फेरि आन्दोलनका लागि शक्ति सञ्चय गर्दैछौँ

मधेस केन्द्र्रित दलका नेताहरूमध्येका खरो नेताका चिनिन्छन, राजेन्द्र महतो । यसपटकको मधेस आन्दोलनमा अन्य नेताभन्दा बढी सक्रिय र आक्रोशित थिए उनी । मधेस आन्दोलनभर कहिले नकारात्मक त कहिले सकारात्मक रूपमा चर्चाको शिखरमा रहेका उनै महतोसँग सौर्य सहकर्मीले मधेस आन्दोलनमा केन्द्रित रहेर गरेको कुराकानी 

rajendra mahato

मधेस आन्दोलनसँगै तपार्इंहरूको भारतसँगको सम्बन्धमा शंका गरियो नी ?

यो हामीप्रतिको पूर्वाग्रही सोच मात्र हो । अनावश्यकरूपमा मान्छेलाई शंका गर्दै जाने हो भने ‘शंकाले लंका हान्छ’ भन्ने नेपाली उखान चरितार्थ हुन्छ । त्योभन्दा बढी यो विषयमा केही पनि होइन । सदियौँदेखि पछि पारिएका मधेसीले आफ्नो अधिकारका लागि गरेको आन्दोलनलाई निरूत्साहित पार्न खोज्नेहरूको भ्रमपूर्ण आरोपबाहेक केही होइन । जहाँसम्म हाम्रो भारतसँगको सम्बन्धको कुरा छ । भारतसँग मधेसीको मात्र होइन सबै नेपालीको सम्बन्ध राम्रो छ र राम्रो हुनुपर्छ । नेपाल–भारतको सम्बन्धलाई रोटी र बेटीको सम्बन्ध भन्ने गरिन्छ त्यही हो । चाहे पनि नचाहे पनि नेपालीको भारतसँग अनेक सम्बन्ध छ । अरू पार्टीका नेताले राखे त्यही सम्बन्ध पवित्र हुने हामीलाई चाहिँ किन शंका गर्ने ? हाम्रो आन्दोलन आवश्यकता अनुसार आफ्नै बलबुताले भएको हो, त्यसमा भारत वा अरू कसैको कुनै हात थिएन । एउटा नेपाली नागरिक भएको नाताले संविधानमा भएको विभेदविरुद्ध उठेको आवाज थियो मधेस आन्दोलन, त्योभन्दा अरू केही होइन ।

संविधान संशोधनलाई सकारात्मक रूपमा लिएको हो ? कतिपय मधेसी नेताले आशिंक राम्रो पनि भनेका छन् नी ?

त्यो भ्रम मात्र हो । संविधान संशोधन ठूला दलका नेताको नाटक हो । संशोधनले हाम्रो कुनै पनि मागको संबोधन गरेको छैन । मुख्य पार्टी भन्नेहरूले आफूखुसी संविधान जारी गरेर आफूखुसी सविंधान संशोधन गरे । यस विषयमा हामीसँग कुनै सल्लाह भएन, न हाम्रो सुझाव लिने काम गरियो । त्यसैले यसले हाम्रो माग र भावनालाई संम्बोधन गर्दैन । संविधान जारी गर्नेले आपूmअनुकूल गरेको नौटकीं हो । यसलाइ हामीले सकारात्मक लिनुपर्ने कारण नै छैन ।

अब आन्दोलन सकिएको हो ?

आन्दोलन यथावत छ । आन्दोलनको स्वरूप मात्र फेरिएको हो । हामीले सीमामा धर्ना दिने कार्यक्रम बन्द गरेका छौँ । यतिबेला पुनः आन्दोलनको लागि शक्ति सञ्चय हुँदै छ । आन्दोलनको तयारी गर्दै छौँ, कसरी प्रभावकारी र निर्णायक बनाउने भनेर । हाम्रो आन्दोलनको स्वरूप फेरिएको कारण सरकारलाई सबैतिरबाट सहजता भएको छ । यही बेला सरकारले बुद्धि पु¥याएर यो समयको सदुपयोग गर्नुपर्छ । जनतालाई राहत दिने गरी काम गर्नु सरकारको लागि उपयुक्त समय छ । जसरी हामी शक्ति सञ्चय गर्दै छौँ त्यसैगरी सरकारले पनि अनुकूल वातावरणको भरपुर उपयोग गर्दा राम्रो हुनेछ । हामीले पुनः आन्दोलन गरेपछि सरकारलाई गाह्रो हुनेछ । त्यसैले हामी हाम्रो माग पूरा गराउन फेरि आन्दोलन गर्नेछौँ । हाम्रो माग अहिले पनि यथावत छ ।

तपाईंहरू हरेक कुरामा समावेसी र समानुपातिक भन्नुहुन्छ, आपूmभित्र लागू भएको देख्नुहुन्छ ?

हामीले सबै क्षेत्रमा समावेशी र समानुपातिक होस् भन्ने माग गरेका हौँ । यसमा सबैभन्दा पहिला राज्य गम्भीर हुनुपर्छ । जातजाति, वर्ग, लिंग र क्षेत्रको आधारमा गरिने सबै प्रकारको विभेद अन्त्य होस् भन्ने हाम्रो माग हो । जहाँसम्म हामीभित्रको समावेशीताको कुरा छ, त्यसलाई क्रमशः सुधार गर्दै जानुपर्छ भन्नेमा हामी प्रतिवद्ध छौँ । कहाँ के पुगेको छैन ती सबै कुरालाई सुधारेर अगाडि बढ्ने कुरामा हामी कहीँ कतै कन्जुस्याइँ गर्दैनाँै । तर, सबैभन्दा पहिला राज्य चलाउने संयन्त्र इमानदार र निष्पक्ष हुनुपर्छ । ऊ हरेक कुरामा जिम्मेवार र जवाफदेही होस् भन्ने हाम्रो माग हो ।

प्रतिक्रिया