काठमाडौं, १७ फागुन । नेपाली चलचित्रका नायक सविन श्रेष्ठद्वारा अभिनित २ वटा चलचित्र एकसाथ प्रदर्शनमा आउने भएको छ । आगामी ५ चैतबाट उनको दुईवटा चलचित्र एकसाथ रिलिज हुने भए पनि उनको कुन चलचित्रले बजार लिने भन्नेमा दर्शकहरू प्रतिक्षारत रहेका छन् ।
व्यक्तिगत जीवनमा भने धेरै नै भाग्यमानी देखिएका उनी यस क्षेत्रमा भने अपेक्षित सफल छैनन् । यसको एउटै कारण सविनको खुलेर बोल्न नसक्ने शैलीलाई आम दर्शकले मान्दै आएका छन् ।
उनी अभिनित चलचित्र ‘भाग् सानी भाग्’ र ‘लक्ष्य’ ५ चैतबाट रिलिज हुने तयारीमा छन् । तर, अहिले सविन भने चलचित्र ‘भाग् सानी भाग’को प्रचारमा बढी सक्रिय छन् ।यस अर्थमा पनि यी नायक भाग्यमानी हुन् कि अभागी भन्न गाह्रो छ । किनकी, एउटै नायकको २ चलचित्र पर्दामा लाग्नु उक्त कलाकारका लागि सुखद कुरा हो । तर, आफूसँग नै आफू भिड्नु दुःखद कुरा हो । सविन अधिकांश चलचित्रमा देखिएका छन् तर उनको भन्दा चर्चाको बाटो अरूले नै समाएको देखिन्छ । एक्सन चलचित्रमा पनि उनी नै जमेका छन् । तर, बजारमा उनको भन्दा कम चलचित्र खेल्ने अरू नायकको चर्चा बढी हुन्छ । चलचित्रको रिलिज समयबाहेक अन्य समयमा सविन सुनसान नै देखिन्छन् ।
२६ चैतमा उनले नै अभिनय गरेको चलचित्र ‘रामप्यारी’ रिलिज हुँदै छ तर यसमा उनी पनि छन् भन्ने कुरा धेरै दर्शकलाई थाहा नहुन पनि सक्छ । दर्शक र मिडियामाझ खुलेर नआउने उनको बानीले पनि उनलाई अप्ठ्यारो बनाएको छ । होइन भने उनले अभिनय गरेका धेरै चलचित्र हिट छन् तर उनको चर्चा कम हुने गर्छ ।
प्रतिक्रिया