देउवालाई उस्तै सकस

ser-bahadu-deubaकाठमाडौं, ३ कात्तिक । कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीभित्रको आन्तरिक कलहका कारण समस्याको दलदलमा फस्दै गएका छन् । कांग्रेसभित्रको आन्तरिक कलहकै कारण पदाधिकारी चयन र राज्यमन्त्री सिफारिसमा समेत ढिलाइ भएको छ ।

माओवादी केन्द्रसँग सरकार बनाएको साढे २ महिना बितिसक्दा पनि सभापति देउवाले राज्यमन्त्री चयन गर्न सकिरहेका छैनन् । माओवादी केन्द्रले भने आफ्ना भागमा परेका सबै मन्त्रालयमा मन्त्री तथा राज्यमन्त्री चयन गरिसकेको छ । र, योपटक तुलनात्मक रूपमा कम विवाद पनि रह्यो । तर, कांग्रेस भने अझै अलमलमै छ ।

सभापति निर्वाचित भएको ६ महिनासम्म पनि पार्टीका उच्च पदाधिकारी मनोनयन गर्न नसकेर कमजोर सभापतिको पगरी गुँथ्ने अवस्था आएपछि देउवाले केन्द्रीय समितिमा सबै कुराको छिनोफानो हुने बताएका छन् । गुटउपगुटका कारणले आफू समस्या परेको संकेत गर्दै मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा देउवाले भने, ‘अहिले कांग्रेसभित्र देखिएको गुट र उपगुटबारे केन्द्रीय समितिको बैठकमा छलफल हुन्छ ।’

स्रोतका अनुसार देउवाले केन्द्रीय समितिको बैठक अघि नै राज्यमन्त्री बनाउन चाहेका थिए । उनले प्रधानमन्त्री दाहालसँग कांग्रेसका ९ राज्यमन्त्री बनाउन आग्रह गरेका छन् । देउवालाई गुट र उपगुट मिलाउन नसकेको आरोप लगाउँदै वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिले चाहेमा आफू सघाउन तयार रहेको बताउँदै आएका छन् । ‘म हाम्रो पार्टीलाई एक बनाएर लैजानका लागि सभापतिलाई बारम्बार आग्रह गर्दै आएको छु र फेरि पनि यही आग्रह गर्दछु । उहाँ यो काममा अघि बढे मेरो पनि सहयोग रहनेछ’, सोही कार्यक्रममा पौडेलले भने । वरिष्ठ नेता पौडेलले आफू पार्टीभित्र गुट बनाउने कुरामा विश्वास नगर्ने र सम्पूर्ण बाहिरी चुनौतिको सामना र समाधान गर्ने कार्यमा लागेको बताए ।

कांग्रेसकै धेरै नेता चाहिँ पार्टीभित्र गुट कम भएकोमा विश्वास गर्दैनन् । कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला पार्टीमा पहिले संस्थापन र विपक्षी गुट मात्र हुने गरेकोमा अहिले तेस्रो गुट पनि देखिएको बताउँछन् । ‘मैले त पार्टीभित्र कोही समग्र कांग्रेस भेटेकै छैन । कोही देउवा कांग्रेस छन् त कोही पौडेल कांग्रेस । हुँदा हुँदा अब त सिटौला कांग्रेस पनि उदाउन थालेको छ’, कोइरालाले पनि सोही कार्यक्रममा भने ।

अहिले कांग्रेसभित्र मनोनीत गरिने उपसभापति, महामन्त्री तथा सहमहामन्त्रीको कारणले पनि गुटगत राजनीति चुलिएको छ । पार्टी छलफल नै नगरी यो काममा सभापति देउवा अघि बढेको उनीमाथि आरोप छ । उपसभापतिमा कसलाई मनोनीत गर्ने भन्ने विषयले देउवालाई गाह्रो छ । पहिले उपसभापति तथा महामन्त्री संस्थापनको तथा सहमहामन्त्री विपक्षी गुटको रहेको थियो । यसरी नै व्यवस्थापन गर्नुपर्ने बाध्यताका कारण पनि देउवालाई चुनौती छ ।

कुन गुटका को–को राज्यमन्त्री बनाउने भन्ने समस्या पनि देउवाको टाउको दुखाइको विषय बनेको छ । कतिपयलाई ‘अहिले दाहालको मन्त्रिमण्डलमा नखाऊ पछि दिउँला’ भनेर पनि देउवाले चित्तसमेत बुझाउन लगाएका छन् । आकांक्षीहरूले चाहिँ यही मन्त्रिमण्डलमा पद नपाए विद्रोह गर्ने धम्कीसमेत दिँदै हिँडेका छन् । स्रोतका अनुसार राज्यमन्त्रीका सभापति देउवाले अब्दुल रज्जाक, ध्यानगोविन्द रन्जित, सीताराम महतो, सुजता परियार, दीर्घराज भाट, जीवन परियार, सुरेन्द्र आचार्य, तारामान गुरुङ, इन्द्र बानियाँलगायतलाई राज्यमन्त्री बनाउन चाहेका छन् । यसरी बनाउँदा सबैलाई समेट्न सजिलो हुने देउवाको बुझाइ रहेको स्रोतको दाबी छ ।

प्रतिक्रिया