‘सदभाव’मिथिला कला पदर्शनीमा साह

mithila copyकाठमाडौं, १६ फागुन । हिमाल, पहाड र तराईबीच सद्भाव बढाउने उद्देश्यसहितका बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा शनिबारदेखि ‘सद्भाव’ शीर्षकमा कलाप्रदर्शनी सुरुभएको छ । कलाकार अजितकुमार साहका कोरेको चित्रको एकल प्रदर्शनी सुरु भएको हो ।

लुम्बिनी वल्र्ड पिस फोरम र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा संयुक्त आयोजित प्रदर्शनीलाई मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले उद्घाटन गरे ।

उद्घाटनपछि रेग्मीले कला र संस्कृति प्रत्येक समाजको विकास र सभ्यताको प्रतिबिम्ब भएको बताए । कलाले सिर्जना र प्रस्तुतिको अभिव्यक्ति मात्र गर्ने नभई सामाजिक अभ्यास, परम्परा, रीतिरिवाज एवं समसामयिक गतिविधिहरूको समेत उजागर गर्ने बताउँदै उनले कला सामाजिक सुधार र परिवर्तनको संवाहकसमेत बन्ने धारणा राखे ।

त्यस्तै, कलाकार साहले आफ्ना कलामा मिथिला जनजीवन, सामाजिक परिवेश र संस्कृतिलाई मिथिला शैलीमा उतारेको बताउँदै मैथिली समाजमा प्रचलित संस्कार, धर्म र रहनसहनलाई समेत चित्रण गर्ने प्रयास गरेको बताए । साहका कलामा मिथिला संस्कृति र संस्कारका बिम्ब र भाव प्रस्तुत भएका छन् । उनका चित्रमा विशेषतः रामायण र महाभारतका कथामा आधारित कलालाई सामाजिक जनजीवनसँग जोडिएको छ ।

४ दिनसम्म चल्ने प्रदर्शनीमा १० देखि ६० हजारसम्म मूल्य पर्ने ३६ वटा चित्र राखिएका छन् ।

प्रतिक्रिया