नाकाबन्दीको कथा : ‘जन्मभूमि’

janmabhumiकाडमाडौं, १६ चैत । भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीलाई विषयवस्तुलाई समेटेर बनाइएको चलचित्र ‘जन्मभूमि’ १९ चैतबाट प्रदर्शनमा आउने भएको छ । चलचित्रमा भारतले नेपालमा निरन्तर गर्दै आएको राजनीतिक हस्तक्षेप र सीमा अतिक्रमण जस्ता विषयहरूलाई पनि समेटिएको निर्माता टोलीले जानकारी दिएको छ ।

निर्देशक मोहन निरौलाले नेपालको सार्वभौमसत्तामाथि भारतले प्रहार गर्दै आएकाले यो चलचित्र बनाउन प्रेरित भएको बताए । उनले भने, ‘हालै भारतले गरेको अघोषित नाकाबन्दीबिरुद्ध यो चलचित्रले धावा बोल्छ ।’ नेपाली चलचित्रका पुराना निर्देशकभित्र पर्ने निरौला आफ्नो सारा अनुभवलाई यो चलचित्रमा खन्याएको बताउँछन् । उनले झन्डै २० वर्ष अगाडि निर्माण भएकोे चलचित्र ‘जन्मभूमि’ लाई नयाँ कथावस्तु र पात्रहरूको चयन गर्दै पुनर्निर्माण गरिएको जानकारी दिए ।

निर्देशक निरौलाकै कथा तथा पटकथा रहेको यस चलचित्रको निर्माता सुरज गिरी, कार्यकारी निर्माता लक्ष्मी शर्मा र सहनिर्माता कविता निरौला रहेका छन् । चलचित्रमा विनोद श्रेष्ठ, अनु शाह, निश्मा घिमिरे, ओम प्रतिक, केशव भट्टराई, उत्तम केसी, सगुन श्रेष्ठ, रमेश अधिकारी, बिएस लामिछाने र मोहन निरौलाको हेर्न पाइनेछ । चलचित्रमा विश्वकै कान्छा निर्देशक तथा बालकलाकार सौगात विष्ट एवं नवकलाकारको रूपमा जेबिका कार्की र अग्रिम गिरी रहेका छन् । यसको कास्टिङ निर्देशकका रूपमा शान्तिप्रिय रहेका छन् ।

प्रतिक्रिया