एसएलसीको प्रश्नपत्रमा ‘पासमार्क’ हुँदैन

भक्तपुर, २१ फागुन । यस वर्षको एसएलसी परीक्षाको तयारी पूरा भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले एसएलसी परीक्षाको तयारी पूरा भएको बताए । परीक्षाको नतिजा ग्रेडिङमा प्रकाशन गरिने भएकाले प्रश्न पत्रमा उतिर्णांक उल्लेख नगरिएको काप्रीले बताए ।

जनक शिक्षा सामग्री केन्द्रमा गोप्यरूपमा एसएलसीको प्रश्नपत्र छपाइसमेत बिहीबारबाट सकिएको बताउँदै उनले प्रश्नपत्रसमेत जिल्ला पठाएको बताए । उनले भने, ‘परीक्षाका लागि आवश्यक पर्ने उत्तरपुस्तिका लगायतकासबै सामग्री सबै जिल्लामा पठाई सकिएको छ, प्रश्नपत्र पनि अधिकांश जिल्लामा पठाइसकिएको छ, बाँकी बागमती, दोलखा, सिन्धुपाल्चोकका १० जिल्लामा पनि पठाउँदैछौँ ।’

परीक्षामा यस वर्ष ६ लाख १५ हजार विद्यार्थी सहभागी हुनेछन् । परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक अनुपमचन्द्र श्रेष्ठले नियमित र एक्जाम्टेड गरी ६ लाख १२ हजार तथा प्राविधिकतर्फका ३ हजार विद्यार्थीले परीक्षामा सहभागी हुने जानकारी दिए । जसमा नियमिततर्फ ४ लाख ५२ हजार ८ सय ८१ र एक्जाम्टेडतर्फ १ लाख ५९ हजार ४ सय १७ विद्यार्थी सहभागी हुनेछन् ।

नियमिततर्फ प्राविधिकतर्फका ९९ विद्यालयका ३ हजार २ सय ५५ विद्यार्थी सहभागी हुँदैछन् । जसमा नियमिततर्फ २ लाख २५ हजार ३ सय ४६ छात्र र २ लाख २७ हजार ५ सय ३५ छात्रा सहभागी हुनेछन् । श्रेष्ठले सबैभन्दा बढी काठमाडौँमा ३५ हजार र सबैभन्दा कम मनाङमा ६९ जनाले परीक्षा दिने जानकारी दिए ।
यस वर्ष एसएलसी परीक्षाका लागि देशभर १ हजार ४ सय ४३ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

प्रतिक्रिया