भारतको प्रतिक्रिया : ‘हामीबीच जनस्तरको साइनो’

bikash_swaroopकाठमाडौं, ९ चैत । भारतले नेपालसँग कायम रहिआएको आफ्नो ऐतिहासिक र जनस्तरको सम्बन्धका अगाडि अरू कुनै देशसँगको सम्बन्ध वा समझदारीलाई ‘तुलना गर्नै नमिल्ने’ बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको यो साता जारी चीन भ्रमणका क्रममा भएको १० बुँदे समझदारी र चीनसँग नेपालको बढ्दो सम्बन्धले ल्याएको ‘चुनौती’बारे सोधिएको जिज्ञासामा भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले भू–राजनीतिक तथा ऐतिहासिक कारणले पनि नेपाल–भारत विशिष्ट सम्बन्धको अरू कहीँ कतै तुलनै हुन नसक्ने प्रतिक्रिया दिए ।

‘नेपालसँग कायम रहेको खुला सिमानाको सम्बन्ध, इतिहासको साझेदारी, संस्कृति र सभ्यताको समानता तथा जनस्तरको साइनो सधैँ अतुलनीय छ,’ जवाहर भवनमा मंगलबार आयोजित प्रेस ब्रिफिङमा प्रवक्ता स्वरूपले भने, ‘प्रधानमन्त्री ओलीको १ महिनाअघिको दिल्ली भ्रमणले पनि यो विशिष्ट सम्बन्धको तहलाई स्पष्ट पारेको छ ।’

प्रवक्ता स्वरूपले नेपालसँग रहेको ‘कनेक्टिभिटी’को सन्दर्भमा हाल जारी रहेका दर्जनभन्दा बढी द्विदेशीय परियोजनबारे टिपोट गराएका थिए । उनले हाल नेपाल–भारतबीच २६ वटा आवागमनका नाका रहेकोमा यसमध्ये १० वटा व्यापारिक प्रयोजनका नाका रहेको र वीरगञ्ज (रक्सौल) तथा बिराटनगर(जोगबनी)मा संयुक्त भन्सार बिन्दुसमेत कार्यान्वयनमा रहेको जानकारी गराएका थिए ।

उनले भैरहवा(सुनौली) र नेपालगञ्जमा समेत संयुक्त ‘चेक पोस्ट’ निर्माणाधीन रहेको बताएका थिए । यस्तै, जोगबनी–बिराटनगर र जयनगर–बिजनपुरा–बर्दिबास रेल्वे लाइन निर्माण क्रममा रहेको जानकारी गराउँदै प्रवक्ता स्वरूपले अरू ३ वटा सीमावर्ती बिन्दु (नेपालगञ्ज, काँकडभिट्टा र भैरहवा) जोड्ने रेल्वे लाइन बिस्तार क्रम योजनामा रहेको जानकारी गराए ।

यस्तै, तराई सडक (हुलाकी मार्ग)को ६ सय ५ किलोमिटर निर्माणसमेत पहिलो चरणमा जारी रहेको र यसमा ८७ किलोमिटर निर्माण पूरा भइसकेको विवरण प्रेस ब्रिफिङमा दिइएको थियो । बाँकी ९ सय किलोमिटर अर्को चरणमा पूरा हुने उनले जानकारी दिए ।

स्वरूपले भूपरिवेष्ठित मुलुकले पाउने अधिकारका रूपमा नेपालले कुनै मुलुकसँग पनि पारवहन समझदारी गर्न सक्ने भए पनि अहिले भारत टा«न्जिटमार्फत नेपालको तेस्रो देशमा हुने आयातनिर्यातको निर्भरता ९० प्रतिशत रहेको तथ्यांक प्रस्तुत गरेका थिए । चीनसँग भएको सहमति र समझदारीतर्फ संकेत गर्दै प्रवक्ताले भने, ‘नेपालसँगको रहिआएको भारतको विशिष्ट सम्बन्धको नक्कल अरू कसैले गर्न सक्दैन, यो आफैँमा उदाहरणीय छ ।’

प्रतिक्रिया