भारतमा सिमोनको बुझाइ

काठमाडौं । सिमोन केसी, खुला तौल समूहका कराते खेलाडी । हालसम्म त्यत्ति चर्चामा रहेका नाम होइनन्, । तथापि, पछिल्लो समयको यिनको जागरूपता र मिहिनेतकै कारण यिनीबाट आशावादी हुने ठाउँ भने छ । करातेको पवित्र भूमि जापान मानिन्छ । यसै देशमा सन् २०२० मा आयोजना हुने ओलम्पिकमा कराते समावेश हुनेमा संसारका थुप्रै करातेकर्मी आशावादी छन् । यो ५ वर्षको समय मिहिनेत र परिश्रम गरे एउटा नयाँ पाइला कोर्न सकिने सम्भावना नेपालीको पनि नभएको होइन । त्यो ५ वर्षे यात्राको बीचमा आउने राष्ट्रिय प्रतियोगिता, क्षेत्रीय र महादेशीय प्रतियोगिताको सफलतासँगै त्यहाँसम्मको उचाइ छुने चाहना जो कोही कराते खेलाडीका लागि स्वभाविक हो । सिमोनका लागि पनि ती चाहना र इच्छा जाग्न थालेको छ ।

गत महिना उनी भारत गए । उनको यात्राको उद्देश्य थियो, नेपालले प्रतिस्पर्धा गर्न सक्ने सबैभन्दा महत्वपूर्ण प्रतियोगिता साग खेललाई प्रत्यक्ष हेर्ने । त्यसो त उनमा केही निराशा पनि थियो । उनी आबद्ध खेल कराते नभएका कारण उनी निराश भएका हुन् । तथापि, गुहावटी र सिलोङ पुगेपछि उनी उत्साहित भए । सुरुमा भलिबलमा रमाएका उनी बिस्तारै अन्य खेलमा पनि रमाउन थाले । एक व्यक्ति सागसम्मको यो यात्रा आश्चर्यजनक पनि लाग्न सक्छ तर उनको खेलप्रतिको लगावले सबैलाई अचम्मित तुल्यायो ।

firure copyत्यहाँ पुगेर उनले एउटा कुरा प्रष्ट बुझे । ‘खेलाडी हुनु एउटा हो र च्याम्पियन हुनु अलग हो । च्याम्पियन हुनुको मजा महसुस गरे । यसकारण उनले एउटा निचोड निकाले काठमाडौं फर्कने बित्तिकै प्रशिक्षणमा व्यस्त रहने । नभन्दै उनी प्रशिक्षणमा व्यस्त रहेका छन् । उत्तिकै मिहनेत पनि गरिरहेका छन् । उनको मिहिनेतले अनुमान गर्न सकिन्छ कि उनी चाँडै नै स्टार हुनेछन् । उनको यात्राले सफलता पाउनेछ ।

केसी परिवारको सामाजिक जीवनमा ३ पुस्तादेखि नै प्रभाव रहँदै आएको छ । कुनै समय बोजमा छन्द्रबहादुर खत्री प्रधानपञ्च हुँदा यिनी समाजसेवामा परिचित थिए । यीनका छोरा हरिशरण केसी काठमाडौंमा आएर परिचित करातेकर्मी भए । यिनै परिचित करातेकर्मी हरिशरण वादोरियो करातेमा नेतृत्वदायी भूमिकामा रहे । यिनमा एउटा रहर जाग्यो । छोरालाई पनि स्टार बनाउने ।

बाबु हरिशरणको प्रेरणामा रहेका सिमोन केसी वादोरियो करातेमा परिचित नाम हो । खासमा नेपाली करातेमा सितेरियो खेल्नेकै प्रभाव छ । गोजुरियोका शशांक श्रेष्ठ र सोतोकानका दिवस श्रेष्ठ समय समयमा चुनौति बनेर देखिए । यसपटक भने वादोरियोका सिमोन राष्ट्रिय टोलीमा प्रवेश पाउने र स्टार बन्नेमा उनका प्रशिक्षकसमेत रहेका कुशल श्रेष्ठ आशावादी छन् । कुशल भन्छन्, ‘उनी मिहिनेती छन् । परिश्रमी छन् । मिहिनेत र परिश्रम गर्नेको दिन त आई नै हाल्छ ।’ उनले केही समय राष्ट्रिय टोलीसँगै प्रशिक्षण गर्ने अवसर पाए । त्यसो त उनले वादोरियोमा रहँदा शुक्र राईबाट धेरै कुरा सिकेका थिए । उनले यसलाई परिस्कृत गर्ने अवसर राष्ट्रिय टोलीमा रहँदा पाए । पछि राष्ट्रिय खेलाडी मात्र प्रशिक्षण गर्ने नयाँ नीति बन्यो । सिमोन भने कुशलसँग छुट्टै प्रशिक्षण गर्न थाले । किनकी उनलाई कुशलप्रति एकखाले विश्वास थियो । भन्छन, ‘पहिला पनि धेरै सिके । तर, अहिले कुशल गुरुले पुरानो सिकाइलाई परिस्कृत गर्ने काम गरिरहनु भएको छ ।’

सन् २०११ मा कालो पेटी बाँधेका उनले सन् २०१३ र २०१४ मा त सफलताको शृंखला नै चुमे । २०१३ मै ओकिनावा गोजुयो कराते ओपन प्रतियोगितामा उनले स्वर्ण जिते । वादोरियोको दक्षिण एसियाली च्याम्पियनसिपमा समेत उनले २ सफलता हात पारे । सन् २०१३ मै उनले अन्तर्राष्ट्रिय वादोरियो कराते च्याम्पियनसिपमा पहिलो स्थान पाएका थिए । उनले सन् २०११ मै एक महत्वपूर्ण सफलता पाएका थिए ।

उनले समना देख्न थालेका छन् । सातौँ राष्ट्रिय खेलकुदको सपना । त्यो भन्दाअघि जिल्ला र क्षेत्रीय छनोटको बाटो । त्यसपछिको लामो सपना छ । जापानमा सन् २०२० मा हुने ओलम्पिक खेलसम्म आफूलाई निखार्दै लाने । उनी भन्छन्, ‘सन् २०२० को ओलम्पिक हरेक करातेकर्मीका लागि स्वर्णिम अनुभूतिको अवसर हुन सक्नेछ । त्यसलाई उपयोग गर्न ५ वर्ष कठिन मिहिनेत गर्नै पर्छ ।’ राष्ट्रिय टोलीका समेत प्रशिक्षक रहेका कुशल भन्छन्, ‘उनको यही सिक्ने चाहनाले म ऊसँग प्रभावित छु र आशावादी पनि छु ।’ आशा गरौँ, बाबु हरिशरण र प्रशिक्षक कुशलको सपना उनले पूरा गर्नेछन् ।

प्रतिक्रिया