खोजखबर

आन्तरिक पर्यटक लोभ्याउँदै हुडिकोट हाइकिङ

सौर्य अनलाइन २०७२ फागुन १४ गते १४:११ मा प्रकाशित

feature (2) copyपोखरा । विश्वमै ख्याति कमाएको नेपालको पर्यटकीयस्थल पोखराको दक्षिणभेग लेखनाथ नगरपालिका– १८ स्थित हुडिकोट हाइकिङका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । माछापुच्छ«े, अन्नपूर्ण, धौलागिरीलगायत हिमशृंखला तथा सेती नदी, ७ तालको बगैँचा भनेर चिनिने लेखनाथ नगरपालिका र पोखरा उपमहानगर क्षेत्र एकसाथ देख्न सकिने हुडिकोट समुद्री सतहबाट १ हजार १ सय ४० मिटरको उचाइमा रहेका कारण पोखरा र यस आसपासका क्षेत्रबाट हाइकिङका लागि जाने आन्तरिक पर्यटकको संख्या पछिल्ला समयमा बढ्दै गएको हो ।

उच्च पहाडी भू–भागमा रहेका कारण सूर्योदय र सूर्यास्तको अवलोकनका लागि पनि यो ठाउँ उत्तिकै महत्वको रहेको छ । यहाँबाट कास्की, तनहँु, लम्जुङ, मनाङ, गोरखा, चितवन, नवलपरासी, पाल्पा, पर्वत बागलुङ, म्याग्दी, स्याङ्जा जिल्लालगायत विभिन्न स्थानको एकैसाथ अवलोकन गर्न सकिन्छ । विगतमा यातायातको असुविधाका कारण हुडिकोट पुग्न निकै कठिनाइ हुने गरेको भए पनि हाल पोखराको विरौटाबाट पोखरा उपमहानगरका बस सञ्चालनमा आउन थालेपछि त्यहाँ पुग्न निकै सहज भएको छ ।

सार्वजनिक यातायातका माध्यमबाट भरतपोखरीको मनियल डाँडाको बसबिसौनी पुगेपछि लगभग १५ मिनेटको पैदल यात्रामा हुडिकोट पुग्न सकिन्छ ।

यातायातको सुविधा भए पनि पछिल्लो समयमा पर्यटक हाइकिङमा लोभिने गरेको स्थानीयवासी एवं लेखनाथ क्षेत्रलाई आफ्नो पत्रकारिताको मुख्य आधारस्थल बनाएर समाचार सम्प्रेषण गर्दै आएका सञ्चारकर्मी विष्णुहरि पौडेल बताउँछन् । चौबीसै घन्टा शीतल हावा लागिरहने हुडिकोट पुगेपछि जो कोही त्यहाँको भौगोलिक अवस्थिति एवं दृश्यावलोकन मोहित हुने गरेको उनको भनाइ छ ।

हुडिकोटका हाइकिङका रुटहरूमा लेखनाथ नगरपालिका–१२ को बादलचोकबाट मुसेटुँडा, तिक्लाङ, भञ्ज्याङ, मालागिरी, चिलाउने, धारापानी, मनियलडाँडा, कोटभैरव हुँदै हुडिकोटसम्मको दुरी ९ किलोमिटर रहेको छ । हाइकिङको अर्को रुटमा लेखनाथको आदर्शचोक भण्ढारडिकबाट पुल्चोक, बरेलीचोक, चैनपुर, भिरखोरिया, भर्तिपोखरा र ठाडाबारी हुँदै हुडिकोट रहेको छ ।

feature (1) copyअर्कोतर्फ सुरौदी खोलामा केही ठाउँमा पक्की पुल निर्माण गर्नसके तनहुँको दुलेगौडाबाट सुरौदी कुर्लिङबराहसम्म पर्यटकलाई यातायातका साधनमा ल्याएर त्यहाँबाट छहरा, लाङ्दी, पावनडाँडा, जामुने, कुलेस्वाहाँरा, कोलडाँडा, सिलिङ्गे, माझथर हुँदै हुडिकोटसम्म अर्को हाइकिङको रुट तय गर्न सकिने स्थानीयवासी बताउँछन् । वर्षा वा हिउँद जुनसुकै समयमा वरिपरिका क्षेत्रमा हुस्सु, कुइरो लाग्दा पनि केही प्रभाव नपर्ने यो ठाउँबाट नांगो आँखाले एकसाथ १४ जिल्लाको अवलोकन गर्न सकिन्छ ।

लेखनाथ नगरपालिकाका दृश्यावलोकनका लागि उपयुक्त स्थलमध्येमा हुडिकोट पर्ने भएकाले यहाँको विकासलाई प्राथमिकतामा राखिएको लेखनाथ नगरपालिका कार्यालयका कानुनी सल्लाहकार राममणि अधिकारीले बताए । ‘हरिया वन जंगललाई काखमा लिएको हुडिकोटबाट माछापुच्छ«े, अन्नपूर्ण, धवलागिरीलगायतको हिमशृंखलाको अवलोकन र पोखरा तथा लेखनाथ नगरपालिका तालहरूसहितको दृश्य हेर्न सकिन्छ’, उनले भने ।

हुडिकोटबाट नजिकै रहेको मल्लकालीन कोटभैरव मन्दिर पनि दृश्यावलोकनका लागि अत्यन्त उपयुक्तस्थल हो । यो तीर्थस्थलमा कास्कीको भरतपोखरी, निर्मलपोखरी, कृस्ती गाविसका साथै स्याङ्जा र तनहँुका विभिन्न स्थानबाट दर्शनार्थीहरू आउने गरेको कोटभैरव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चेतबहादुर महतले बताए । भैरवको स्मरण मात्रले पनि विपत्ति नष्ट हुने प्राचीन जनविश्वास यहाँको महत्वपूर्ण पक्ष हो । हाइकिङको रुटमा नै रहेको हुडिकोट नजिकैको देउराली देवीको मन्दिर पनि यस क्षेत्रको महत्वपूर्ण शक्तिपीठ हो ।

लामो समयसम्म पानी नपरेको अवस्थामा देउराली देवीको मन्दिरमा स्थानीयवासी मिलेर पूजाआजा गरी ‘हरहर महादेव’ भन्दै पानी मागेमा त्यही दिन वा नभए १÷२ दिनभित्रमा पानी पर्ने गरेको स्थानीयवासी बताउँछन् । अत्यावश्यक पूर्वाधारको विकास एवं उचित प्रचारप्रसार भएमा हुडिकोट हाइकिङमा बढ्दै गएको आकर्षणलाई थप विस्तार गर्न सकिन्छ ।

पोखरा भित्रिने विदेशी एवं स्वदेशी पर्यटकलाई एक दिवसीय हाइकिङको कार्यक्रमका साथ हुडिकोट पु¥याउन सकिने स्थानीयवासी बताउँछन् । हुडिकोटमा तत्काल होटल तथा रेस्टुरेन्ट सञ्चालनको सम्भावना नरहे पनि होमस्टेका माध्यमबाट पर्यटकलाई आवश्यक सेवासुविधा उपलब्ध गराई आकर्षण गर्न सकिने उनको भनाइ छ ।

उनका अनुसार पर्यटनका लागि खेलकुद भन्ने नाराका साथ कराते संघ लेखनाथले खेलकुदका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले हालै हुडिकोट हाइकिङ सम्पन्न गरेको छ । संघले लेखनाथको पावरहाउस बादलचोकदेखि सुरु गरेको हाइकिङ मुसेटुँडा, तिक्लाङ, भञ्ज्याङ, मालागिरी, मनियल डाँडा, कोट भैरव मन्दिर हुँदै करिब ९ किमीको दुरी पार गर्दै हुँडिकोट पुगेको थियो ।

हाइकिङमा काराते संघका पदाधिकारी, प्रशिक्षक, खेलाडी, तथा करातेका शुभचिन्तकसहित ७० भन्दा बढी सहभागी रहेका थिए । यहाँका सम्भावनालाई उजागर गर्नका लागि होमस्टे सञ्चालनका लागि स्थानीयवासीले पहल गरेका छन् । समग्र पोखरा उपत्यकाकै पर्यटन विकासका लागि भरतापोखरीको पाण्डे थुम, हुडिकोट र कोट भैरवमा होमस्टे सञ्चालनको तयारीमा यहाँका स्थानीयवासी जुटेका हुन् । महतका अनुसार ७ तालको वाटिका सहर लेखनाथको निसानी भरतपोखरीलाई प्रमुख गन्तव्य बनाउने उद्देश्यका साथ जिव्रेढुंगा सुर्ताने होमस्टे समूहको सक्रियतामा यस क्षेत्रका ४२ जनालाई होमस्टे तालिम दिइएको छ । (रासस)

 

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय