पर्यटकीय तथा धार्मिक स्थल खोज्दै हलेसी प्रतिष्ठान

halesi-mahadevकाठमाडौं, ४ कात्तिक । बत्तीको मुनि सधैँ अँध्यारो भने जस्तै पूर्वको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल हलेसी महादेवस्थान वरिपरि रहेका महत्वपूर्ण स्थानहरु ओझेलमा परेका छन् । पूर्वमा रहेको यस ऐतिहासिक स्थल किरात, हिन्दू, बौद्ध धर्मावलम्बीहरुका लागि महत्वपूर्ण मानिन्छ । यसक्षेत्रमा यसको अलावा नजिकै महत्वपूर्ण स्थलहरु रहेको भन्दै हलेसी प्रतिष्ठान यसपटक सबै ठाउँको सम्भावना र महत्वको विषयमा ३ दिने अध्ययन अवलोकन कार्यक्रम गरेको छ । हलेसी महादेवस्थानमा रहेका विभिन्न शक्तिपिठ तथा अनौठो सत्यहरुको खोज गर्ने क्रममा टोलीले वरिपरि रहेको ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलको अध्ययन गरेको प्रतिष्ठानका अध्यक्ष सुविन्द्र गिरीले जानकारी दिए ।

तीनदिने भ्रमणका क्रममा हलेसी महादेव मन्दिर नजिकै रहेको अर्खौलेको गुप्तेश्वर गुफा, हलेसी, सल्ले, अर्खौले र धितुङ गाविसको बीचमा रहेको किरात राईहरुको उद्गमस्थल तुवाचुङ, जायजुम, हलेसी नजिकै रहेको बौद्ध धर्मावलम्बीहरु ऐतिहासिक कीवंदन्ती रहेको भनिएको जगदम्बा माईको अवस्थाका बारेमा जानकारी लिने तथा आवश्यक सुधारको बारेमा सल्लाह सुझाव राख्ने काम भएको अध्यक्ष गिरीले जनाएका छन् । सप्तेश्वर गुफा एक ऐतिहासिक र अचम्मलाग्दो गुफा रहेको उनले बताए । बाहिरबाट झट्ट हेर्दा बाघको मुख जस्तै देखिने उक्त गुफाभित्र पानीको झरना पाइने उनले बताए । यसका संरक्षणका लागि शिवराज राईको नेतृत्वमा समितिसमेत बनिसकेकाले अब प्रवद्र्धन गर्न सजिलो हुने उनको तर्क रहेको छ ।

यस्तै तुवाचुङ जायजुम संरक्षणका हिसाबले निकै माथि रहेको बताउँदै गिरीले भने, ‘किरात समुदायको सक्रियताले यस स्थानको भने केही सुधार भएका छन् ।’ हलेसी क्षेत्रको सबैभन्दा उच्च ठाउँमा रहेको यस स्थानबाट उत्तरतर्फको हिमाल राम्ररी देख्न पाइने भएकाले यसको अझै महत्व रहेको उनको भनाइ छ ।

halesi-copyयस्तै मंगलटारको घुर्चुस्थित रहेको सत्तेश्वर महादेव प्रचार अभावको कारण ओझेलमा रहेको प्रतिष्ठानका कोषाध्याक्ष सयन्द्र राईले बताए । सत्तेश्वर गुफामा साँच्चिकै सत्य जस्तै लाग्ने, शेष नागको शिला, वास्तविकझै लाग्ने गरी बजाउन मिल्ने ढुंगाको मादल, खाना पकाउन मिल्ने किरात समुदायले उपयोग गर्ने चुल्हा तथा अन्य मूर्ति तथा आकारहरु रहेको उनले बताए । उनले भने, ‘यो हलेसीजस्तै दोस्रो राम्रो धार्मिक तथा पर्यटकीय ऐतिहासिक स्थल रहेछ । तर कतिपय गाउँलेलाई पनि थाहा नै छैन ।’ उनले योसँगै ऐतिहासिक तथा अचम्मलाग्दो ताराखसे ओडार पनि मंगलटारमा रहेको बताए । ‘भिरको टुप्पोमा पहरालाई कुँदेर बनाएकोजस्तो लाग्ने गरी करिब १५, २० मिटर गहिरो खाडल रहेछ । यो कसैले बनाएको त पक्कै होइन होला ।’ उनले भने, ‘कसैले कुँदेको भए कि यो ऐतिहासिक छ । होइन भने यो जे भनिएको छ त्यो सत्य हो तारा खसेर नै भ्वाङ परेको हो ।’ यसको तलैसम्म मान्छे जान सकिने उनको भनाइ छ ।

हलेसी महादेवस्थान नजिकै रहे पनि गुर्दुम (मन्जुश्री) डाँडासमेत सबैलाई जानकारी नरहेको भन्दै यसक्षेत्रको पनि विकास हुन जरुरी रहेको कोषाध्याक्ष राईले बताए ।

प्रतिक्रिया