कर्णालीको वास्तविक कथा “कमारो”

1 copyकाठमाडौं । कर्णालीको सिंजा क्षेत्रमा कमारा राख्ने परम्परालाई मुख्य विषयवस्तु बनाएर तयार पारिएको ‘कमारो’मा ११ वर्षका दलजीतसिंह सुनारले खेलेको अभिनयले अहिले निकै चर्चा कमाएको छ । जुम्लाका दलजीतलाई ‘कमारो’ भनेको समेत थाह थिएन । वृत्तचित्रमा उनले खेलेपछि मात्र उनलाई कमारो भन्ने के रहेछ भन्ने थाहा पाएको बताएका छन् ।

जुम्लाको स्थानीय विद्यालयमा कक्षा ५ मा अध्ययनरत दलजीत आफ्नो कक्षाका मात्र हैनन् विद्यालयमा नै सर्वप्रथम विद्यार्थी हुन् । कर्णाली क्षेत्रका दलजीतलाई कमारो टिमले भेटेपछि बालकलाकारका रूपमा लिए । वृत्तचित्रमा उनको भूमिका अत्यन्त शसक्त र जीवन्त छ ।

उनी आपैmँ पनि भविष्यमा हिरो बन्न चाहन्छन् । उनलाई मनपर्ने नेपाली चलचित्रका हिरो भने विराज भट्ट हुन् । कहिल्यै गाडी नचढेका दलजीतले वृत्तचित्र खेल्ने क्रममा नै पहिलोपटक गाडी चढे । ‘गाडी चढेपछि त कस्तोकस्तो हुँदो रहेछ । पेट दुखेजस्तो भयो वान्ता पनि भयो’, उनले आफ्नै भाषामा बताए ।

कमारोमा उनको भूमिका देखेर हेर्नेहरू सबैले वास्तविक चरित्रमा भएको उनै होलान् भन्ने सोचेको चलचित्रका निर्देशक गोविन्द खड्का बताए । उनले खेलेको वृत्तचित्रले किम्फमा उत्कृष्ट हुँदै ५० हजार रुपैयाँ जितेको थियो । लेखक महेशविक्रम शाहको ‘सिपाहीकी स्वास्नी’ पुस्तकभित्र रहेको कथामध्ये एक ‘कमारो’ वास्तविकतामा आधारित कथा हो ।

कर्णालीको सिँजा क्षेत्रमा रहेको वास्तविक कथालाई ‘कमारो’ले समेटेको छ । कमारो राख्ने परम्परा र उनीहरूमाथि जमिन्दारले गर्ने शोषणलाई देखाउन खोजिएको छ । कमारोले पुस्तौँदेखि चलिआएको परम्परालाई उनीहरूका सन्तान दरसन्तानले समेत निरन्तरता दिँदै आएका छन् । उनीहरूलाई त्यो गलत हो भन्ने थाहा भए पनि उनीहरू त्यसबाट छुट्कारा पाउन नसकेको कथाले देखाएको छ ।

लोग्नेले आफ्नी स्वास्नीलाई जमिन्दारका लागि ओछ्यानमा छाडेर आफू र छोरो कुखुरा पाल्ने खोरमा गएर रुँदै रात काट्नुपरेको वास्तविकतालाई ‘कमारो’ले प्रस्तुत गरेको छ । आफू सानो हुँदा बाबुले जसरी आमालाई जमिन्दारको चित्त नदुखाएस् राम्ररी सेवा गरेस् भनेर ओछ्यानमा छाडेर जान्छन् पछि आफू ठूलो भएपछि त्यही छोरोले पनि त्यही कार्य दोहो¥याउँछ ।

वृत्तचित्रले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागिता जनाउने क्रम जारी छ । उक्त वृत्तचित्र टिमले बालकलाकारका रूपमा वृत्तचित्रमा देखिएका दलजीत र अर्का एक बालकलाई उनीहरूलाई उच्च शिक्षासम्मका लागि सम्पूर्ण जिम्मेवारी लिइसकेको छ । वृत्तचित्रकी निर्माता निशा श्रेष्ठ दुबै बालकको शिक्षा र खानबस्नका लागि विभिन्न ठाउँबाट सहयोग जुटाउनुका साथै आफैँले समेत केही सहयोग गरेको जानकारी दिइन् ।

जम्मा ११ दिन छायांकन गरेर तयार पारिएको उक्त वृत्तचित्रमा दलजीतका साथै उनकी आमाको भूमिकामा कलाकार सिरु विष्टले अभिनय गरेकी छन् । अन्य कलाकार भने स्थानीयवासी नै भएको निर्माता श्रेष्ठले बताए ।

प्रतिक्रिया