रहेनन् चित्रकार कालिदास

murtikar copyकाठमाडौं, १९ फागुन । वरिष्ठ चित्रकार एवं मूर्तिकार कालिदास श्रेष्ठको ९३ वर्षको उमेरमा बुधबार निधन भएको छ । ९ दिनदेखि त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा निमोनियाको उपचार गराइरहेका श्रेष्ठको बुधबार बिहान ७.३० बजे निधन भएको हो ।

चित्रकला, मूर्तिकलाका साथै कलासम्बन्धी आधा दर्जन पुस्तकसमेत लेखेका स्वर्गीय कालिदास श्रेष्ठप्रति ललितकला क्याम्पस, भोटाहिटी र नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान प्रांगणमा बुधबार श्रद्धाञ्जली अर्पण गरिएको छ । श्रद्धाञ्जली कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले श्रेष्ठको निधनले नेपाली ललितकलाका क्षेत्रमा अपूरनीय क्षति पुगेको बताएका छन् । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले श्रेष्ठको निधनले नेपाली कलाको अभिभावक र मूर्धन्य व्यक्तित्व गुमाएको भन्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेकी छन् ।

विसं १९७९ सालमा काठमाडौंमा माता मंगलकुमारी श्रेष्ठ र पिता गोविन्ददास श्रेष्ठका छोरा कालिदासले नेपाली ललितकला शिक्षाका क्षेत्रमा महत्वपूर्ण योगदान दिएका छन् । विसं १९९१ मा स्थापित नेपाल आर्ट स्कुलका पहिलो ब्याजका विधार्थीसमेत रहेका श्रेष्ठले कला प्रविण गरेका थिए । उनले नेपाल र पछि भारतमा समेत कलाको अध्ययन गरेका थिए । १९९५ सालमा जुद्धकला पाठशालाको नाममा नेपाल आर्ट स्कुलको नाम फेरिएको थियो । श्रेष्ठले जुद्धकला पाठशालामा अध्ययन सकेपछि अध्यापन सुरु गरेका थिए । ०२४ सालमा ललितकला महाविद्यालयमा रूपान्तरण भएको जुद्धकला पाठशालामा समेत उनले महत्वपूर्ण योगदान दिएका थिए । ०३० साल ललितकला क्याम्पसका रूपमा महाविद्यालयलाई त्रिभुवन विश्वविद्यालयअन्तर्गत ललितकला क्याम्पसका स्थापित गर्न श्रेष्ठको भूमिका महत्वपूर्ण रहेको थियो ।

उनकै पहलमा क्याम्पसमा रूपान्तरण गरिएको ललितकला क्याम्पसमा सुरुमा प्रविणता प्रमाणपत्र तहको अध्ययन हुन्थ्यो । ०३३ सालमा श्रेष्ठको पहलमा स्नातकसम्मको ललितकलाको अध्ययन नेपालमै हुन सक्यो । ललितकला क्याम्पसका पहिलो प्रमुखका रूपमा श्रेष्ठले नेपाली ललितकला क्षेत्रमा महत्वपूर्ण योगदान दिएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानका मानार्थ सदस्यसमेत रहेका श्रेष्ठले जुद्घशमशेर जबराबाट चित्रकला विषयमा पुरस्कार, महेन्द्र प्रज्ञा–पुरस्कार, महेन्द्र शुभराज्याभिषेक पदक, जनपद सेवा पदक, दीर्घ सेवा पदक, वीरेन्द्र शुभराज्याभिषेक पदक, वीरेन्द्र गद्दी आरोहण रजतलगायत पदक पाएका छन् भने नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले ललितकला सम्मानबाट सम्मानित गरिसकेको छ ।

प्रतिक्रिया