अधिकांश पसल अवैध

लमजुङ, १९ फागुन । जिल्ला प्रशासन कार्यालयले पछिल्लो पटक बजार अनुगमनको कार्यलाई तीव्रता दिएको छ ।

व्यापारीले उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गरेको भन्दै अखाद्य बस्तु बिक्री वितरण नियन्त्रणका लागि बजार अनुगमन गर्नुपरेको प्रशासनले जनाएको छ । अनुगमनका क्रममा अधिकांश पसल पूर्वाधारविना सञ्चालन गरिएका र केही पसल दर्ताविना नै सञ्चालन भएको पाइएको छ ।

दैनिक उपभोग्य सामग्रीको बिक्री गर्ने पसलमा अनिवार्य रूपमा मूल्यसूची टाँस्नुपर्ने प्रावधान भए पनि सदरमुकाम बेँसीसहरका अधिकांश पसलमा मूल्यसूची नराखेको पाइएको छ । पटकपटक हुने बजार अनुगमन टोली र उद्योग वाणिज्य संघले मूल्यसूची राख्न निर्देशन दिए पनि व्यवसायीले त्यसको बेवास्ता गर्दा सर्वसाधारण मर्कामा परेका छन् ।

वस्तुको मूल्यबारे थाहा पाउन सजिलो हुने गरी व्यवसायीले मूल्यसूची नटाँसिदा ग्राहकले एउटै किसिमको सामानको पनि पसलैपिच्छे फरकफरक मूल्यमा किन्नुपर्ने बाध्यता रहँदै आएको छ । सरकारले अनिवार्यरूपमा मूल्य सूची राख्नुपर्ने प्रावधान राखिएको बताए पनि भोटेओडार, सुन्दरबजार, उदिपुर, भोर्लेटार, खुदी जस्ता बजार क्षेत्रमा कतै पनि पसलेले मूल्यसूची राखेका छैनन् ।

दालचामल, चिनी, तेल, तरकारी, ग्यासलगायतका अत्यावश्यक एउटै बस्तुमा पनि पसलैपिच्छे फरक मूल्य तिर्न परेपछि व्यापारीको रजाइलाई अन्त्य गर्न उपभोक्ताले माग गरेका छन् । उद्योग वाणिज्य संघले ग्राहकलाई मर्का पर्ने गरी मूल्यसूची नटाँसी व्यापार गरिबसेका व्यापारीलाई मूल्यसूची टाँस्न आग्रहसमेत नगरेको उपभोक्ताको आरोप छ । व्यापारीले मूल्यसूची राखे नराखेको र बजारभाउ सन्तुलन भए नभएको छानबिन गर्ने जिल्ला प्रशासनलेसमेत यस विषयमा कडाइ गर्न सकेको छैन ।

सहायक प्रमुख जिल्ला अधिकारी तीर्थबहादुर अधिकारीको नेतृत्वमा बेँसीसहर बजारमा गरिएको बजार अनुगमनको क्रममा पनि कुनै पनि पसलले मूल्यसूची नराखेको पाइएको छ ।

प्रतिक्रिया