बनेन संयन्त्र

काठमाडौं, ५ फागुन । प्रमुख तीन दल र मधेसी मोर्चाबीच सीमांकनबारे सुझाव दिन बनाइने राजनीतिक संयन्त्रको कार्यविधि (टीओआर)बारे सहमति हुन सकेन । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अघि नै संयन्त्र बनाउने प्रयास स्वरूप बुधबार तीन दल र मधेसी मोर्चाको वार्ता भएको थियो ।

सिंहदरबारमा भएको वार्तामा तीन दलको तर्फबाट उपप्रधान तथा रक्षामन्त्री भीम रावलले संयन्त्रको टीओआर प्रस्ताव गरेका थिए । एमाले उपाध्यक्षसमेत रहेका रावलले ‘तराई–मधेस, हिमाल र पहाडमा देखिएको सीमांकनको समस्याको अध्ययन गरेर समाधान खोज्ने’ भन्ने टीओआर प्रस्ताव गरेका छन् । तर, रावलको उक्त प्रस्ताव मधेसी मोर्चाले मानेन । बैठकमा मोर्चाका नेताहरूले आन्दोलन पहाड र हिमालमा नभई तराई मधेसमा मात्र भएको बताए ।

मोर्चाले मधेसमा दुई प्रदेशको माग यथावत भएको भन्दै त्यसलाई सम्बोधन गर्ने भाषा राख्न माग गरेको छ । ‘आज पनि सहमति हुन सकेन । भोलि ११ बजे बस्ने भन्ने भएको छ’ सद्भावना पार्टीर्का नेता लक्ष्मणलाल कर्णले भने ।बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिने क्रममा कर्णले केपी ओलीलाई भारत पठाउन भिसा दिने काम मधेसी मोर्चाले नगर्ने बताए । कसैलाई भारत जानुछ भन्दैमा हतार हतारमा सहमति गर्न मोर्चा तयार नहुने उनले बताए । प्रधानमन्त्री ओली ७ फागुनमा भारत जाँदैछन् । ओलीले भारत जानु अघि नै राजनीतिक संयन्त्र बनाउने बताइसकेका छन् ।

प्रतिक्रिया