काठमाडौं, १५ चैत । विदेशी पर्यटकको निकै चाप रहने काठमाडौंको व्यस्त क्षेत्र ठमेलमा कलाकारहरूको लगानीमा डान्सक्लब खुलेको छ । ‘इबिजा डिस्को एन्ड लन्ज’ नाम दिएर खोलिएको डान्स क्लबको शनिबार उद्घाटन भएको हो ।
करिव २ करोड लगानीमा सञ्चालनमा आएको यस क्लबको उद्घाटन संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बलबहादुर महतले गरेका छन् । ग्रान्ड ओपनिङ समारोह ३ दिनसम्म मनाइनेछ । शनिबारदेखि सोमबारसम्म उद्घाटनअन्तर्गतका कार्यक्रमहरू सञ्चालन गरिने आयोजकहरूले जनाएका छन् ।
जसमा चर्चित गायक गायिकाहरूले प्रस्तुति दिनेछन् । शनिबार गायक कमल खत्री, एड्रियन प्रधान, गायिका श्रेया सोताङ तथा विभिन्न ब्यान्डको प्रस्तुति थियो । त्यस्तै आइतबार गायिका इन्दिरा जोशी, गिरिस खतिवडाको प्रस्तुति रहनेछ भने सोमबार सुगम पोखरेललगायतले प्रस्तुति दिनेछन् ।
इविजा क्लब ६ महिना अघिदेखि नै सुरु गरिएको हो । तर, भूकम्प र नाकाबन्दीका कारण उपयुक्त समय नमिलेकाले उद्घाटन गर्न केही ढिलाइ भएको क्लबका अध्यक्ष दवाङ तामाङले जानकारी दिए । काठमाडांैमा क्लब संस्कृतिको विकास भइसक्दा पनि स्तरीय डान्स क्लबहरू नहुँदा युवाहरूलाई परेको असरलाई मध्यजनर गरी सुविधासम्पन्न र सुरक्षाका दृष्टिकोणले उपयुक्त क्लब सञ्चालन गरिएको तामाङले दाबी गरे ।
ठमेलको मूख्य नरसिंहचोकमा ८ जना युवाले मिलेर सञ्चालनमा ल्याएको यस क्लबमा २ करोडको लगानी छ । यसअघि ठमेलको चर्चित फायर क्लब पनि यही समूहले सञ्चालन गरेको थियो । क्लबका सञ्चालक राजु दनैका अनुसार फायर एउटा ब्रान्ड बनिसकेको अवस्थामा फायरजस्तै अझ त्योभन्दा उत्कृष्ट सेवा दिएर इविजा सञ्चालनमा ल्याइएको हो ।
नेपालको भ्रमणमा आउने विदेशीहरू र नेपाली युवाहरूलाई लक्षित गरी क्लब सञ्चालनमा ल्याइएको हो । उद्घाटन नगरिकनै करिब ६ महिना अगाडि सञ्चालनमा ल्याइएको यस क्लबमा दैनिक ४ देखि ६ सय जनासम्मको जमघट हुने गर्छ । उद्घाटनको ३ दिनको अवधिमा करिव ३ हजार जनाले क्लबमा मनोरञ्जन लिने लक्ष्य आपूmहरूले लिएको सञ्चालक राम थापाले जानकारी दिए ।
स्पेनको इविजा क्षेत्रमा रहेको क्लबजस्तै सजावटमा आकर्षक देखिएको यस क्लबले डान्स र मनोरञ्जनका लागि नयाँ नामको रूपमा स्थापित गर्ने लक्ष्य सञ्चालकहरूले लिएका छन् ।
प्रतिक्रिया