काठमाडौं, १५ चैत । भारतमा उपचाररत वरिष्ठ संगीतकार अम्बर गुरुङको स्वास्थ्यमा सुधार आएपछि बुधबार स्वदेश फर्कंदै छन् । जीवनका ७८औँ वसन्त पार गरिसकेका राष्ट्रिय गानका संगीतकारसमेत रहेका गुरुङ दिल्लीस्थित मेदान्त अस्पतालमा सफल उपचारपछि स्वदेश फर्कन लागेका हुन् । उनी करिब २ महिनादेखि उक्त अस्पतालमा भर्ना भएको लेखक÷समीक्षक प्रकाश सायमीले जानकारी दिए ।
सन् १९३८ मा भारतको दार्जिलिङमा जन्मिएका गुरुङ लामो समयदेखि मधुमेह, पार्किन्सनलगायतका रोगबाट पीडित रहेका थिए । मेदान्तको उपचारपछि उनको स्वास्थ्य सामान्य स्थितिमा आएको भर्खरै त्यहाँ पुगेर आएका संगीतकर्मी रतन चन्दले जानकारी दिए । उनले भने, ‘उहाँको स्वास्थ्यमा लगभग सुधार आएको छ, बोल्न र मान्छे चिन्न सक्नुहुन्छ । चिकित्सकले पनि अब घर लाँदा हुन्छ भनेका छन् ।’
स्वदेश फर्किएलगत्तै गुरुङको सम्मानमा विमानस्थलमै एक कार्यक्रम गरेर उनीद्वारा संगीतबद्ध राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी एउटै माला नेपाली’, सैनिक गान ‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो’ लगायत गीत गाउने कार्यक्रम रहेको छ । नसा तथा पाचन प्रणालीमा समस्या आएपछि यसअघि ग्रान्डी अस्पतालमा भर्ना भएका गुरुङलाई ग्रान्डीले नै मेदान्त ‘रिफर’ गरेको हो ।
प्रतिक्रिया