कैलालीबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु

धनगढी, १ जेठ । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बिमा गराएकालाई नेपालमा पहिलो पटक स्वास्थ्य सेवा प्रदान गर्ने कार्य कैलालीबाट सुरु गर्न लागिएको छ । सरकारको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डा गुणराज लोहनीले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत बिमाको रकम बुझाई सदस्यता लिएकालाई स्वास्थ्य सेवा प्रदान गर्न लागिएको जानकारी दिएका छन् ।

कैलाली जिल्लामा बिमाबापतको रकम बुझाई गएको चैत महिनामा सदस्यता लिने ३ सय ९७ घर परिवारका २ हजार २६ जनालाई यो कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवा प्रदान गर्न लागिएको हो ।

जिल्लामा यो सेवा उपलब्ध गराउन चौमाला, भजनी, जोशीपुर, र उदासीपुर स्वास्थ्य केन्द्रका साथै सेती अञ्चल अस्पताल र टीकापुर अस्पतालसँग सम्झौता गरिसकिएको छ । यसबाहेक सिफारिस गर्नुपर्ने बिरामीको हकमा बाँकेको भेरी अञ्चल अस्पतालसँग समेत सम्झौता गरिएको जनाइएको छ ।

सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति गठन आदेश ०७१ तथा सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम सञ्चालन नियमावली ०७२ बामोजिम सबै नेपालीलाई गुणस्तरीय स्वास्थ्य सेवा सरल, सहज तथा प्रभावकारी रूपमा उपलब्ध गराई स्वस्थ्य समाजको निर्माण गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागिएको निर्देशक डा लोहनीले बताए ।

विसं ०७३ वैशाखदेखि सदस्यता लिएकालाई भने आगामी भदौ महिनादेखि सेवा प्रदान गरिनेछ । पहिलो चरणमा देशका कैलालीसहित बागलुङ र इलाम जिल्लामा लागू गर्ने लक्ष्य लिइएको छ ।

५ जना सदस्यसम्म भएको परिवारलाई एक परिवार मानेर वार्षिक २ हजार ५ सय योगदान रकम (प्रिमियम शुल्क) बुझाई ५० हजार रूपैयाँ बराबरको स्वास्थ्य सेवा सुविधा तोकिएको स्वास्थ्य संस्थाबाट पाउन सक्ने छन् । ५ भन्दा बढी सदस्य भएको परिवारको हकमा बढेको सदस्य प्रत्येकको लागि ४ सय २५ का दरले थप गर्दै जानुपर्ने र यसरी सदस्यता लिँदा सम्बन्धित परिवारको सुविधा थैलीमा समेत १० हजार रूपैयाँका दरले थप हुँदै जानेछ ।

एक वर्षका लागि मान्य हुने यो सेवा सुविधा लिन चाहनेले अर्को वर्ष पुनः बिमाबापतको रकम बुझाई नवीकरण गर्नुपर्ने हुन्छ । नेपालको संविधान ०७२ ले आधारभूत स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकका रूपमा प्रत्याभूत गरेकोको परिप्रेक्षयमा सरकारले यो कार्यक्रम पहिलो पटक कार्यान्वयनमा ल्याउन लागेको हो ।

कार्यक्रमअन्तर्गत बिमा रकम बुझाई सदस्यता लिएकालाई बहिरंग, अन्तरंग र आकस्मिक सेवा, कार्यक्रमले तोकेका निदानात्मक र परीक्षण सेवा र औषधि अन्तरंग सेवातर्फ परीक्षण, एक्सरेलगायत सेवा सुविधा पाउने जनाइएको छ ।

प्रतिक्रिया