भूकम्पले घर ध्वस्त बनाएपछि टहरामा बस्दै आएकी दिलकुमारी लामिछानेले त्यही टहरामा होमस्टे (घरवास पर्यटन) चलाएर जीविकोपार्जन गर्न थालेकी छन् । गत वैशाखको भूकम्पमा परी गोरखाको सिम्जुङका अधिकांश घर भत्किएका र होटल रेस्टुरेन्टसमेत नहुँदा यहाँ आउने पर्यटकको सुविधाका लागि बसोबासको समस्या हुन नदिन उनले आफू बस्ने अस्थायी घर टहरामा होमस्टे सञ्चालन गरेकी हुन् ।
विभिन्न संघसंस्थामा कार्यरत कर्मचारी, राहत र पुनःनिर्माणमा संलग्न सहयोगी संस्थाका पदाधिकारी र पर्यटकका लागि बस्ने होटल नहुँदा १ घन्टा तल झरेर बालुवाबजार वा ३ घन्टा उत्तर–पश्चिमको सिरानकोट, भच्चेकबजार पुग्नुपर्ने वाध्यता रहेको थियो । दिलकुमारीले भूकम्प आउनु केही समयअघिसम्म घरको ७ वटा कोठालाई होमस्टेको रूपमा प्रयोग गरेकी थिइन् । भूकम्पले घर पूरै ध्वस्त बनाएपछि उनलाई केही समय त आफैँ कता बस्ने भन्ने चिन्ताले सतायो । बिस्तारै विपद्लाई सहँदै उनले जस्तापाताले घेरेर आफू बस्न बनाएको टहरामै ३ कोठा पाहुनालाई छुट्याएकी हुन् ।
सरकारले भूकम्पपीडितका लागि उपलब्ध गराउने सहयोग छिटो पाउन सके पक्की घर बनाउने र त्यसमा अलग्गै होमस्टे सञ्चालन गर्ने योजना रहेको उनका श्रीमान चन्द्र लामिछानेले बताए । गाउँमा पहिले खानेपानीको ठूलो समस्या रहँदै आएकामा सन् २०१३ देखि वाटर एड नामक संस्थाले नेपाल स्वास्थ्यका लागि पानी (नेवा) ले गाउँ खानेपानी तथा सरसफाइ समन्वय समिति (भिवासिसी)को सहकार्यमा खानेपानीको व्यवस्था गरेपछि अहिले टोलटोलमा सार्वजनिक धाराहरूमा चौबिसै घन्टा पानीको सुविधाले होमस्टे सञ्चालनमा सहजता आएको दिलकुमारी बताउँछिन् ।
‘पहिले खानेपानीका लागि टाढाबाट ल्याउनुपर्दा पाहुनालाई सेवा सुविधा दिन र घरभित्र–बाहिरको वातावरण सफासुग्घर राख्न कठिनाइ थियो,’ उनले भनिन्, ‘अहिले खानेपानीको सुविधा र सरसफाइले गर्दा पाहुनाहरू होमस्टेमा बस्न रुचाएका छन् ।’
संस्थाले खानेपानीसँगै सरसफाइसम्बन्धी जनचेतना अभिवृद्धिमा जोड दिएपछि अहिले सिम्जुङको वातावरण स्वच्छ र सफा देखिन्छ । खासगरी दलित बस्तीमा शौचालयको अभाव र जनचेतना नहुँदा खुल्ला दिसापिसाब गर्ने परिपाटीको अहिले अन्त्य भएको नेवाकी सहजकर्ता समिष्ठा ढकालको कथन छ ।
पहिले त घरमा चिनेजानेका आफन्त मात्रै पाहुनाको रूपमा आउने उनको घरमा अहिले कहिल्यै चिनजान नभएका पर्यटक, कर्मचारीहरू पनि बस्ने बास र खाना खान खोज्दै आउन थालेका छन् । होमस्टेले गर्दा अहिले धेरैजनासँग परिचय, चिनजान हुने अवसर मिलेको बताउँदै चन्द्र भन्छन्, ‘आर्थिक हिसाबले मात्र नभएर नयाँ मानिससँग चिनजान, घुलमिल हुने र नयाँ कुराहरू जान्ने बुझ्ने अवसर पनि मिलेको छ ।’
बुद्ध हिमाल सामुदायिक होमस्टेकी अध्यक्षसमेत रहेकी दिलकुमारी पहिले आफूले होमस्टे राख्दा अनेक टिप्पणी गर्नेहरूले पनि अहिले पक्की घर बनाएर होमस्टे सञ्चालन गर्न चासो देखाएको बताउँछिन् । हाल सिम्जुङ गाविसको झ्याँवामा ३ वटा र सिरानडाँडामा ३ वटा घरमा होमस्टे सञ्चालन गरिएको छ ।
भूकम्पपछि गाउँको पुनर्निर्माणका लागि सरकारी, दातृ निकाय र विभिन्न सहयोगी संस्थाहरूले आर्थिक तथा भौतिक सहयोग गर्न थालेकाले ती निकायहरूबाट आउने कर्मचारी वा अन्य पदाधिकारीहरूलाई बस्न खानको सुविधाका लागि होमस्टे निकै उपयोगी रहेको स्थानीय समाजसेवी ऋषिराम लामिछाने बताउँछन् ।
गोरखा भूकम्पको केन्द्रबिन्दु वारपाक जाने कतिपय पर्यटकहरू पनि यही बाटो भएर जाने गर्दछन् । सिम्जुङबाट करिब ३ घन्टाको पैदल यात्रामा वारपाक पुग्न सकिन्छ । गोरखा सदरमुकामबाट ३५ किमी उत्तरमा पर्ने यो गाउँबाट माथितिर अन्नपूर्ण हिमशृंखलादेखि मनास्लु, हिमचुली, गणेश हिमालको दृश्यावलोकन गर्न पाइनुको साथै बौद्ध हिमालको चिसो बतास, तलतिर दरौँदी र चेपे नदीको सुसाहट प्राकृतिक सुन्दरताले भरिपूर्ण रमणीय पर्यटकीय स्थलको रूपमा परिचित छ ।
खैरेनी–गोरखा सडकबीचको १२ किलो हुँदै कच्चीबाटोमा बालुवासम्म गाडीमा २ घन्टाको पैदल यात्राबाट सिम्जुङ पुग्न सकिन्छ भने त्यहाँबाट ३ घन्टाको उकालो चढेपछि सिरानडाँडा पुगिन्छ । भच्चेकसम्म बसमा गई त्यहाँँबाट १ घन्टा पैदल बाटोबाट पनि सिरानडाँडा पुग्न सकिन्छ । हरियो चिया बगान, भुइँ स्याउलगायत विभिन्न जडिबुटीहरू, जंगली जनावर र चराचुरुंगीसँग साक्षात्कार गर्न पाइने भएकाले स्वदेशी मात्र होइन विदेशी पर्यटकको पनि सिरानडाँडामा घुइँचो लाग्दछ ।
समुदायबाट सञ्चालित तालिम प्राप्त होमस्टे सञ्चालकहरूले पाहुनालाई गर्ने स्वागत सत्कार, पारिवारिक व्यवहार, सांस्कृतिक सद्भावले पाहुनाको मन सजिलै जित्न सक्ने उपयुक्त वातावरण छ । गाउँलेहरूको आत्मीय मायाले पस्किएको स्थानीय परिकार, अर्गानिक तरकारी, समयअनुसारका फलफूल, सेलरोटी खाँदै सांस्कृतिक कार्यक्रममा रमाउँदा पर्यटकहरू समय बितेको पत्तै पाउँदैनन् ।
प्रतिक्रिया