबारे कतिपय बैंकहरुले फोन गरेर ब्यवसायीहरुलाई जानकारी गराइसकेका छन् ।

’ब्याज दर बढाउने कुरा एउटा ल्यांग्वेजमा धेरै बैंकहरुले गरिरहेका छन् । ब्याज दर तलमाथि माग र आपूर्तिका कारणले हुनुपर्छ । तर सबै बैंकले एकैचोटी ब्याज दर बढाउँछौं भन्नुले कताकता सिन्डिकेटको संकेत गरेको छ’ उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले भने ।

उनले सस्तो ब्याज दरका कारण लगानीको वातावरण बनिरहेको सन्दर्भमा सबै बैंकले एकैचोटि बढाउँछौं भन्दा लगानी निरुत्साहित हुने दावीसमेत गरे । माग र आपूर्तिका कारण ब्याज दर बढाउँदा पनि पुरानो ग्राहकलाई बैंकहरुले विचार पु¥याउनु पर्छ’ मुरारकाले भने, ‘जलविद्युतजस्ता क्षेत्रहरुमा ब्याज दर वृद्धिले अप्ठेरो पार्छ । त्यस्ता संवेदनशील क्षेत्रमा बैंकहरुले ब्याज बढाउनुअघि विचार पु¥याउन आवश्यक छ ।’ बैंकरले भने ब्याजदर मिलेमतोका आधारमा नभई बढाउनैपर्ने अवस्थाले वृद्धि गर्नु परेको बताएका छन् । ’कुनै छलफल गरेर बैंकहरुले ब्याजदर वृद्धि गर्न लागेका होइनन्’ पौडेलले भने, ‘ब्याजदर बढाउन छलफल भएकै छैन । क्वाटर इन्ड सकिएपछि नयाँ ब्याज दर लागू गर्न सजिलो हुने भएकाले त्यसैअनुसार वृद्धि गर्न लागिएको हो ।’

व्यवसायीहरुले भने दसैँअघि बैंकरहरुको ‘लुज बैठक’बाट ब्याज दर बढाउने निर्णय भएअनुसार १ कात्तिक सबैको बढ्न लागेको आरोप लगाएका छन् । बैंकरले भने ब्याजदरका बारेमा आवश्यक छलफल यसअघि नभएको बताएका छन् । बैंकरका अनुसार अहिले व्यावसायिक तथा व्यापारिक प्रयोजनका कर्जाको ब्याजदर मात्र बढ्छ । साधारण उपभोक्तालाई सोझै असर पर्ने घर तथा गाडी कर्जाको ब्याजदर भने तत्काल नबढ्ने पौडेलले जानकारी दिए ।

एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका पौडेलले साढे सात प्रतिशतमा निक्षेप लिन्छु भनेर बोलकबोल गर्दासमेत नपाइएको जानकारी दिँदै भने, ‘निक्षेप महँगो भइसकेको छ । त्यसलाई धान्न पनि कर्जाको ब्याजदर नबढाइ भएको छैन । तरलता सहज हुँदा कर्जाको ब्याज कमै थियो । अब अभाव हुन थालेपछि केही बढ्न लागेको हो ।’ ‘व्यावसायिक प्रकृतिका कर्जाको ब्याज समायोजनपछि बजारमा उपलब्ध तरतलाको मूल्यांकनका आधारमा बाँकी अरु कर्जाको ब्याजदर बढाउने÷नबढाउने टुंगो लाग्छ’ पौडेलले भने, ’तत्कालै गाडी तथा घर कर्जाको ब्याज बढ्दैन ।’

राष्ट्रबैंकले भने बजारमा अझै तरलता सहज रहेको तथ्यांक सार्वजनिक गरेको छ । आइतबारसम्म वाणिज्य बैंकहरुसँग २० अर्ब रुपैयाँ अधिक तरलता रहेको छ । राष्ट्रबैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले १०० अर्बसम्म रहेको अधिक तरलता २० अर्बमा झर्दा त्यसको मनोवैज्ञानिक असरले पनि ब्याज दरमा प्रभाव परेको बताउँछन् । ‘तरलता भनेको पर्सेप्सन पनि हो । हिजो १०० अर्बसम्म पनि थियो । २० अर्बमा झरिसकेको छ’ उनले भने, ‘यस्तो अवस्थामा अभावै हुन्छ कि भनेर पनि बैंकहरुले अहिले नै त्यसलाई व्यवस्थापन गर्न विचार पु¥याएको हुनसक्छ ।’

अहिले सरकार विकास निर्माणमा खर्च नगरी १९१ अर्ब रुपैयाँ बचतमा छ । सरकार बचतमा रहेर बजारमा पैसा नजाँदा पनि बैंकहरुमा तरलता केही घट्दै गएको हो । ‘शोधनान्तर अवस्था ऋणात्मक रहेको, आयात बढिरहेको र रेमिट्यान्सको वृद्धिदर घटिरहेको पृष्ठभूमिमा बैंकहरुले आफ्नो स्रोतको व्यवस्थापन गर्न पनि ब्याजदर बढाउन विचार गरेका हुनसक्छन्’ थापाले भने ।

प्रतिक्रिया