‘म चिच्याएँ, ड्राइभरले घ्याच्चै गाडी रोके’

1126काठमाडौं, ६ असोज । ‘ऊ मेरो काखैमा आएर लाजै नमानी थ्याच्चै बस्योे । म चिच्याएँ, बसका भएका सबैका नजर एकैपटक हाम्रैतिर ठोक्किए । ड्राइभरले आत्तिएर घ्याच्चै गाडी रोके । त्यतिन्जेल कन्डक्टर हाम्रो छेउ आइसकेका थिए । ड्राइभरले मेरो काखबाट ऊ नउठे गाडी नै अघि नबढाउने अड्डी लिएपछि बल्ल उनी उठे ।’

हामी कलेजबाट भक्तपुर साथीको घरमा जान हिँडेका २ जना केटी । रत्नपार्कस्थित पुरानो बसपार्कमै गएर चढेकाले हामीले बसको बीचतिरको सिट पाएका थियौँ । बसपार्कमै बस भरिएर उभिनेहरू प्रशस्त थिए । नयाँ बानेश्वरसम्म आउँदा त खुट्टो हाल्ने ठाउँ थिएन । ती हेर्दा ३५ वर्षजस्ता देखिने पुरुष नयाँबानेश्वरबाटै चढेको हुनुपर्छ । अगाडिबाट ठेलिँदै ठेलिँदै उनी मीनभवनमा पुग्दा मेरो काखमा बस्न आइपुगेका थिए । उनी बिरामी वा असक्तजस्ता पनि थिएनन् । हृष्टपुष्टै देखिन्थे । कुनै गाउँबाट भर्खर झरेकाले केही थाहा नपाएकाजस्तापनि थिएनन् ।

यो घटनापछि सँगैकी साथी गीता नेपालले केही दिनअघिको आफ्नो भोगाई सुनाइन्, ‘बस त्यतिभिड पनि थिएन । तर, बस्ने सिट नभएकाले त्यस्तै १० जनाजति उभिएका थियौँ । टाँसिएर उभिनुपर्ने स्थिति थिएन । एक अधवैँसै पुरुष टाँसिन आइपुग्यो । मेरो डन्डीमा समाएको हातनेरै उसले आफ्नो हात लग्यो र मेरो हात चलाउन थाल्यो । मैले हात हटाएर अलि पर सारेँ, ऊ पनि मसँगै स¥यो र उही क्रम दोहो¥यायो । मैले पछि फर्केर उसलाई आँखा तरेर हेरेपछि बल्ल मुक्ति पाएँ ।’

हामी आफ्नो गन्तव्यमा पुगेर बसमा भएको घटना अर्की साथीलाई सुनायौँ । साथी मुना बजगार्इंले अर्को आफ्नो भोगाइ सुनाइन् । उनले भनिन्, ‘म कलेज जान भक्तपुरबाट बस चढेको बस भीड थियो । कलेज जान हतारो भएकाले त्यसैमा नचढी सुख थिएन । एउटा अधवँैसे पुरुषले डन्डीमा समाएको मेरो हातमा उसको हातले चलाउन थाल्यो । भीड बसमा चलमलाउने ठाउँसमेत नभएकाले म सहन बाध्य थिएँ । त्यसपछि उसले मेरो खुट्टामा उसको खुट्टाले चलाउन थाल्यो, अनि केश तान्यो, अनि एउटा हात विस्तारै मेरो छातीमा पु¥यायो । म बाध्य भएर को हो यो ? लाज छैन ? भनेर कराउन बाध्य भएँ ।’

कलेजकी अर्की साथी सविता पुडासैनीले सुनाएकी अर्को घटना सम्झेँ । उसले भनेकी थिई, ‘होइन यी पुरुषलाई के लाग्छ हँ ? केटी भनेको भोग्यवस्तु मात्रै ठान्छन् ।’ उसको आक्रोश देखेर हामीले उसलाई उडाएर भनेका थियौँ, ‘तैले मस्का मारिस् होला अनि । नभए कसको हिम्मत हुन्छ केटीलाई चलाउने । यो त पट्ने खालकी रै’छे भन्ने ठान्यो होला नी !’ ऊ झन् आक्रोशित हुँदै थिई । हामी झन् उसलाई उडाएर मजा लिँदै थियौँ ।

यतिखेर सवितालाई उडाएर मज्जा लिएकामा मलाई ग्लानी भएको थियो । भीडमा उभिँदा पनि चढने र ओर्लनेको आउने, जाने भइरहेकाले ठेलाठेल भएर ऊ हाम्रो काखमा बस्न पुगेको थियो । यस्तोमा त हामीलाई यति पीडा भयो भने सविताले त उसलाई पछाडीबाट बारम्बार धक्का दिएको सुनाउँथी ।

आरआर कलेज पढने जोरपाटीकी दुर्गा नेपाल भन्छिन्, ‘एकातिर ब्याग हुन्छ । भीडले गर्दा एउटा हातले माथि डन्डी समाउनु प¥यो अर्को हातले पनि छेउको सिट नसमाएर धकेलेर लडाउँला झैँ गर्छन् । यस्तो अवस्थामा पुरुषको ध्यान भने महिलाको छातीमा जाने गरेको छ ।’ उनले थपिन्, ‘रिसाउँदा पनि धेरैजसोले यस्ताले त नीजि कार चढेर हिँड्नु नि कसैको धक्का लाग्दैन, भनेर प्रतिक्रिया दिन्छन् ।’

राजधानीको सार्वजनिक यातायातमा दैनिक सफर गर्नुपर्ने उमेरदार कोही महिला नहोलान् जसले यस्तो पीडा नभोगेको होस् । यस्ता कुरामा प्रहरीमा उजुरी गर्न सम्बन्धित व्यक्तिको नाम ठेगाना थाहा हुँदैन । उजुरी गरुञ्जेल सो व्यक्ति कहाँ पुगिसकेको हुन्छ । ‘महिलाहरू आफूलाई नपरुञ्जेल चेत्दैनन् । सार्वजनिक सवारी साधनमा एउटा महिला एक्ली हुँदिन । अर्कालाई परेको समस्या वा पीडामा अर्की महिलाले साथ दिने हो भने यस्ता घटनामा कमी आउने महिला अधिकारकर्मी तुलसा दाहाल बताउँछिन् । कतिपय ठाउँमा महिलाले आत्मसुरक्षाका लागि शारीरिक तालिम पनि लिन थालेको बताउँदै उनी भन्छिन्, ‘लजाएर वा अरूले के भन्ला भनेर डराएर हुँदैन । पीडित स्वयं प्रतिकारमा उत्रनुपर्छ । यस्ता समस्याको समाधान यही हो ।’

प्रतिक्रिया