पौरखीलाई जहिँतहीँ

tarkari khetiम्याग्दीको घार–५ का ६५ वर्षीय रामचन्द्र बरुवालले तरकारी खेती सुरु गर्दा न गाउँमा तरकारी किनेर खाने चलन थियो, न त व्यावसायिक तरकारी खेती नै । तरकारी लगाए पनि घरायसी उपभोग, छिमेकी र आफन्तलाई कोसेली दिने मात्र चलन थियो । २१ वर्षअघि मुस्ताङमा सरकारी जागिर छाडेर तरकारी खेती गर्न घर फर्किएका थिए बरुवाल । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले सञ्चालन गरेको कृषि तालिममा सहभागी भएपछि ०५१ सालमा उनले सो क्षेत्रमै पहिलोपटक तरकारीका बिरुवा उत्पादन गर्न थालेका थिए ।

‘तरकारी पनि किनेर खान्छन् र ? भनेर प्रश्न गर्थे,’ बरुवाल सम्झन्छन्, ‘ताजा तरकारी नबिक्ने भएकाले जीविकोपार्जनका लागि करेसाबारीमा लगाउने तरकारीका बेर्ना उत्पादन गरेर बेच्थेँ ।’ तर अहिले बरुवालका दिन फिरेका छन् । फोनमै तरकारीको ‘अर्डर’ आउँछ । बारीबाटै तरकारी बिक्री हुन्छ । ‘पहिला तरकारी खेती गर्ने र बेच्ने चलन थिएन,’ म्याग्दीका अगुवा कृषकहरूमध्येका एक बरुवाल भन्छन्, ‘अहिले गाउँगाउँमा तरकारी खेतीको लहर नै चलेको छ ।’ घारको पैँयुपाटास्थित ११ रोपनी पुख्र्यौली खेतमा ४ वर्षअघि व्यावसायिक तरकारी खेती सुरु गरेका बरुवालले वार्षिक ७ लाख रुपैयाँ बराबरको तरकारी बेच्छन् ।

मौसमी रूपमा अन्य ५ जनालाई रोजगारी दिएका बरुवाल खर्च कटाएर वार्षिक झन्डै ४ लाख रुपैयाँ वचत गर्छन् । तरकारी बेचेको आम्दानीले घरजग्गा किन्दा लागेको ऋण तिरेका बरुवालले खेती विस्तार गरेर मासिक १ लाख रुपैयाँसम्म आम्दानी गर्ने लक्ष्य राखेका छन् । ‘लाहुरे’को जिल्लाको रूपमा चिनिने म्याग्दीमा केही वर्षअघिसम्म व्यावसायिक तरकारी खेती गरेका कृषक भेटाउन मुस्किल हुन्थ्यो । देशमा द्वन्द्वको अन्त्य भई शान्ति प्रक्रिया सुरु भएपछि व्यावसायिक तरकारी खेतीको लहर चलेको म्याग्दीमा मिहिनेत गर्न सकेमा आफ्नै गाउँठाउँमा आयआर्जनको सम्भावना रहेको उदाहरण प्रस्तुत गर्न सफल धेरै कृषक भेटिन थालेका छन् ।

यसको नमुनाको रूपमा लिन सकिन्छ बेनी नगरपालिका–१ रत्नेचौरका ४५ वर्षीय नीरबहादुर थापालाई । गैरसरकारी संस्था धौलागिरि सामुदायिक स्रोत विकास केन्द्र (डिसिआरडिसी) मा १० वर्षसम्म कर्मचारीको रूपमा काम गरेका थापा जागिरबाट भन्दा तरकारी खेतीको कमाइबाट सन्तुष्ट छन् । बेनी–बागलुङ सडकको छेउमा रत्नेचौर गाउँभन्दा तलतिर ०६८ सालमा ६ रोपनी जमिन भाडामा लिएर तरकारी खेती थालेका थापाले गत फागुन महिनामा १ लाख १२ हजार रुपैयाँको गोलभेँडा बेचे । ‘एकदिन ४ सय ७७ किलोग्राम टमाटर बेचेर १८ हजार ४ सय ७७ रुपैयाँ आम्दानी भयो,’ खुसी व्यक्त गर्दै थापाले भने, ‘नासु सरहका कर्मचारीले महिनामा पाउने तलब बराबरको कमाइ एकै दिन हुँदाको क्षण निकै आनन्दको अनुभूति गरेँ ।’

६ रोपनी जमिनमा गोलभेँडाको साथै प्याजलगायत तरकारी लगाएका थापाले गत कात्तिकमा प्रतिकिलो १ सय रुपैयाँका दरले काउली बेचेर १३ हजार ४ सय आम्दानी गरेका थिए । बजारको मागअनुसारको मौसमी÷बेमौसमी तरकारी खेती गर्ने थापाले आफू स्वरोजगार बनेका मात्र छैनन् अरू ३ जनालाई रोजगारी पनि दिएका छन् । ‘आफन्त र छिमेकीले विदेश जान सल्लाह दिए पनि आफ्नै ठाउँको माटोमा परिश्रम गर्ने अठोटका साथ तरकारी खेती गरेको हुँ,’ थापाले भने, ‘मिहिनेत गर्नसके हाम्रै देशमा धेरै सम्भावनाहरू छन् ।’

४ वर्ष साउदी अरबमा काम गरेर घर फर्किएका बेनी नगरपालिका– १ रत्नेचौरका ५२ वर्षीय चन्द्रबहादुर महतलाई तरकारी खेती गरेपछि आम्दानीका लागि अरू बाटो रोज्नु परेको छैन । ०५५ सालदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका चन्द्रबहादुर र उनकी पत्नी कृष्णकुमारी महतले जीवनस्तर सुधार ल्याएको मात्र नभई नाम र दाम कमाउन पनि सफल भएका छन्, तरकारीबाटै । महत दम्पत्तीले एकै महिनामा डेढ लाख रुपैयाँसम्मको तरकारी बिक्री गर्छन् । २ जना मजदुरलाई ज्याला र अन्य खर्च कटाएर मासिक ४५ देखि ५० हजार रुपैयाँसम्म वचत हुने गरेको कृषक कृष्णकुमारीले बताइन् । तरकारी खेतीबाट उनीहरूले ३ छोराछोरीलाई पढाउने र घरखर्च चलाएर वचत पनि गर्ने गरेका छन् । स्वदेशमै रहेर तरकारीबाट ‘हरित क्रान्ति’ गरेका घारका रामचन्द्र, रत्नेचौरका नीरबहादुर र महत दम्पत्तीजस्तै पौरखी र मिहिनेती कृषकको सफलताले पैसाका लागि विदेशमा पुगेका युवालाई पनि यसतर्फ आकर्षित गरेको छ ।

ताकम–५ का ३७ वर्षीय धनबहादुर पौडेल टनेलभित्र लगाएको गोलभेँडा र तरकारी बिक्री गरेरै मालामाल बनेका छन् । ६ वर्ष भारत, ४ वर्ष साउदी र ३ महिना बहराइनमा काम गरेर गाउँ फर्किएका पौडेलले दरवाङ–२ ढाँडखर्कमा ५ रोपनी जग्गा भाडामा लिएर गोलभेँडा, बन्दा, काउली, सिमी, सागलगायत तरकारी खेती गरेका छन् । तरकारी बेचेर वार्षिक ३ लाख ५० हजार रुपैयाँ आम्दानी गर्न सफल पौडेल विदेशमा ८/१० हजार रुपैयाँका लागि अरूको अधिनमा रहेर, शोषण सहेर दुःख गर्नुभन्दा आफ्नै गाउँठाउँमा परिवारसँगै रमाएर तरकारी खेती गर्दा धेरै सुख, आम्दानी र सन्तोष मिलेको अनुभव सुनाउँछन् ।

सडकसँगै बजार विस्तार, छिटो आम्दानी गर्न सकिने, स्वरोजगारको अवसर, सरकारी तथा गैरसरकारी संघ संस्थाले सञ्चालन गर्ने तालिम र अनुदानका कार्यक्रमका कारण म्याग्दीका कृषकहरू व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका हुन् । खेती विस्तार र उत्पादन वृद्धि हुँदै गएकाले जिल्ला तरकारीमा आत्मनिर्भर बन्न थालेको छ । कृषि विकास कार्यालयको तथ्यांकअनुसार म्याग्दीमा वार्षिक १३ हजार मेट्रिकटन तरकारी खपत हुन्छ । पछिल्लो समय आन्तरिक उत्पादन वृद्धि भएपछि आयात घट्दै गएको बेनी क्याम्पस चोकका तरकारी व्यवसायी कृष्णप्रसाद सुवेदी बताउँछन् । उनका अनुसार म्याग्दीको तरकारी बजार केही वर्षअघिसम्म बागलुङ, चितवन, धादिङसहित तराईका जिल्ला र भारतबाट झिकाइने तरकारीमा निर्भर थियो ।

पछिल्लोसमय म्याग्दीको साथै पर्वतको धाइरिङ, मल्लाज र शालीजाका कृषकले स्थानीय तरकारी बजार धानेका छन् । आर्थिक वर्ष ०७१र७२ मा म्याग्दीमा १० हजार ६ सय १२ मेट्रिक टन तरकारी उत्पादन भएको थियो । हाल जिल्लामा ९ सय ८१ हेक्टर क्षेत्रफलमा व्यावसायिक तरकारी खेती हुँदैआएको छ । आर्थिक वर्ष ०६८र६९ मा ८ सय २९ हेक्टरमा भएको खेतीबाट ८ हजार ५ सय ९४ मेट्रिक तरकारी टन उत्पादन भएको थियो ।

कृषि विकास कार्यालयका योजना अधिकृत ज्योती क्षेत्रीका पछिल्ला ४ वर्षमा डेढ सय हेक्टरमा खेती विस्तार र २ हजार मेट्रिक टनभन्दा बढी उत्पादन बढेको छ । नाकाबन्दी, मधेस आन्दोलन र इन्धन अभावमा ढुवानीको समस्याले भारत तथा देशका अन्य जिल्लाबाट आयात हुन नसके पनि यहाँ अभाव नदेखिनुले पनि म्याग्दी तरकारीमा आत्मनिर्भर बन्दै गएको तथ्यलाई पुष्टि गर्छ ।

अर्कोतर्फ म्याग्दीबाट वार्षिक २५ करोड रुपैयाँ मूल्य बराबरको आलु र तरकारी बागलुङ, पर्वत र पोखरामा निर्यात हुने गरेको कृषि विकास कार्यालयको तथ्यांक छ । छिटो प्रतिफल प्राप्त हुने तरकारी खेती विस्तारका लागि युवा लक्ष्यित अनुदानका कार्यक्रम सञ्चालन गरेको वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताए । प्राविधिक तालिमका साथै कृषक समूहलाई अनुदानमा प्लास्टिक टनेल, बीऊ वितरण जस्ता कार्यक्रमहरू पनि सञ्चालन भइरहेका छन् ।

रत्नेचौर, ज्यामरुककोट, घतान, सिंगा, बाबियाचौर, पात्लेखेत, पिप्ले, दरवाङ, अर्मन, ताकम, बिम, राम्चे, हिस्तान, बेग, भुरुङ तातोपानी, शिख, घार, नारच्याङ, दानालगायत गाउँ तरकारी खेतीका लागि पकेट क्षेत्रको रुपमा विकास भएका छन् । पहिले घरमा उपभोग गर्ने तरकारी किन्ने कृषकहरू अहिले आफैँ बेचेर नगद आम्दानी गर्छन् ।

आयआर्जन र रोजगारीको अवसर सिर्जना हुनुका साथै जिल्लाको आर्थिक विकासमा पनि सघाउ पुग्ने सम्भावना रहेको तरकारी खेतीमा विभिन्न किसिमका चुनौतीहरू पनि देखिएका छन् । कृषकहरूका अनुसार एकताको कमी, बजार मूल्य नपाउने, ढुवानीको समस्या, मजदुर नपाउने र बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कृषि कर्जा प्राप्त गर्न अपनाउनुपर्ने झन्झटिलो प्रक्रिया तरकारी खेतीमा लाग्ने किसानले भोग्दै आएका समस्या हुन् ।

यसैगरी, कृषि प्रविधिज्ञको कमी, कृषकको सुविधाका लागि निर्माण भएका संकलन केन्द्रहरू उपयोगमा नआउनु, तालिम तथा गोष्ठीमा सदरमुकाम आसपासका कृषकहरूको बढी पहुँच हुनु र अनुदानमा पहुँचवाला कृषकको बोलवाला रहनुले पनि नगरपालिका बाहिरका क्षेत्रमा तरकारी खेती विस्तारका लागि समस्या देखिएको छ ।

कृषिउपज संकलन केन्द्रहरूको उपयोग गर्ने, हाटबजारको व्यवस्थित सञ्चालन गर्ने, तरकारीको मूल्यमा एकरूपता ल्याउने, जिल्ला बाहिरको बजार खोजी गर्ने, ढुवानी सहज बनाउने र कृषकलाई सरल तथा छिटो छरितो कृषि कर्जा र प्राविधिक सेवा उपलब्ध गराउने आवश्यकता रहेका यहाँका किसानहरू औँल्याउँछन् ।

प्रतिक्रिया