वैद्यको नेतृत्वमा एकता गरौँ : दाहाल

prachand-1काठमाडौं, १५ चैत । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले मोहन वैद्यको नेतृत्वमा एकताको प्रस्ताव अगाडि बढाएका छन् । वैद्य माओवादीको केन्द्रीय समिति बैठक जारी रहँदा दाहालले वैद्यकै नेतृत्वमा आपूm माओवादीहरूबीचको एकताका लागि तयार रहेको प्रस्ताव अगाडि बढाएका हुन् ।

‘राजनीतिक पक्षमा न्यूनतम समझदारी निर्माण भयो भने संगठनमा कुनै समस्या छैन । म किरण कमरेडकै नेतृत्वमा सबै माओवादीहरूबीचको एकताका लागि तयार छु ।’ दाहालले वैद्य माओवादीका केही नेतामार्फत प्रस्ताव पठाएका छन् । एकताका लागि संगठनात्मक विषय जटिल हुन्छ वा हुँदैन भनेर वैद्य माओवादीका केही नेताहरूले दाहालको मत जान्न खोजेका थिए । वैद्य माओवादीका केही नेता र दाहालबीच आइतबार कुराकानी भएको थियो ।

जवाफमा दाहालले, ‘तपाईंहरूको केन्द्रीय समितिको बैठक चलिरहेको छ । त्यहीँ कुरा गर्नुहोस्, संगठनमा कुनै समस्या हुँदैन, म किरणजीलाई नेता मानेर जान तयार छु ।’ यसअघि दाहालले सार्वजनिक कार्यक्रममा पनि सबै माओवादी एक भए किरणको नेतृत्वमा एकता गर्न तयार रहेको बताएका थिए । स्रोतका अनुसार नेतृत्वको विषयमा दाहालले वैद्यसँग समेत कुराकानी गरिसकेका छन् । ‘उहाँहरूबीच भएका द्विपक्षीय बैठकमा यो विषयले प्रवेश पाएको छ । वैद्यजीलाई नेता मानेर जाने कुरा दाहालले उहाँसँगै राख्नुभएको छ’ स्रोतले भन्यो । ०४४ सालको सेक्टरकाण्डपछि तत्कालीन महासचिव वैद्यले दाहाललाई नेतृत्व हस्तान्तरण गरेका थिए । त्यसपछि निरन्तर दाहाल नै पार्टी प्रमुख छन् ।

१२ चैतदेखि जारी वैद्य माओवादीको वैठकमा एमाओवादीसँग एकता गर्ने–नगर्ने विषयमा छलफल जारी रहेका बेला दाहालको प्रस्ताव आएको हो । यो प्रस्तावले वैद्य माओवादीभित्र एकताका पक्षमा रहेकाहरूलाई हौसला दिएको छ । एकताका विषयलाई लिएर अध्यक्ष वैद्य, महासचिव रामबहादुर थापा बादलका छुट्टाछुट्टै प्रस्ताव पेस भएका छन् । त्यसबाहेक युवा नेता कुलबहादुर केसी र लेखनाथ न्यौपानेले पनि छलफलका लागि भन्दै आफ्ना लिखित मत केन्द्रीय कार्यलयमा दर्ता गराएका छन् । विगतमा पार्टी एकताका लागि आफ्नै नेतृत्वमा वार्ता टोली बनाएको, देशभरी माहौल तयार भएको र एकताको पक्षमा जनमत समेत भएको बेला वैद्य एकता पक्रियाबाट पछाडि हटेको आरोप लागेको छ ।

प्रतिक्रिया