भक्तपुर जिल्लाको गुन्डु–३ मा अवस्थित गुन्डुडाँडा, पुरानो छाप अर्थात घ्याम्पे डाँडा दृश्यावलोकनका लागि रमणीय छ । सूर्यविनायकको मन्दिरबाट अन्दाजी ४ किमीको उकालोपश्चात् उक्त डाँडामा पुग्न सकिन्छ ।
यो डाँडोको नाम घ्याम्पे डाँडो रहनुका पछाडि एउटा रमाइलो घटना रहेछ । पहिलापहिला काभ्रेपलाञ्चोकको खानेखोला, राइले र फलामेका मानिसहरू दाउरा बिक्री गर्नका लागि उक्त डाँडाबाट उपत्यका प्रवेश गर्ने र उपत्यकाबाट पराल बोकेर फर्किंदा रहेछन् । ती क्षेत्रका वासिन्दाका लागि आवतजावत गर्ने मूख्य बाटोको रूपमा रहेको रहेछ, त्यो डाँडो ।
यसरी बटुवाहरू उकालीओराली आउँदाजाँदा पानीप्यासले लखतरान भएको देखेर स्थानीय हिराबहादुर तामाङले १ किमी तल रहेको कमेरो खोलाको पानी बोकी उक्त डाँडामा खाल्टो खनी घ्याम्पोमा पानी राख्न थालेका रहेछन् ।
कुनै वस्ती नभएको उक्त डाँडामा पानीको हेरचाह पनि हुने आम्दानी पनि हुने भनेर सानो चिया पसल पनि सुरु गरेछन् । सुरुमा गुन्डु डाँडा, पुरानो छापले चिनिएको उक्त डाँडा घ्याम्पोमा पानी राख्न थालेपछि नै यस डाँडाको नाम घ्याम्पे डाँडा रहन गएको हिराबहादुर तामाङ बताउँछन् ।
हिराबहादुर तामाङ(थिङ) उमेरले ७० काटेका भए पनि जिउडाल भने ५० को हाराहारीकै देखिन्छन् । १ पत्नी, ४ छोरा ४ छोरीसहितको हिराबहादुर तामाङको परिवार छ । उनी चाहिँ पत्नीसँगै उक्त डाँडामा बनाएको पक्की घरमा बस्दै आएका छन् । ‘छोरीछोरीको बिहे भइसकेकोले उनीहरू छुट्टिएर बसेका छन् तर परेको बेलामा सहयोग गर्न आउँछन्’, तामाङले भने ।
हिराबहादुरकी पत्नी सुनमाया तामाङलाई ‘छोराछोरी साथमा नबस्दा नरमाइलो लाग्दैन ?’ भनी प्रश्न गर्दा उनी भन्छिन्, ‘क्या को नरमाइलो लाग्नु, आफ्नो ठाउँमा पनि नरमाइलो लाग्छ, छोराछोरी परेको बेलामा आइहाल्छन् नि, घर टाढो छैन पो ।’ सुनमायाले वनभोजमा आउनेहरूलाई लक्षित गरी घर नजिकै माइली छोरी (माइली तामाङ)ले थापेको घुम्ती पसल देखाइन् ।
सुरुमा १ वस्ती पनि नभएको उक्त डाँडामा हाल ३०÷३५ घरधुरी देख्न सकिन्छ । ‘०३२÷३३ सालमा मैले चियापसल सुरु गरेपछि बिस्तारै बस्ती बढ्न थालेको हो’, विगत सम्झँदै हिराबहादुरले भने ।
‘सुरुमा बाटो पनि राम्रो थिएन । ०३५ सालतिर होला म वडा अध्यक्ष थिएँ । त्यसबेला मेरै पहलमा बाटो खन्ने काम भएको थियो ।’ चियाको चुस्की लगाउँदै आपूmले गरेको विकासमा मख्ख देखिन्थे तामाङ । भक्तपुरको सूर्य विनायक मन्दिरलाई दाहिने पारेर माथितिर जाँदा बीचमा दोबाटो आइपुग्छ । यहि दोबाटोबाट केदारनाथको शिर अर्थात डोलेश्वर महादेवस्थान जाने र घ्याम्पे डाँडा जाने बाटो छुटिन्छ । पाइलाटबाबाको आश्रमजाने प्रवेशद्वारसम्म कालोपत्रे गरिएको छ भने त्यसभन्दा माथिको सडक अहिले भक्तपुर सडक डिभिजन कार्यालयले स्तरोन्नति, पर्खाल निर्माण, पानीको निकास तथा कालोपत्रे गर्ने काम गरिरहेको छ ।
वस्ती बढ्दै गएकाले पानीको समस्या समाधान गर्न अर्का स्थानीय समाजसेवी लालबहादुर लामाको पहलमा स्थानीय धोबीखोलाको पानी पाइपद्वारा ल्याइएको छ । उनले, ‘उक्त पानीलाई यसरी ट्यांकीमा जम्मा गरेका छौँ’ भन्दै घर नजिकै रहेको ट्यांकी पनि देखाउन भ्याए ।
२ होटल र ५ वटा पसलसमेत विस्तार भइसकेको सो ठाउँ वाह्य तथा आन्तरिक पर्यटन तथा वनभोजका लागि पनि अत्यन्त रमणीय छ । करिब २५ रोपनी जग्गाका मालिक रहेका तामाङले उक्त ठाउँमा मकै, कोदो, भटमास, तोरी, जौ तथा गहुँको खेती हुने बताउँछन् ।
करिब ४ वर्ष अगाडि उक्त स्थानको केही तल पाइलट बाबा (सोमनाथ गिरी)ले आश्रम बनाएपछि उक्त डाँडो प्रख्यात हुँदै गएको हो । यसका साथै त्यता जाने सडकको समेत स्तरोन्नति गरेर कालोपत्र गरिएको छ । सडक कालोपत्रे भएसँगै मानिसहरू घुम्न तथा वनभोजका लागि आउने क्रम सुरुभएको उनले सुनाए । उनले भने, ‘मेरो जग्गा डाँडोको थुम्कैमा छ । सबैले हेर्न रमाउन मन पराउने भएकाले बनभोजका लागि दिने गरेको छु ।’
प्रायःजसो बिदाका दिनमा मानिसहरूको बढी चहलपहल हुने उनको वनभोजस्थलमा उनले मानिसको संख्या हेरेर शुल्क निर्धारण गर्ने गरेको बताए । ‘व्यक्तिगत जमिन भएकाले मानिस संख्या हेरेर २ हजारदेखि ५ हजारसम्म लिने गरेको छु’ उनले भने, ‘कहिलेकाहीँ फिल्मसुटिङ पनि हुन्छ । हिसाबकिताब भने छोराले नै गर्छ । आपूm प¥यो ‘कालो अक्षर भैँसी बराबर’ केही जानिँदैन ।’ निरक्षर भएकोमा पछुतो भएको उनको हाउभाउले प्रष्ट देखिन्थ्यो । बढीमा ९ ग्रुपसम्म एकैचोटी आएकाले स्थान अभाव भएको पनि सुनाउँछन् । वनभोजमा आउनेलाई पानीको व्यवस्थाका साथै आवश्यक परेमा दाउराको पनि जोहो गरेका छन् ।
भविष्यमा छोराहरूले वरीपरि पर्खाल निर्माण गरी टावर तथा होटेल निर्माण गर्ने योजना बुनेको बताउँछन् । होटेल र टावर निर्माणपछि अझ बढी चहलपहल हुनेमा उनी विश्वस्थ थिए ।
पंक्तिकार पुगेका दिन समेत अपांग विद्यार्थी पढ्ने विद्यालय जोरपाटीको खगेन्द्र नवजीवन विशेष शिक्षा माविका ह्विलचियर विद्यार्थीलगायत अन्य विद्यार्थी तथा गोकर्ण रिसोर्ट गरी दुई ग्रुपले त्यस ठाउँमा वनभोजको आयोजना गरेका थिए । विद्यालयका प्रअ राघवप्रसाद दवाडी यस्ता अपांग विद्यार्थीले यस ठाउँमा वनभोज आयोजना गरेकोमा खुसी भएको बताए । ह्विलचियरमा बस्ने घरबाट कतै जान पनि अरूको सहयोग चाहिने यस्ता विद्यार्थीलाई यस्तो मनोरम ठाउँमा ल्याउँदा आपूm पनि खुसी भएको बताउँछन् । उनी आपूm पनि २ क्रचेचको सहारामा उभिएर वरिपरिको दृश्यावलोकनमा रमाउँदै थिए ।
घ्याम्पे डाँडामा पुगेपछि जो कोही पनि एक छिन हराउने गर्दछन् । त्यहाँबाट देखिने राजधानीलगायत वरिपरिका मनोरम दृश्य तथा चाँदी झैँ टल्केका हिमाल यस डाँडाको प्रमुख आकर्षण रहेको छ । पूर्वपट्टि डोलेश्वर महादेव मन्दिर, पश्चिममा पाइलटबाबाको आश्रम तथा उपत्यकाको मनोरम दृश्य, उत्तरमा भक्तपुर सहर तथा क्षितिजमा देखिने हिमाल, दक्षिणमा गुन्डुको वस्तीले मानिसहरूलाई लोभ्याइरहेको देखिन्छ । जंगलैजंगलबाट उकालो लाग्दा बाटामा फुलेका गुराँसका फूलले जो कोहीको मन आकर्षित पार्दछ । शान्त वातावरण, स्वच्छ हावापानी भएको उक्त ठाउँ मनशान्त पार्नका लागि उपयुक्त छ ।
नेपालको आन्तरिक पर्यटन प्रवद्र्वनको पर्खाइमा रहेको घ्याम्पे डाँडामा व्यक्तिगत प्रयासमा मात्र भएको विकासलाई राज्यको निकायले समेत अझ सहयोग गर्ने हो भने यस क्षेत्रको विकासमा सहजता हुने पो थियो की ?
प्रतिक्रिया