राष्ट्रिय दोहोरी गीतको तयारी तीव्र

Dohori-Press-meet copyकाठमाडौं, २३ चैत । ‘दोस्रो अन्तर दोहोरी साँझस्तरीय राष्ट्रिय दोहोरी गीत रनिङ सिल्ड प्रतियोगिता–२०७२’ २४ चैतदेखि हुने भएको छ । ‘हाम्रो अभियान, लोक संस्कृति संरक्षण, स्रस्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन’ भन्ने मूल नाराका साथ २८ चैतेसम्म भृकुटीमण्डपमा चल्ने प्रतियोगितामा व्यावसायिक तथा लोकप्रिय दोहोरी गायक गायिकाले भाग लिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा हुने प्रतियोगितामा सहभागी हुन हालसम्म २२ दोहोरी साँझले आवेदन दिइसकेका छन् । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने समूहले ७७ हजार ७ सय ७७ रुपैयाँका साथै एउटा गीत रेकर्ड गर्ने स्टुडियो खर्च, छायांकन खर्च र प्रवद्र्धन खर्च प्राप्त गर्नेछ । त्यस्तै द्वितीयले ५५ हजार ५ सय ५५, तृतीयले ३३ हजार ३ सय ३३ र सात्वनाले ११ हजार १ सय ११ रुपैयाँ पाउनेछन् ।

त्यसैगरी उत्कृष्ट गायक गायिकालाई ९ हजार ९ सय ९९ रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्माले लोकसंस्कृतिका माध्यमले देशको सामाजिक सद्भाव र एकतालाई बलियो बनाउँदै समग्र कला र गीतसंगीतको विकासमा टेवा पु¥याउने उद्देश्य आफूहरूको रहेको बताए । पूर्वअध्यक्ष दुर्गा रायमाझीले पछिल्लो समयमा लोक दोहोरीमा केही छाडापन आएका गुनासा आएकाले त्यसलाई सुधार्न प्रतियोगिता उपगोगी हुने विश्वास गरे ।

प्रचारप्रसार संयोजक बद्री पंगेनीले देशको मौलिक संस्कृति बचाउन यस्ता प्रतियोगिता आयोजना गर्नु अनिवार्य भएकाले राज्यका तर्फबाट पनि सहयोगको अपेक्षा गरेका छन् । ५ दिनसम्म चल्ने प्रतियोगिताभर ख्यातिप्राप्त गायक÷गायिकाको प्रस्तुति, हास्य कलाकारको प्रदर्शन तथा आकर्षक नृत्य देखाइने आयोजकको भनाइ छ ।

प्रतिक्रिया