भरै राती १२ः१५ बजे महाभीडन्त

EL-Clasicoकाठमाडौं, २० चैत । एल क्लासिको रुपमा परिचित बार्सिलोना र रियल म्याड्रिडबीच शनिबार हुने खेलका लागि करौडौँ फुटबलप्रेमीहरू प्रतिक्षा गरिरहेका छन् । विश्वकै ध्यान खिच्ने यी दुई महारथीको भिडन्तले संसारको ध्यान फेरि स्पेनतिर तानिएको छ । शनिबार बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा, स्पेनको समयअनुसार राती ८.३० (नेपाली समयअनुसार भरै (आइतबार) राती १२ः१५) बजे एल क्लासिको सुरु हुँदैछ ।

ला लिगा (स्पेलको ‘ए’ डिभिजन लिग)को ३० खेलपछि बार्सिलोना ७६ अंकका साथ शिर्ष स्थानमा छ । १० अंकले पछि पर्दै तालिकाको तेस्रो स्थानमा रहेको रियल अंक दुरी घटाउँने दाउमा छ । अब ८ खेल मात्र बाँकी छदा घरेलु मैदानमा खेल जितेर म्याड्रिड माथिको दबाबलाई एकछत्र पार्ने रणनीतिमा बार्सिलोना देखिएको छ ।

प्रायः क्लासिको खेलहरूबाट नै स्पेनिस लिगाको उपाधिको धार छुट्टिदै आउँने गरेको ईतिहास भए पनि यसपटक त्यस्तो प्रतिस्पर्धा देखिँदैन । १० अंकले अगाडि रहेको बार्सिलोना ४० खेल सम्मको आफ्नो अपराजित यात्रालाई कायम राख्ने रणनीतिमा छ । यता बार्सिलोनालाई हराउँन सके रियलका लागि प्रतिष्ठाको बिषय बन्ने हुँदा ऊ यसैको दाउमा देखिन्छ । तर, यो खेल रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानलाई व्यक्तिगत रुपमा सबैभन्दा महत्वपूर्ण छ । यसपटकको एल क्लासिकोमा हार वा जितले उनको प्रशिक्षकको करियर रियलसँग जोडिएको हुँदा ज्यादै महत्वपूर्ण बनेको हो ।

घरेलु मैदानमा ४–० शून्यको गोल अन्तरले हारेपछि रियल म्याड्रिडले राफेल बेनेटिजलाई प्रशिक्षकबाट बिचैमा बर्खास्त गरेका कारण पनि जिदान पनि दबाबमा छन् । रियलका प्रशिक्षकको भविष्य, क्लासिको खेलसँग पनि जोडिने हुँदा, नजिताले जिदानको भविष्य निर्धारण गर्ने धेरैको अनुमान छ । क्लासिकोमा हार व्यहोरेपछि नै बेनेटिजलाई पनि खतराको घन्टी बजेको थियो । यसको अलवा प्राविधिक कमजोरीबाट ‘कोपा डे रे’ (स्पेनको अर्को प्रतिष्ठित प्रतियोगिता)बाट पनि रियल बाहिरिनु प¥यो ।

यी खराब नतिजाकै कारण अन्ततः जिनेदिन जिदानले सिजनको बिचैमा बेनेटिजलाई बिस्थापित गरेका थिए । तर, घरेलु मैदानमा तालिको दोस्रो स्थानमा रहेको एथ्लेटिक म्याड्रिडसँग हारपछि जिदानको पनि घन्टी बजिसकेको धेरैले बिश्लेषण गरेका छन् । जिदानका लागि आफूलाई बचाउँने सुनौलौ मौका हुने छ यसपटकको क्लासिको । लयमा रहेको बार्सिलोनालाई रोक्न कति चुनौतीपूर्ण छ भन्ने हेक्क जिदानलाई पनि पक्कै छ ।

बार्सिलोनाले आफ्नो अपराजित यात्रालाई बलियो प्रतिस्पर्धीसँग जोगाउँन सके त्यसलाई उपलब्धिको रुपमा ठान्ने विश्लेषकहरू बताउँछन् । बार्सिलोनालाई उपाधि रक्षाको लागि मात्र हार जितको नतिजाले, खासै असर पार्दैन । खेलमा हार व्यहोरे पनि बार्सिलोनाले रियलमाथि ७ अंकको अग्रता कायमै राख्नेछ ।

शनिबार राती (१२ः १५ बजे आइतबार) हुने क्लासिको दुवै टोली बीचको २ सय ३१ औँ भिडन्त हो । यी दुई टोली मैत्रीपूर्ण तथा अन्य खेल गरी २ सय ६३ पटक एक अर्का बीच भिडे पनि अफिसियल रूपमा भने २ सय ३१ पटक भिड्दै छन् । ला–लिगामा भने शनिबार १ सय ७२ औँ पटक यी दुई टोली आमनेसामने हुँदै छन् ।

समग्रमा अफिसियल खेलमा म्याड्रिडले ९२ र बार्सिलोनाले ९० खेलमा जित हासिल गरेका छन् । ४८ खेल भने बराबरीमा नै सकिएको छ । तर मैत्रीपूर्ण खेललाई पनि गणना गर्दा २ सय ६३ खेलमा बार्सिलोनाले १ सय ९ खेलमा र म्याड्रिडले ९६ खेलमा जित दर्ता गरेको छ । ५८ खेल बराबरीमा सकिएको छ । यस्तै ला–लिगामा मात्र, १ सय ७१ खेलमा म्याड्रिड ७१ खेलमा बिजयी छ भने बार्सिलोनाले ६८ खेलमा जित दर्ता गराएको छ । ३२ खेल बराबरीमा सकिएको छ ।

अन्तिम क्लासिको सन् २०१५ नोभेम्बर २१ तारिख भएको थियो, रियलको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना ४–० को बिशाल गोल अन्तरले बिजयी बनेको थियो । अहिलेसम्म क्लासिकोमा मेस्सीले सर्वाधिक २१ गोल गरेका छन् । रोनाल्डोले १५ गोल गर्न सफल भएका छन् ।

यसपटकको एल क्यालसिको लियोनेल मेस्सी भर्सेज क्रिस्टियानो रोनाल्डोको रुपमा पनि हृरिएको छ । यसअघिको एल क्लासिकोमा दुवै जनाको खासै चर्चा थिएन । कारण, रोनाल्डो सिजनको शुरुवातमा खासै लयमा थिएनन् भने मेस्सी घाइते भएर टिममा भर्खर फर्केका थिए । तर अहिले दुवै लयमा फर्किएकाले पुन चर्चा बढेको हो ।

रोनाल्डोले क्लबका लागि यस सिजनमा लिगा र च्याम्पियन्समा गरी ३८ खेलमा ४१ गोल गरेका छन् । उनले लिगामा २८ र च्याम्पियन्समा १३ गोल गर्दै दुवै तर्फ टप स्कोरर छन् । यता फिफा बालोन डि’ओर–२०१५ का बिजेता लियोनल मेस्सीले पनि ३८ नै खेल खेल्दै बार्सिलोनाका लागि ३७ गोल गरेका छन् ।

अघिल्लो एल क्लासिकोबाट नै कमब्याक हुँदै मेस्सी पुनः लयमा फर्किएका थिए । लस पाल्मासँगको खेलमा घाईते बनेका मेस्सी यस सिजनमा करिब २ महिना मैदान बाहिर रहे । यता ब्राजेलीयन स्टार नेयमार र उरुग्वेका स्ट्राइकर लुईस सवारेज बार्सिलोनाका पछिल्ला खेलहरूमा अत्यन्तै राम्रो प्रदर्शन गरेकोले पनि बार्सिलोनाका समर्थकहरू धेरै ढुक्क देखिएका छन् । म्याड्रिडका घाइते बनेका खेलाडीहरू ग्यारेथ बेल र करिम बेन्जिमा पनि खेलमा फर्किएका हुँदा रियलका समर्थकहरूले पनि त्यसै आशा मारेका छैनन् ।

प्रतिक्रिया