केन्द्रीय समितिमा ओलीको चर्को आलोचना : गुटबन्दी गरेको आरोप

kp oliकाठमाडौं, २९ चैत । एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पार्टीभित्र गुटबन्दीलाई प्रोत्साहन गरेको आरोप लगाइएको छ । एमालेको जारी केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय सदस्यहरूले अध्यक्ष ओलीमाथि नेता तथा कार्यकर्तालाई समान व्यवहार गर्नुको साटो निकटताका आधारमा काखा र पाखाको व्यवहार गरेर गुटबन्दीलाई प्रोत्साहन गरेको आरोप लगाएका हुन् ।

केन्द्रीय सदस्यहरूलाई १० वटा समूहमा विभाजन गरेर अध्यक्ष ओलीको प्रतिवेदनमाथि छलफल गराइएकामा समूहका नेताहरूले सोमबार आआफ्नो समूहको निष्कर्षसहितको सुझाव पेस गर्ने क्रममा सो आरोप लगाएको श्रोतले बताएको छ । नवौँ महाधिवेशन सम्पन्न भएको २१ महिना बितिसके पनि अध्यक्ष ओलीले महाधिवेशनमा प्रकट भएको मतभिन्नतालाई आधार मानेर व्यवहार गरेको केन्द्रीय सदस्यको आरोप छ ।

उनीहरूले नेतृत्वले सबैलाई समेटेर पार्टीलाई एकताबद्ध बनाउन ध्यान नै नदिएको आरोप लगाएका छन् । संविधानको प्रभावकारी कार्यान्वयनका लागि सबै राजनीतिक दलसँग समन्वय गर्नुपर्ने पद्मा बसेको व्यक्तिले पार्टीलाई नै मिलाउन नसक्दा नराम्रो सन्देश नजानेतर्फ सचेतसमेत गराएको बताइएको छ ।

समूह नेताहरूले अध्यक्ष एवं प्रधानमन्त्री ओलीमाथि आफू निकटका नेताहरूसँग मात्र सल्लाह गरेर अगाडि बढेको परिणाम गठन भएको ६ महिना बित्दा पनि सरकारले प्रभावकारी काम गर्न नसकेको आरोपसमेत लगाएका छन् । उनीहरूले बजारमा बढेको कालोबजारी र महँगीको अवस्थाले पार्टीको नेतृत्वमा सरकार छ भन्नसमेत लाज लाग्ने स्थिति रहेको बताएका छन् । उनीहरूले कालोबजारी नियन्त्रणका लागि सरकारलाई केन्द्रीय समितिको बैठकले नै निर्देशन दिनुपर्ने माग गरेका छन् । बजारमा सरकारको सार्थक हस्तक्षेप अनिवार्य रहेको भन्दै उनीहरूले तत्काल स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्नसमेत माग गरेको श्रोतले बताएको छ ।

अध्यक्ष ओलीले पार्टीको विधानको धारा ७४ को बाधा अड्काउ फुकाउका माध्यमबाट स्थायी कमिटीका सदस्यको संयोजकत्वमा प्रदेश कमिटी गठनको प्रस्ताव गरेकामा केन्द्रीय सदस्यहरूले भने त्यसो गर्नुभन्दा जतिसक्दो चाँडो विधान अधिवेशन गरेर विधान संशोधन गरी संविधान अनुरूपमा संरचना बनाउनुपर्ने बताएका छन् । केन्द्रीय कमिटीको बैठक मंगलबार पनि बस्नेछ ।

प्रतिक्रिया