उपाधिका लागि नेपाल श्रीलंकासँग भिड्ने

फिनिसिङ र क्विइक नै जितको आधार हो – कप्तान श्रेष्ठ

उपाधि जित्ने योजनाका साथ उत्रनेछौँ – प्रशिक्षक शाही

नेपालविरुद्ध रणनीति तयार बनाइसकेका छौँ– श्रीलंकाली प्रशिक्षक टुवान

sag basketballकाठमाडौं, १९ चैत । प्रथम महिला दक्षिण एसियाली बास्केटबल प्रतियोगिताको उपाधिका लागि नेपालले शनिबार श्रीलंकाको सामना गर्ने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा नेपाली महिला बास्केटबल टोलीले उपाधि हात पार्ने लक्ष्यका साथ बलियो टोली श्रीलंकाविरुद्ध उत्रनेछन् ।

पहिलोपटक अन्तर्राष्ट्रिय बास्केटबलमा फाइनलमा पुगेको नेपालको लागि आफ्नै घरेलु मैदानमा उपाधि जित्ने ठूलो अवसर छ । त्यससँगै नेपाली महिला टोलीले घरेलु दर्शकको पनि उत्तिकै साथ पाउने भएकाले केही सहज बन्नेछ । श्रीलंका पनि पहिलोपटक अन्तर्राष्ट्रिय महिला बास्केटबलको फाइनलमा पुगेको हो । तर, यसअघि खेलमा नेपालको तुलना उसले धेरै राम्रो प्रदर्शन गरिसकेको छ । तथापि, नेपाल र श्रीलंका दुवैले यसअघिका सबै देशविरुद्धको खेलमा सहज जित हात पारेको थियो । यसअघि ३ खेल खेलेको नेपालले तिनै खेलमा जित हासिल गर्दा श्रीलंकाले पनि सोही नतिजा निकालेको थियो । नेपालले पहिलो खेलमा बंगलादेशलाई ९२–२६ पराजित गरेको थियो भने दोस्रो खेलमा माल्दिभ्सलाई ७७–३७ ले हराएको थियो । त्यसैगरी तेस्रो खेलमा नेपालले भुटानमाथि ९०–३२ स्कोरको सहज जित निकाल्यो ।

त्यस्तै अन्तर्राष्ट्रिय महिला बास्केटबल च्याम्पियनसिपमा भने नेपालको यो दोस्रो सहभागिता हो । यसअघि नेपालले सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको १७औँ एसियाली खेलकुद प्रतियोगितामा भाग लिएको थियो । भर्खर भारतमा सम्पन्न दक्षिण एसियाली खेलकुद(साग)मा खेल्ने तयारीका साथ नेपाली टोली त्यहाँ गए पनि अन्तर्राष्टिय बास्केटबल महासंघले त्यसलाई मान्यता नदिएपछि नेपालले खेल्ने अवसर पाएन । तर, नेपाली महिला बास्केटबल टिमले त्यहाँ मैत्रिपूर्ण खेल खेलर भारत यात्रा उपलब्धीमूलक बनाएको थियो ।

पहिलोपटक भएको दक्षिण एसियाली महिला बास्केटबलको प्रतियोगिताको उपाधि घरमै राख्न महिला टोलीलाई अवसरसँगै ठूलो चुनौती छ । बास्केटबल प्रशिक्षक विकास शाही भन्छन्, ‘हामीभन्दा श्रीलंका अनुभवी टिम हो । उनीहरू शारीरिक र प्राविधिक रूपले केही बलिया छन् । तर, हाम्रो टिममा सबै योङ खेलाडी छन्, त्यसैले हाम्रो क्विइक छ । श्रीलंकाको खेल सबै हेरिसकेका छौँ त्यही अनुरूप तयारीका साथ फाइनलमा उत्रेनेछौँ । उनीहरूको ४ महत्वपूर्ण खेलाडी छन् । हामीसँग महत्वपूर्ण बेन्चका खेलाडी नभएकाले केही असहज पनि छ । तथापि, हामी उनीहरूलाई सतप्रतिशत खेलेर हराउने प्रयास गर्नेछौँ ।’

त्यस्तै शाही भन्छन्, ‘हाम्रो २ महत्वपूर्ण खेलाडी लुनिभा सिंह र स्नेहा श्रेष्ठको बोर्ड परीक्षा भइरहेका कारण राम्रोसँग ट्रेनिङमा फोकस गर्न पाइएको छैन् । तर, उनीहरूले सतप्रतिशत खेलिरहेका छन् जुन श्रीलंकाविरुद्ध पनि जारी रहनेछ ।’ नेपालकी कप्तान सदिना श्रेष्ठका अनुसार ‘नेपालभन्दा श्रीलंका केही बलियो छ त्यही अनुरूप हामी पनि सजक भएर खेल्नेछौँ । उनीहरूको जारी खेलहरू फिनिसिङ खासै राम्रो छैन् तर हाम्रो राम्रोपक्ष नै फिनिसिङ र क्विइक हो । त्यसैले सोही अनुरूप उपाधि हात पार्ने हाम्रो तयारी छ ।’ श्रीलंकाली टिमका प्रशिक्षक टुवान मुराड अमदले नेपाली टोलीको प्रदर्शनबारे जानकार भएकाले सोही अनुरूप नेपालविरुद्ध खेल्ने योजना रहेको बताए ।

दक्षिण एसियाली बलियो राष्ट्र भारत, अफगानिस्तान र पाकिस्तानको अनुपस्थितिले दुवै टिमलाई उपाधि होडमा केही सहजता भएको थियो । श्रीलंका नेपालभन्दा केही अनुभवी टोली हो । नेपालको तुलनामा श्रीलंकाले अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरै सहभागिता जनाइसकेको छ । यसअघि श्रीलंकाले शुक्रबार बंगलादेशविरुद्धको खेलमा उत्कृष्ट जित हात पार्दै नेपालविरुद्धको खेल राम्रो हुने संकेत दिइसकेको छ ।

श्रीलंका बंगलादेशलाई ११५–११ को फराकिलो स्कोरले स्तब्ध पारेको थियो । पहिलो क्वाटर २३–०४, दोस्रो २२–०२, तेस्रो २८–०३ र चौथौ क्वाटरमा ४२–०२ स्कोरले जित्दै श्रीलंकाले खेल आफ्नो पक्षमा पा¥यो । २० चैतसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालसहित श्रीलंका, बंगलादेश, माल्दिभ्स र भुटान गरी ५ राष्ट्रले भाग लिएका छन् ।

प्रतिक्रिया