संसद् लम्बिदा सांसद् आक्रोशित

Samsad-Meeting-Biccकाठमाडौं, १७ असोज । अपेक्षा विपरीत संसद् लम्बिएपछि अधिकांश सांसद् सभामुखप्रति आक्रोशित भएका छन् । आइतबारबाट छठसम्मका लागि संसद् स्थगित हुने धेरैको अपेक्षा थियो । तर, सभामुख ओनसरी घर्तीमगरले १८ गते पुनः बैठक डाकेपछि सांसद आक्रोशित भएका हुन् ।

बैठक कक्षबाट निस्केर संसदको चमेना गृहमा भेला भएका केही सांसद निर्वाचन क्षेत्रमा दसैँ शुभकामना कार्यक्रम सुरु हुँदासमेत संसद बैठकमा सहभागी हुनुपरेको भन्दै आक्रोश पोखिरहेका थिए । चमेना गृहमा गफिँदै गरेका मकवानपुर–३ का सांसद अनन्त पौडेलले भने, ‘बिजनेस नभइकन हाउस लम्बिरहेको छ । निर्वाचन क्षेत्रमा कार्यक्रम सुरु भइसक्यो, जान पाएको छैन’, उनले प्रश्न गरे ‘हैन, यो प्रत्यक्ष निर्वाचित सांसद कम भएको पार्टी नेतृत्वको सरकारले निर्वाचन क्षेत्रको महत्व बुझ्दैन कि क्या हो ?’

एकछिनमा ओखलढुंगा २ का सांसद रामहरि खतिवडा संसदीय मामिला पत्रकार समाजका अध्यक्ष राजेन्द्र फुयाँलसँग गफिन आए । फुयाँलले उनलाई भने, ‘दाइ, संसद बैठक पर्सिसम्म लम्बियो त ।’ ‘खै के गर्न खोज्या हो । महत्वपूर्ण विधेयक पनि केही छैन, चाडवाडको बेलामा छिट्टै सकाए हुन्थ्यो’, उनको जवाफ थियो । निर्वाचन क्षेत्रमा दसैँ शुभकामना कार्यक्रम धमाधम सुरु भइरहेका बेला संसद् बैठकमा सहभागी हुनुपरेपछि अधिकांश सांसद रुष्ट छन् ।

कतिपय सांसद बैठक छाडेर निर्वाचन क्षेत्रमा पुगिसकेका छन् । कांग्रेसकी सांसद रीता शाही हुम्ला पुगिसकेको बताइन् । चाडबाडका बेला बैठक लम्ब्याउनु अव्यावहारिक भएको उनले तर्क गरिन् । ‘निर्वाचन क्षेत्रमा जनताहरूले कार्यक्रम आयोजना सुरु गरिसकेका छन् म त हुम्ला आइपुगेँ’, उनले भनिन्, ‘चाडपर्वको समयमा सांसदलाई छिटै बिदा नदिएर संसद बैठक सञ्चालन गरिरहनु अव्यवहारिक हो ।’ कतिपय सांसदले १६ गतेदेखि काठमाडौंमा नहुने जानकारी दलका प्रमुख सचेतकहरूलाई जानकारी गराएका थिए ।

आइतबारको बैठकमा सभामुख घर्तीले शून्य समयमा सांसदहरूलाई बोल्न दिइन् । विशेष समय हटाएर कार्यसूचीमा प्रवेश गरिन् । संसदको कार्यसूची संवैधानिक व्यवस्था अनुसारका आयोगका विधेयक समितिमा दफाबार छलफलका लागि पठाउने प्रस्ताव पारित गर्नमै केन्द्रित रह्यो ।

संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले प्रस्तुत गरेको ५ वटै प्रस्ताव पारित गरेपछि संसद् बैठक १८ असोजसम्मका लागि स्थगित भयो ।

सरकारले संविधान कार्यान्वयनसम्बन्धी केही विधेयक संसद्मा पेस गर्ने तयारी गरेपछि बैठक १८ गतेसम्मका लागि लम्बिएको हो । सरकारले संसद् सचिवालयमा निर्वाचनसम्बन्धी विधेयक, राजनीतिक दलसम्बन्धी विधेयक र मतदातासम्बन्धी विधेयक दर्ता गराएको छ । मंगलबारको संसद बैठकमा सरकारले निर्वाचनसम्बन्धी विधेयक पेस गर्ने जानकारी पाएको संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले बताए । ‘सरकारले निर्वाचनसम्बन्धी विधेयक मंगलबार पेस गर्ने तयारी गरेकाले सांसदहरूको आग्रहकाबीच पनि बैठक लम्बियो’ उनले भने । सांसदलाई डेढ महिना बिदा दिने तयारी गरिएको बुझिएको छ ।

संसद् बैठक कहिलेसम्म सञ्चालन गर्ने भन्ने विषयमा शुक्रबार सभामुख ओनसरी घर्तीले कार्यव्यवस्था परामर्श समितिमा छलफल गरिन् । दलका प्रमुख सचेतक सम्मिलित समितिले कम्तिमा २३ कात्तिकसम्म बैठक स्थगित गर्न सभामुखलाई सुझाव दिएको थियो । ‘सरकारसँग महत्वपूर्ण विधेयक भएमा १÷२ दिन संसद बैठक चलाउँ नभए सांसदहरू निर्वाचन क्षेत्रमा पनि व्यस्त हुनुपर्छ । निर्वाचन क्षेत्र टाढा भएका सांसद पनि छन्’, राप्रपा नेपालका प्रमुख सचेतक दीलनाथ गिरीले भने, ‘बैठक २३ कात्तिकसम्म स्थगित गर्न हामीले सभामुखलाई सल्लाह दियौँ ।’

संसद्को अधिवेशन अन्त्य नगरी छठ पर्वपछि मात्र बैठक सञ्चालन गर्ने तयारी छ । संसद्को चालू अधिवेशन २१ वैशाखबाट सुरु भएको थियो ।

प्रतिक्रिया